समाज


जङ्गली हात्ती भगाउन माहुरीपालन

जङ्गली हात्ती भगाउन माहुरीपालन

नेपालखबर
असोज १९, २०८२ आइतबार ११:३०, कञ्चनपुर

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीहरूका किसानले जङ्गली हात्तीका कारण रातभर जााग्रम बस्नुपर्ने बाध्यता छ। खेतमा लगाइएका धान, मकै, उखुलगायतका बाली हात्तीले खाएर र खुट्टाले नोक्सानी पु¥याउने गरेको छ।

खेतबारीमा लगाएको अन्नबाली, उखुलगायतको नगदेबालीमा जोगाउनका लागि किसानले रातभरि खेतमै जाग्राम बस्नुपरेको हो। आगो देखाएर, पटाका पड्काएर र टिन ठटाएर हात्तीको बथान भाग्दैन। पेटभर टन्न खाएर मात्रै हात्ती निकुञ्ज र त्यस आसपासका वन क्षेत्रमा फर्कने गर्दछन।

पुनः साँझ नपर्दै हात्तीको बथान खेतमा छिर्ने गरेका छन्। यो क्रम बाली नभित्र्याउँदासम्म चलिरहन्छ। जसबाट मानवीय क्षति, भौतिक क्षति हुनसक्ने सम्भावना उत्तिकै प्रवल बन्दै गएको हात्ती प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको भनाइ रहेको छ।

पुराना परम्परागत तरिकाले हात्ती भगाउन सकिने अवस्था नरहेपछि स्थानिय किसान हात्ती भगाउने विकल्पको खोजीमा रहेका छन्। सामुदायिक वन राष्ट्रिय महासङ्घ सुदूरपश्चिम प्रदेश कार्यसमितिका महासचिव तथा वन्यजन्तुका जानकार पुनाराम चौधरीका अनुसार हात्ती प्रवेश गर्ने क्षेत्रमा माहुरीपालन उत्तम विकल्प हुन सक्दछ।

'माहुरी भएको ठाउँ नजिकै हात्तीनै आउँदैन', उनले भने, 'माहुरीको भुनभुन आवाज हात्तीलाई पटक्कै मन पर्दैन त्यै भएर नजिकै आउँदैनन्।' लालझाडी गाउँपालिका४ डाँडाजाइँस्थित कञ्चन सामुदायिक वनमा यसको प्रयोगलार्ई सफलतापूर्वक लागू गरिएको उनको भनाइ रहेको छ।

पहिले नियमित रूपमा हात्ती प्रवेश गर्ने वन क्षेत्रमा माहुरीका घार राखेपछि हात्ती त्यस बाटो प्रयोग गर्न छाडेको उनले बताए। 'दशकअघि गरिएको यो प्रयोग सफल भएको थियो', उनले भने, 'स्थानीय समुदायलले यसलाई निरन्तरता दिएनन, पुनः हात्तीको समस्या झेल्न बाध्य छन्।'

'माहुरीपालनले हात्ती भगाउन मात्र होइन, स्थानीय बासिन्दाले माहुरीको मह बेचेर आयआर्जनमा ठूलो सहयोग पुग्छ', चौधरीले भने, 'त्यसैले यो उपायलाई विस्तार गर्नुपर्छ।' उनका अनुसार, नेपाल–भारत वन्यजन्तुसम्बन्धी भारतीय समुदायबीच भएको छलफलमा अर्को उपायका रूपमा खुर्सानी, मोविल र तमाखुको मिश्रण गरी डोरीलाई तावरका रुपमा प्रयोग गर्ने सुझाव आएको थियो।

विसं २०७४ तिर भारतीय समुदायसँग छलफलपछि सो उपायलाई कञ्चनपुरको पुनर्वास नगरपालिकाका विभिन्न सामुदायिक वन क्षेत्रमा परीक्षण गरिएको थियो।

'जुटको डोरीमा खुर्सानी, मोविल र तमाखुको मिश्रण दल्यौँ, त्यसलाई तारबारझै तीन तहमा हात्ती हिँड्ने बाटोमा तान्यौँ', चौधरीले सम्झिए, 'त्यसपछि हात्तीले त्यो बाटो प्रयोग गर्नै छाड्यो।' हालसम्म पनि सो बाटो हुँदै हात्ती नआएको र हात्तीले दोदा नदीतर्फको वैकल्पिक बाटो प्रयोग गर्न थालेको उनले बताए। मिश्रणको गन्ध टाढासम्म पुग्ने र डोरीमा हात्तीले शरीर छुँदा पोल्ने भएकाले हात्ती नजिक आउनै डराउने गरेको पाइएको उनले उल्लेख गरे।

तेस्रो विकल्पका रूपमा हात्ती प्रभावित क्षेत्रका बासिन्दालाई जडीबुटी खेतीतर्फ प्रोत्साहित गर्न सकिन्छ। मिन्था, क्यामामाइललगायतका जडीबुटी खेतीले हात्तीलाई टाढा राख्ने मात्र होइन, किसानलाई राम्रो आम्दानी पनि दिलाउन सक्छ। तर, यसको लागि बजारको स्थायी व्यवस्थापन आवश्यक रहेको छ।

'विगतमा दातृ निकायको सहयोगमा हात्ती प्रभावित क्षेत्रका बासिन्दालाई जडीबुटी खेतीसँगै प्रशोधन गर्ने मेसिनसम्म जडान गरेर दिएका थिए', सुनदेवी उपभोक्ता समितिका हवल्दार चौधरीले भने, 'बजार नपाएपछि किसानले खेती गर्ननै छाडेका छन्, मेसिन खिया लागेर थन्किएका छन्।'

हात्तीको समस्या मध्यवर्ती क्षेत्रका किसानका लागि चुनौती बनेको छ। तर, माहुरीपालन, गन्धयुक्त डोरीको प्रयोग र जडीबुटी खेतीजस्ता विकल्पलाई प्रभावकारी रूपमा लागू गर्न सकिए हात्तीलाई सहजै खेतबारीबाट टाढा राख्न सकिने देखिएको छ। यसले किसानको बाली पनि जोगाउनेछ,। उनीहरूको आयआर्जन बढाउनेछ र मानव–वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरण गर्न ठूलो सहयोग पुग्ने विज्ञहरूको भनाइ छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad