राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बीच बाटोमा रोकिएका यात्रुहरूलाई सुरक्षित स्थानमा राखेर खानपान, स्वास्थ्योपचारलगायत आवश्यक बन्दोबस्त गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
अविरल वर्षाका कारण सडकमा जोखिम देखिएपछि प्राधिकरणले आज असोज १८ देखि २० गतेसम्मका लागि काठमाडौँ उपत्यका आउजाउ गर्नेसहित लामो दुरीका सवारीसाधन सञ्चलानमा रोक लगाइसकेको छ।
तर यो सूचना जारी हुनुभन्दा अघि नै गन्तव्यतर्फ प्रस्थान गरिसकेका सवारीसाधनका यात्रुहरू सडक अवरुद्ध हुँदा बीचमै अलपत्र परेको सूचना आएपछि प्राधिकरणले सूचना जारी गरी उनीहरूको सुरक्षामा ध्यान दिन स्थानीय प्रशासनलाई भनेको हो।
‘देशका विभिन्न भागमा चट्याङसहित भारीदेखि अतिभारी वर्षा भइरहेको र सोको कारण उत्पन्न हुनसक्ने बाढी, पहिरो र डुबानजन्य विपद्लाई दृष्टिगत गरी सबै जिल्लाबाट चल्ने लामो दुरीका सवारीसाधन आवतजावतमा मिति २०८२ असोज २० गते सोमबारसम्म रोक लगाइएको बेहोरा अवगत नै छ’, सूचनामा भनिएको छ, ‘सूचना जारी हुनुअघि नै गन्तव्यतर्फ प्रस्थान गरेका केही सवारी साधनहरुमा यात्रुहरु रोकिएको जानकारी तथा गुनासा प्राप्त भएकोले ती यात्रुहरुलाई सम्बन्धित स्थानीय तह, यातायात व्यवसायीहरु एवं तहाँ जिल्लामा कार्यक्षेत्र भएका सरकारी तथा गैरसरकारी संघ-संस्था, निजी क्षेत्र लगायतसँगको समन्वयमा सुरक्षित स्थानमा राख्दै खानपान, स्वास्थ्योपचार लगायतका आवश्यक बन्दोबस्त गर्नु, गराउनु हुन निर्णयानुसार अनुरोध छ।’

Shares

प्रतिक्रिया