ad ad

समाज


कोरोनाको त्रासले मानसिक रोगको जोखिम बढ्यो

कोरोनाको त्रासले मानसिक रोगको जोखिम बढ्यो

सञ्चिता घिमिरे
बैशाख १०, २०७७ बुधबार ८:४४,

लगनखेलस्थित मानसिक अस्पतालमा आएका कतिपय बिरामीलाई कोही पनि मानिससँग नजिक जान डराउने समस्या देखिएको छ। कोभिड–१९ को रोकथामका लागि सबै नागरिकले सामाजिक दूरी कायम गरे पनि ती व्यक्ति जो कोही आफ्नो नजिक आउनासाथ रोग लागिहाल्छ कि भन्ने चिन्तामा रहेको पाइन्छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चारमाध्यमबाट साबुनपानीले हात धुनु भन्ने सन्देश सुनेरै कतिपय दिनभर हात धुने काम मात्रै गरेको पनि अस्पतालले जनाएको छ। बीस सेकेण्डसम्म मिचीमिची हात धुनु भन्ने सन्देश सुनेरै उनीहरु दिनभर अधिकांश समय हात धोएरै बिताउने गरेका छन्।

विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या नेपालमा पनि थपिरहँदा त्यसकै भयका कारण मानसिक रोगको जोखिम बढिरहेको छ। कतिपय यसअघि नै औषधि खाइरहेका बिरामी त कतिपय नयाँ बिरामीमा मानसिक समस्या देखिन थालेको अस्पतालले जनाएको छ। कतिपय बिरामीमा सामान्य रुघाखोकी पनि कोरोना भाइरस नै हो भन्ने रूपमा लिने गरेको पाटन मानसिक अस्पतालका प्रमुख मनश्चिकित्सक डा अनन्तप्रसाद अधिकारीले बताए। उनका अनुसार कतिपय व्यक्ति भने रोगको रोकथामका लागि तीन–चार मास्क एकैपटक लगाउने गरेको पाइन्छ। उनले भने, ‘धेरै मास्क लगाउँदा बढी सुरक्षित हुन्छु भन्ने भ्रम ती व्यक्तिमा रहेको पाइन्छ।’

कोभिड–१९ का त्रासका कारण नरम र कडा दुवै किसिमका मानसिक समस्या भएको पाइएको छ। यस समयमा व्यक्तिमा साइकोसिस (वास्तविक र अवास्तविक छुट्याउन नसक्ने अवस्था), एन्जाइटी, डिप्रेसन (नैराश्यता) लगायत मानसिक रोग देखिरहेको छ। ती व्यक्तिमा डराउने, झस्कने, जुनसुकै कुरालाई शंकाका रूपमा हेर्ने, निद्रा नलाग्नेलगायत समस्या देखिन थालेको उनले बताए। रोगकै त्रासका कारण कतिपयमा अल्कोहलको प्रयोग अत्यधिक बनाएका छन्। यो समयमा मानसिक समस्या महिला र पुरुष दुवैमा बराबर रहेको अस्पतालमा आउने बिरामीको सङ्ख्याले देखाएको छ।

लकडाउनका कारण बिरामीको सङ्ख्या कम हुनु स्वभाविक भए पनि अहिले पनि बिरामी उपचारका लागि आइरहेको अस्पतालले जनाएको छ। सामान्य अवस्थामा दैनिक १५० देखि २०० सम्म बिरामी उपचारका लागि आउने गरेकामा अहिले झण्डै ३०/३५ जना आइरहेका छन्। उपचारका लागि आउनेमा काठमाडौं उपत्यकाकै बिरामीको सङ्ख्या बढी रहेको अस्पताल निर्देशक डा मोहनराज श्रेष्ठले बताए। कतिपय भने बाहिरी जिल्लाबाट पनि आकस्मिक सेवाका लागि आएका छन्। कोभिड–१९ का बारेमा राम्ररी नबुझेर पनि व्यक्तिमा त्रास बढी भएको उनले बताए। कतिपयमा रोग लाग्नासाथ मरिहाल्छु कि भन्ने भय पाइन्छ। उनले भने, ‘सावधानी अपनाएपछि रोग लाग्दैन र लागेपछि पनि निको हुने सम्भावना बढी छ भनी बुझाउनुपर्छ।’

मानसिक रोगको असर सबै उमेर, वर्ग र पेशामा देखिएको भए पनि यस्ता विपद्का समयमा विगतमा औषधोपचार गरेर निको भएका वा हाल उपचार गराइरहेका व्यक्ति बढी जोखिममा रहेका छन्। ती व्यक्तिमा कुनै पनि कुरा सहन नसक्ने समस्या पाइन्छ। बालबालिका पनि रोगको जोखिम रहने डा अधिकारीले बताए। उनीहरुमा रोग लागेपछि निको नै हुँदैन भन्ने चिन्ता हुनसक्छ। बालबालिकालाई रोगबारे सजग गरे पनि अभिभावकले सही सूचना दिएर अनावश्यक चिन्तामा जान दिन नहुने उनको सुझाव छ। उनले भने, ‘जुनसुकै कुरालाई झिँझो मान्ने, निद्रा नलाग्नेलगायत यो रोगका लक्षण हुन्।’

कोभिड–१९ का बारेमा आधिकारिक निकायका सूचना मात्रै पढ्न र सुन्न उनले सुझाव दिए। रोगका लक्षण देखिएपछि वा संक्रमणको सम्भावना हुँदा आइसोलेसनमा गए पनि सामान्य अवस्थामा यो समय परिवारसँग बिताउन सकिन्छ। सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्नुभन्दा पारिवारका सबै सदस्य एक ठाउँमा बसेर कुराकानी गर्नु उपयुक्त हुन्छ। घरमा बस्दा हुने खाली समय सिनेमा हेर्ने वा संगीत सुनेर बिताउनुपर्ने उनको सुझाव छ। उनले भने, ‘परिवार एकै ठाउँमा बस्दा एकले अर्काको कुरा सुन्ने हुँदा डिप्रेसनको जोखिम कम हुन्छ।’

अहिलेसम्म मानसिक रोगको औषधिको समस्या भने भइनसकेको अस्पतालले जनाएको छ। अस्पतालमा भर्ना गरेर उपचार गर्न ५० श्यया रहेकामा अहिले पनि झण्डै ४० जनाको हाराहारीमा बिरामी छन्। अस्पतालमा धेरै कर्मचारी करारमा रहेकाले लकडाउन लम्बिँदा तिनलई तलब दिन भने समस्या आउनसक्ने देखिएको अस्पताल निर्देशक डा श्रेष्ठले बताए। अस्पतालमा ३१ जना करारका कर्मचारीलाई अस्पतालले नै तलब दिँदै आएको छ। उनले भने, ‘लकडाउन अझै लम्बिँदा समस्या अझै बढी हुनसक्छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .