समाज


८ गोली लागेका घाइतेको बयान : भाग्यले बचायो‍

८ गोली लागेका घाइतेको बयान : भाग्यले बचायो‍

प्रज्ञा तिम्सिना
असोज १, २०८२ बुधबार १९:५९, काठमाडौँ

‘मलाई गोली लागेकोमा पछुतो छैन,’ जेन जी आन्दोलनका क्रममा रणभूमि बनेको बानेश्वरबाट भर्खर अस्पताल पुर्‍याइएका रूपिन खड्का शय्यामै बर्बराउँदै थिए। 

वरिपरि उनीजस्तै गोली लागेका युवालाई ल्याइँदै थियो, चिकित्सक उपचारमा लागिरहेका थिए। खड्काले भने आमाबुबालाई सम्झँदै भनिरहे, ‘भ्रष्टाचारको विरुद्ध आवाज उठाउँदा सरकारले गोली हान्छ भने म गोली खान कहिल्यै डराउँदिनँ।’ 

८ गोली लागेर अस्पतालको शय्यामा पल्टिएका उनी बुबाआमालाई फोनमा उल्टै सम्झाउँथे, ‘तपाईंहरू नआत्तिनुस्।’

गोली लागेको भोलिपल्ट उनका आमाबुबा अस्पताल पुगे। त्यस समय पनि उनी आफ्ना अभिभावकलाई ढाडस दिइरहेका थिए, ‘म मात्र होइन, सयौँ व्यक्ति घाइते भएका छन्, धेरैले ज्यान गुमाएका छन्।’

रूपिनलाई भदौ २३ गते जेन जी प्रदर्शनमा ८ गोली लागेको थियो। भ्रष्टाचार अन्त्य हुनुपर्छ लेखेको कालो ब्यानर बोकेर संसद् भवनतर्फ जाँदा प्रहरीले रूपिनलाई निसाना बनाएको थियो।

त्रिभुवन विश्वविद्यालयमा ग्रामीण विकास विषयमा स्नातक चौथो वर्षको परीक्षा दिएर बसेका उनी त्यो दिन नेताहरूलाई खबरदारी गर्न आन्दोलनमा हिँडेका थिए। शान्तिपूर्ण आन्दोलन गर्ने भन्दै उनी चार जना साथीसँगसँगै गएका थिए।

सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै टिकटकमा सुरु भएको विरोधप्रति उनको रुचि बढ्दै गएको थियो। उमेरले पनि जेन जी समूहमा पर्ने २६ वर्षीय रूपिन वर्षौंदेखि थन्किएका मुद्दा, र प्रधानमन्त्रीदेखि अरु नेतासम्मको बोली र व्यवहारबाट हैरान महसुस गरिरहेका थिए।

त्यही भएर बेथितिविरुद्ध बढिरहेको आवाजमा आफ्नो स्वर मिसाउने निधो उनले गरे। र, भदौ २३ गते ४ जना साथीसहित बिहान १० बजे माइतीघर पुगे।

प्रदर्शन शान्तिपूर्ण रूपमा भइरहेको थियो। युवाको भीड बढिरहेको थियो। रूपिन भ्रष्टचार विरुद्ध लेखिएको ब्यानर लिएर समूहमा अघि बढिरहेको थिए। प्रदर्शन संसद् भवननेर पुग्यो। 

प्रहरीले भीड रोक्न हवाइ फायर गर्न थाल्यो। तर, प्रदर्शनकारी रोकिएनन्। त्यसपछि गोली चल्न थाल्यो। 

अस्तव्यस्त, घन्चमन्चका बीचमा पछाडिबाट आएको गोली रूपिनको हात र ढाडमा लाग्छ। उनी त्यहीँ ढल्छन्।  साथीहरूले हतारहतार नजिकैको निजामती कर्मचारी (सिभिल) अस्पताल पुर्‍याउँछन्। 

रूपिन त्यहाँ पुग्दा आकस्मिक कक्षका शय्या सबै भरिएका थिए। उनलाई भुइमै शय्या बनाएर राखिन्छ। 

चिकित्सकले शरीरमा चारपाँच वटा प्वाल छ भनेका थिए। पछि एक्सरे गर्दा ८ वटा गोली लागेको देखियो। 

‘तपाईंको शरीरमा त ८ गोली लागेको छ भाइ,’ डाक्टरले भने।

‘रबरको गोली लागेको भएर म बेहोस भइहालेको थिइनँ, डाक्टरले नदुख्ने औषधि दिनु भएको थियो। म बोल्न सक्ने भएको थिएँ। तर, उहाँले एक्सरेमा ८ गोली लागेको देखियो भनेपछि झस्किएँ। डर लाग्यो,’ रूपिनले सुनाए।

रूपिनको हातमा ६, ढाडमा एउटा र फोक्सोनजिकै एउटा रबरको गोली लागेको छ।

रूपिनको २३ गते ३ वटा र २५ गते ५ वटा गोली निकालिएको थियो। ५ गोली निकाल्न चिकित्सकलाई ६ घण्टा लागेको थियो। मेटलको गोली नभएका कारण रूपिनको अंगभंग भने हुन पाएन।

रूपिनको शल्यक्रियामा संलग्न हाडजोर्नी रोग विभाग प्रमुख डा परिमल आचार्यले भने, ‘रक्तनलीमा गोली नलागेका कारण उहाँलाई बचाउन सकियो।’

हात, काखी, काँध र एउटा फोक्सोनजिकैबाट गोली निकालिएको थियो। धातुको जस्तो तत्काल असर गर्ने गोली नभएका कारण स्वास्थ्यमा जटिल समस्या देखिन नपाएको उनले बताए। 

‘एकै पटकमा आठ वटा गोली खोजेर निकाल्न नसकिने भएपछि दुई पटक शल्यक्रिया गरेर निकालेका थियौँ,’ डा आचार्य थप्छन्, ‘रक्तनली, फोक्सो, मुटुमा नलागेका कारण उहाँ छिटै निको हुनुहुन्छ।’

उनी डिस्चार्ज भएर घर गइसकेका छन्। सामान्य हिँडडुल पनि गर्न सक्ने भएका छन्। 

रूपिन आफू भाग्यले नै बाँचेको बताउँछन्। 

‘फोक्सोनजिकै गोली पुगेको रैछ, धन्न भाग्यले बचायो,’ रूपिनको अनुहार उज्यालिन्छ।

‘भ्रष्टाचारबाट दिक्क’
आफू भ्रष्टाचारका कारण दिक्क भएकाले आवाज उठाउनु पर्छ भनेर आन्दोलनमा लागेको उनको भनाइ छ। भ्रष्टाचारमा मुछिएका नेतालाई कारबाही नहुने र देश विकासले गति लिन नसक्दा युवा विदेश जाने क्रम बढेकोप्रति उनी आक्रोशित सुनिन्छन्।

‘हामी तिमीहरूले गरिरहेको काम हामीले हेरिरहेका छौँ’ भन्ने सन्देश दिन संसद् भवनअगाडि पुगेको उनको भनाइ छ।

कालो ब्यानर संसद् भवनअगाडि सम्म लिएर जाने योजना बनाइएको उनले बताए।

‘तर, संसद् भवनतिर जान खोज्दा प्रहरीले  हवाइफायर गर्न थाल्यो। पछि सिधै ताकेर हान्न थालियो। मलाई पछाडिबाट आएको गोली लागेको थियो,’ उनले सुनाए।

सिभिल अस्पताल पुग्दा आकस्मिक कक्ष भरिसकेकाले प्यासेजमा राखेर उपचार गरिएको उनले बताए। 

‘आकस्मिक कक्ष त प्रदर्शन स्थलभन्दा पनि दर्दनाक थियो,’ उनी सुनाउँछन्, ‘गोली लागेर रगताम्य भएर आउने घाइते मात्रै थिए। शान्तिपूर्ण आन्दोलन गर्न गएका हामीलाई प्रहरीले गोली हान्छ भन्ने सोचेका थिएनौँ।’

सार्वजनिक सम्पत्ति जल्दा भने नराम्रो लागेको रूपिन बताउँछन्। 

‘आन्दोलन उग्र रूप लिएको भनेर पछि मात्र थाहा पाएँ। त्यो हाम्रो मर्मविपरीत थियो,’ उनी भन्छन्।

भदौ २३ र २४ गतेको जेन जी प्रदर्शनमा देशभर ७४ जनाको ज्यान गएको छ भने २ हजार ३१६ जना घाइते भएका थिए। घाइतेमध्ये १ हजार ९५९ जना डिस्चार्ज भइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad