नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन सत्ताधारीहरूले देखाएको दम्भ र अहंकारका कारण मुलुकले अकल्पनीय र अपूरणीय क्षति बेहोर्नुपरेको बताएका छन्।
जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा आज (असोज १ गते) सरकारले घोषणा गरेको राष्ट्रिय शोकका अवसरमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टीका तर्फबाट शोक वक्तव्य जारी गरी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारविरुद्ध आक्रोश पोखेका हुन्।
‘जेन-जेड आन्दोलनका मागहरूप्रति पार्टीको तर्फबाट आन्दोलनपूर्व नै समर्थन तथा ऐक्यबद्धता प्रकट गरेको कुरालाई म स्मरण गर्दछु’, अध्यक्ष नेपालले वक्तव्यमा भनेका छन्, ‘उक्त जायज मागहरूलाई समयमा सम्बोधन गर्नुको सट्टा तत्कालीन सत्ताधारीहरूले देखाएको दम्भ र अहंकारको कारण दर्जनौँ होनहार युवाहरूले शाहदत प्राप्त गर्नुपर्यो भने हाम्रो मुलुकले अकल्पनीय तथा अपूरणीय क्षति बेहोर्नुपर्यो।’
‘युवा पुस्ताको अगुवाइमा भएको उक्त आन्दोलन लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि पनि जनताको चाहना र भावनाअनुरूप पारदर्शी तथा जनउत्तरदायी शासन प्रणाली कायम गर्न नसक्दा जनतामा उत्पन्न निराशा र आकोशको परिणाम हो भन्ने कुरालाई स्वीकार गर्नुपर्दछ’, अध्यक्ष नेपालले भनेका छन्, ‘यसका अतिरिक्त कतिपय नेता तथा जनताको जीवनशैलीका बीचको अन्तर, भ्रष्टाचार, कुशासन, बरोजगारी, युवा पलायन तथा आर्थिक सामाजिक रूपान्तरणको मार्गमा हिँड्न नचाहने/नखोज्ने कार्यशैलीका कारण यो अवस्था उत्पन्न भएको कुरालाई समेत मनन गर्नुपर्दछ।’
भ्रष्टाचार र कुशासनको विरोधमा भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा उनले गहिरो समवेदना व्यक्त रेका छन्। साथै आन्दोलनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
जेन-जीले पहिलो दिन भदौ २३ गते काठमाडौँसहित देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा ओली नेतृत्वको तत्कालीन सरकारले दमन गर्दा १९ जना युवा मारिएका थिए। तर पनि राजीनामा नदिएका ओली भोलिपल्ट भदौ २४ गते जेनजी प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएपछि राजीनामा दिन बाध्य भएका थिए।

Shares

प्रतिक्रिया