टिचिङ अस्पतालमा अरु बेलाभन्दा अलि ज्यादा भीडभाड छ। भित्ताभरि जेन जी आन्दोलनमा सहिद भएका युवाहरूको तस्बिर छन्। प्रत्येकमा मारिनेहरूको नाम छ। अझै मुनि लेखिएको देखिन्छ– ‘से हिज नेम।’
सहादतप्राप्त युवाहरूलाई सम्झिराख्न उनीहरूको नाम र तस्बिर त्यसरी राखिएको थियो। ब्यानरअगाडि उनीहरूका परिवारका सदस्य र अरु मानिस फूलमाला लिएर उभिइरहेका थिए, सहिदहरूको अन्तिम बिदाइमा।
पोस्टमर्टमपछि सहिदहरूको शव उनीहरूको परिवारलाई मंगलबार हस्तान्तरण गरिएको थियो। त्यसपछि राष्ट्रिय झण्डाले छोपेर ती शवलाई गाडीमा राखियो। भावविभोर हुँदै मानिसहरू गाडीको वरिपरि सहिदहरूको तस्बिर लिएर शवयात्रामा हिँडे।
त्रिवि शिक्षण अस्पतालबाट त्रिवि शिक्षण अस्पतालबाट महाराजगन्ज, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटसम्म शवयात्रा निकालिएको थियो। राष्ट्रिय झण्डा बोकेका युवाहरू सहिदको शव राखिएको गाडीसँगै पशुपति पुगे। शवयात्रा हुँदै गरेको बाटोभरि उनीहरूको आँखा रुझेको देखिन्थ्यो।

२०६२/६३ सालको आन्दोलनयता सायदै काठमाडौँका सडकले यी दृश्य देखेका थिए। फेरि लस्करै सहिदहरूको शव यात्रा देख्नुपर्दा मानिसहरूको आकांक्षा छ– अब त देश बनोस्, हरेक आन्दोलनमा दुईचार सपुत मर्न नपरोस्।
२०६२/६३ जनआन्दोलनले नेपालको संविधानको जग बसायो। त्यही संविधानबाट सत्तामा पुगेकाहरूलाई खबरदारी गर्न सडकमा निस्किएका युवाहरूले ज्यान गुमाए।
प्रहरीको गाडीलाई अगाडि लगाउँदै पछाडि लस्करै गुडिरहेका शववाहन देख्दा हरेकको मन कुँडिन्थ्यो।

सुशीला कार्की नेतृत्वको सरकारले जेन जी आन्दोलनका क्रममा मृत्यु हुनेहरूलाई राष्ट्रिय सम्मान दिएर अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। उनीहरूलाई अन्तिम श्रद्धाञ्जली दिन मंगलबार गृहमन्त्री ओमप्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङ पनि पशुपति पुगेका थिए। उनीहरूले सहिदको शवमा सरकारको तर्फबाट राष्ट्रिय झण्डा ओढाएका थिए।
जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या हालसम्म ७२ पुगिसकेको छ। नयाँ बानेश्वरमा भएको दमनको भोलिपल्ट भएको तोडफोड, आगजनी र लुटपातका क्रममा मृत्यु हुनेको संख्या बढी छ। मृत्यु भएका मध्ये ३९ जनाको त्रिवि शिक्षण अस्पताल र २ जनाको पाटन अस्पतालमा पोस्टमार्टम भएको थियो। उपत्यका बाहिर मृत्यु भएकाहरूको शव बाहिरै पोस्टमर्टम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जलेका शवको डीनएनए परीक्षण
त्रिवि शिक्षण अस्पतालमा ४६ जनाको शव पोस्टमार्टमका लागि लगिएको थियो। अस्पताल हालसम्म ३९ जनाको शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाएको छ। अस्पतालले २ महिला सहित ३७ जना पुरुषको पोस्टमार्टम गरेर हस्तान्तरण गरिसकेको छ।
जलेको ७ शवको पोस्टमार्टम गर्न भने बाँकी छ। अस्पतालका फरेन्सिक विभाग प्रमुख डा गोपाल चौधरीले पहिचान हुन नसक्ने गरी पूर्ण रूपमा जलेका ७ वटा शव आएको र तिनको खरानी र कंकाल मात्र भएकोे उनले बताए।
‘७ शव पहिचान गर्न सक्ने अवस्थामा छैनन्, प्रहरीको पत्र आएपछि ‘डीएनए’ परीक्षण गर्न सकिन्छ कि हेर्छौं,’ उनले भने, ‘डीएनए गरेर मात्र ती शवको पहिचान हुन्छ।’

उनले कंकालमा कुनै तन्तु बाँकी छ कि छैन, हेर्ने र हड्डीमा रगतको कुनै दाग बाँकी छ भने त्यसैबाट नमुना निकाल्न सकिने बताए। दाँत पूर्ण रूपमा जलेको छैन भने दाँतबाट पनि डीएनए परीक्षणका लागि नमुना निकाल्न सकिने उनी बताउँछन्।
नमुना निकालेपछि नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा लगेर नमुनाबाट डीएनए निकालिनेछ। परिवारका सदस्यसँग डीएनए मिल्छ कि भनेर परीक्षण गरिने र मिलेको खण्डमा परिवारलाई शव हस्तान्तारण गरिने डा चौधरीले जानकारी दिए।
‘हाम्रो काम गरेको नमुना निकाल्ने हो। त्यो नमुना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा लगेर मृतकको आमा वा बुवासँग परीक्षण हुन्छ,’ उनले थपे, ‘डीएनए आधा आमासँग आधा बुवासँग मिल्छ।’

उनी शव पुर्ण रूपमा जलेको भए डीएनए परीक्षणका लागि नमुना निकाल्न सम्भव नहुने बताउँछन्।
‘प्रहरीबाट सम्पूर्ण रूपमा जलेको कंकाल आएको जानकारी आएको छ, अब परीक्षण गर्नु भन्ने पत्र आएपछि हेछौँ। तर, शव पूर्ण रूपमा जलेको भए डीएनए परीक्षण गर्न सकिँदैन,’ उनले भने।
पोस्टमार्टम भएका सबैको कम्मरमाथि गोली
डा चौधरीले पोस्टमार्टम भएका सबैको कम्मरभन्दा माथि गोली लागेको जानकारी दिए। उनले ३९ जनाको नै छाती र टाउकोमा गोली लागेको पुष्टि गरेका छन्।
विभागका ७ जना चिकित्सकले दिनहुँ १० जनाको शव पोस्टमार्टम गरेको भन्दै उनले सबैको कम्मरमाथि गोली भेटिएको बताए।
यसरी लस्करै युवाको पोस्टमार्टम गरेको डा चौधरीले पहिलोपटक हो। ३० वर्ष उमेरमुनिका एकपछि एर्को व्यक्तिको पोस्टमार्टम गर्नुपर्दा आफ्नो मन रोएको उनले सुनाए।
‘चिकित्सक भावुक भयो भने उपचार गर्न सक्दैन। भावुक हुन हाम्रो पेसाले पनि दिँदैन। त्यसले हाम्रो कार्यक्षमतामा कमी आउँछ। तर, सबै युवा अवस्थामा व्यक्तिको पोस्टमार्टम गर्दा यो पटक विक्षिप्त भयौँ,’ उनले भावुक हुँदै सुनाए।

अहिले पनि आन्दोलनका दिन काठमाडौँमा हराएका धेरैजना सम्पर्कमा आउन सकेका छैनन्। भाटभटेनी लगायतका क्षेत्रबाट कंकाल भेटिएको भनिएपछि टिचिङ पुगेर आफ्नो परिवारका सदस्य पत्ता लगाउन आग्रह गर्नेहरू पनि बढिरहेका छन्। प्रहरीले पनि कोही हराएको छ भने जानकारी गराउन सूचना जारी गरेको छ।
अस्पतालले हराएको व्यक्तिको बारेमा प्रहरीमार्फत सम्पर्कमा आउन र डीएनएको प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
Shares

प्रतिक्रिया