समाज


इटहरीका दुई सहिद : साउदी उड्न ठिक्क परेका अभिषेक, दुई छोरीका बाबु मोहन

परिवारको माग : सरकारले हामीलाई हेरोस्
इटहरीका दुई सहिद : साउदी उड्न ठिक्क परेका अभिषेक, दुई छोरीका बाबु मोहन

लक्ष्मी बलायर
भदौ ३०, २०८२ सोमबार २१:२७, काठमाडौँ

जेनजी आन्दोलनको दोस्रो दिन। इटहरी उपमहानगरपालिका १४ का रामनारायण सरदार मोबाइल चलाइरहेका थिए। टाइमलाइन स्क्रोल गर्दा आन्दोलनकै खबर छ्यापछ्याप्ती आइरहेका थिए। त्यसैबेला उनले थाहा पाए: आन्दोलनमा भाइ मोहन सरदारको गोली लागेर मृत्यु भएको रहेछ।

‘त्यो घटना सोमबार साँझ ४/५ बजेतिर भएछ। मंगलबार बिहान ११ बजे थाहा पाएँ। मोबाइल चलाउँदै थिएँ, पुलिस चौकीअघि गोली लागेको त आफ्नै भाइ रहेछ भन्ने थाहा पाउँदा झसंग भएँ,’ उनले भने।

मोहन रामनारायणका काकाका छोरा हुन्। उनका अनुसार मोहन डकर्मीको गर्थे। खुट्टामा चोट लागेपछि उपचारका लागि सामुदायिक अस्पताल गएका थिए। सामुदायिक अस्पताल प्रहरी कार्यालयभन्दा ठिक अगाडि थियो। जहाँ जेनजीले आन्दोलन गरिरहेको थियो। त्यही आन्दोलनमै छातीमा गोली खाएर मोहनले ज्यान गुमाउनुपर्‍यो।

उनका अनुसार ४० वर्षीय मोहनका श्रीमती र दुई छोरी छन्। श्रीमानको मृत्युको खबरसँगै उनकी श्रीमती विक्षिप्त छिन्। जो केही महिनाअघि मात्रै कुवेतबाट बिदामा घर आएकी थिइन्। भदौ २६ गते उनी फर्किने कुरा थियो। तर, त्यसो हुन सकेन।

‘अब भाइ त गुमाइसक्यौँ, सरकारले जुन दिने भनेको छ, त्यो दिनुपर्‍यो। श्रीमतीसहित साना दुइटा बच्चा छन्। उनीहरूको व्यवस्था राम्रो हुनुपर्‍यो,’ उनले भने।

सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूलाई सहिद घोषणा गरेर जनही १५ लाख रूपैयाँ क्षतिपूर्ति दिने घोषणा गरिसकेको छ। आज मात्रै गृहमन्त्रीको पदभार ग्रहण गरेसँगै ओमप्रकाश अर्यालले मृतकलाई १ लाख किरियाखर्च दिने घोषणा गरिसकेका छन्।

‘नयाँ सरकार आइसक्यो। अरू काम चाहिँ हुँदैगर्छ। १ लाख दिने कुरा फुकिराखेको छन् नि, त्यो पनि चाँडै नै उपलब्ध हुनुपर्‍यो। किरियाखर्च पठाउनुपर्‍यो। किनकि उनीहरूको अवस्था नाजुक हुँदा अवस्था गाह्रो भइरहेको छ,’ उनले नेपालखबरसँगको कुराकानीमा भने।

त्यसै दिन इटहरीका १८ वर्षीय अभिषेक श्रेष्ठले पनि ज्यान गुमाए। अभिषेक विदेश जाने तयारीमा थिए। भदौको २८ गते शनिबार उनको साउदीको उडान थियो। र, मेनपावरमा सबै पैसा बुझाइसकेका थिए। तर, २४ गते भएको जेनजी आन्दोलनमा विदेश जान नपाउँदै अभिषेक सधैँका लागि अस्ताए। विदेश जान लागेका छोराको मृत्यु हुँदा परिवार नै शोकमा डुबेको छ।

इनरुवा ६ घर भएका अभिषेक इटहरी बस्दै आएका थिए। उनी आन्दोलनमा गएको परिवारलाई समेत थाहा थिएन। पछि दाइको छोरामार्फत भतिजको मृत्युको खबर थाहा पाएको सुनाउँछन् ठूलोबुवा टीकाबहादुर श्रेष्ठ।

‘अभिषेक आन्दोलनमा गएको पनि थाहा थिएन। पछि दाइको छोराले अभिषेक गोली लागेर बित्यो भन्यो,’ उनले भने, ‘उसको गएको शनिबार साउदीको फ्लाइट थियो। मेनपावरमा पनि पैसा दिइसकेको थियो। तर, विदेश जान नपाउँदै यस्तो भयो।’

उनका अनुसार अभिषेकका बुवा रोजगारीको सिलसिलामा दुई महिनाअघि मात्रै दुबई गएका थिए। तर, छोराको मृत्यु भएपछि उनी नेपाल फर्किएका छन्। अभिषेकका एकजना बहिनी र भाइ छन्।

ज्यान फर्किएर नआए पनि अभिषेकको परिवारलाई हेर्नुपर्ने टीकाबहादुरको माग छ।

उनी थप्छन्, ‘छोरा गुमाइसक्यौँ। देशलाई परिवर्तन गर्न भनेर उनीहरू लागेका थिए। तोकिएको क्षतिपूर्ति दिइयोस्। १२ पास भएको अभिषेकको एउटा भाइ छ। उसलाई जागिर दिनुपर्‍यो। सरकारले मृतक परिवारको बारेमा सोच्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad