समाज


केन्द्रीय सुरक्षा समितिमा प्रहरीको अवस्था र भावी सुरक्षाको चिन्ता

केन्द्रीय सुरक्षा समितिमा प्रहरीको अवस्था र भावी सुरक्षाको चिन्ता

उजिर कार्की
भदौ २९, २०८२ आइतबार २२:३२, काठमाडौँ

प्रधानमन्त्रीमा सुशीला कार्की निर्वाचित भएपछि पहिलो पटक केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। केन्द्रीय सुरक्षा समितिको अध्यक्ष गृहमन्त्री हुने भएपनि हाल प्रधानमन्त्री कार्कीले नै सबै मन्त्रालय सम्हालेका कारण उनकै अध्यक्षतामा बैठक बसेको हो। 

बैठकमा नेपाली सेनाका रथी र बाँकी तीनवटा सुरक्षा संगठनका प्रमुख सहभागी थिए। बैठक वर्तमान शान्ति सुरक्षाको अवस्था र निकट भविश्यमा हुनसक्ने सुरक्षा चुनौतीको विषयमा छलफल भएको छ।

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले देशभरका प्रहरी निवास कार्यालयदेखि स्रोत साधानबिहिन बनेको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। प्रहरी अहिले कुनै पनि स्रोत साधान नहुँदा मनोवैज्ञानिक रुपमा पनि कमजोर अवस्थामा पुगेको प्रधानमन्त्री कार्कीलाई आईजीपी खापुङले जानकारी गराए। 

सुरक्षा समितिको बैठकमा सहभागी एक सदस्यका अनुसार आईजीपी खापुङले प्रहरीको मनोबल उकास्न सरकारले तत्काल महत्त्वपुर्ण निर्णय गर्नु पर्ने बताएका छन्। 

यस्तै प्रधानमन्त्री कार्कीले निकट भविश्यका सुरक्षा चुनौतीको विषयमा पनि सबै सुरक्षा निकायसँग जानकारी लिएकी छन्। अहिलेको संवेदनशील समयमा सोही अनुसार सुरक्षा योजना बनाउन र सम्यमता अपनाइ स्थिति सम्हाल्न अनुरोध गरेकी छन्। 

भदौ २३ र २४ गते भएको आन्दोलनमा परी तीन जना प्रहरीको मृत्यु भएको छ। ५७ जना घाइते अझै अस्पतालमा उपचाररत छन्। आन्दोलनकारीले प्रहरीका हातहतियार खोसेर लगेका छन्। काठमाडौँका केही कार्यालयबाहेक अधिकांश जलेर ध्वस्त छन्। 

मालिगाउँ बृत्तबाहेक सबै बृत्त जलेका छन्। काठमाडौँ र ललितपुरका जिल्ला प्रहरी परिसर सुरक्षित भएपनि उपत्यका प्रहरी कार्यालय रानीपोखरी समेत जलेर खरानी भएको छ। गाडी, हातहतियार, बर्दी लगायतका सामाग्री पनि आन्दोलनकारीले जलाएका छन्।

जेनजीको आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। ती मध्ये ३ जना प्रहरी, १० जना कैदीबन्दी र बाँकी ५९ जना आन्दोलनकारी हुन्। ती मध्ये १० जनाभन्दा बढी प्रदर्शनकारीले नै लगाएको आगोमा जलेका हुन्। 

दुईदिनको आन्दोलनपछि काठमाडौँसहित देशभरको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको थियो। अन्तरिम सरकार बनाउन महत्वपूर्ण भूमिका खेलेको सेना सरकार बनेकै भोलिपल्ट ब्यारेक फर्किसकेको छ। तर अहिले पनि पूर्वप्रधानमन्त्रीहरुसहित २० जना नेता सेनाका विभिन्न ब्यारेकमै छन्। अझै पनि उनीहरु सुरक्षा चुनौती नसकिएको भन्दै निवास फर्किएका छैनन्।

केहीले आफ्नो बासको व्यवस्था समेत नभएको र खोजि भइरहेको बताएका छन्। यस्तै नयाँ सरकारले आफूहरुको सुरक्षाका बारेमा महत्त्वपूर्ण निर्णय गर्ला भन्ने आशा पनि उनीहरूले व्यक्त गरेका छन्। पूर्व प्रधानमन्त्रीहरुलाई सेनाले छुट्टा छुट्टै ब्यारेकमा राखेको छ।

सुरक्षाकै कारण देखाउँदै कतिपयलाई भने अझै पनि टेलिफोन प्रयोग गर्न दिएको छैन। अवस्था बिग्रिए फेरि पनि सडकमा आउन पर्ने हुनसक्ने सेनाको तयारी छ। अहिले जो जहाँ खटिएको थियो त्यहीँ नजिकै ब्यारेकमा राखिएको छ। काठमाडौँ उपत्यका बाहिरबाट झिकाइएको टोली पनि फिर्ता भएको छैन।

आइतबार बिहान पदभारग्रहण गरेकी प्रधानमन्त्री कार्कीले संवोधनका क्रममा सुरक्षा कार्यालय लगायत देशका महत्त्वपुर्ण कार्यालयहरु जलाइएकोमा चिन्ता व्यक्त गरेकी थिइन्। 

‘हाम्रा सुरक्षा निकायका भौतिक संरचना मात्रै जलेनन् तीन जनाको देहबसान भयो। देशभर गाडी खरिद नगरी उपाय छैन’, प्रधानमन्त्री कार्कीले भनिन्, ‘यसपटकको आन्दोलनमा जुन अत्यावश्यक थिए त्यसैमा छानिछानि प्रहार भएको छ। प्रहरीहरु सुरक्षाका लागि अपरिहार्य थिए उनीहरुमाथि प्रहार भयो। प्रहरीका सम्पुर्ण चौकी, ठानाहरु जले। अदालतका फायलहरु र सिंहदरबारका पनि अत्यन्त आवश्यक संस्थाहरुका दस्ताबेजहरु जलाएर नष्ट भएका छन्।’

प्रधानमन्त्री कार्कीले गृहमन्त्रीसहित तीन मन्त्रीको टुंगो आइतबार साँझ लगाएकी छन्। गृहमन्त्रीमा ओमप्रकाश अर्याल, अर्थमन्त्रीमा रामेश्वर खनाल र उर्जासहित तीन मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङले पाउने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad