जबजब काठमाडौँमा हुलदंगा र आन्दोलनहरू हुन्छन्, काठमाडौँको सिनामंगलस्थित केएमसी अस्पतालले निःशुल्क उपचार गरिदिने भन्दै विज्ञापन गर्न थाल्छ। यसपालिको जेनजीको आन्दोलनका दौरान पनि उसले यस्तै सूचना दिएको थियो।
तर, उसले घाइतेलाई भर्ना गरिसकेपछि भने सक्दो निचोर्ने गरेको पाइएको छ। यसैका एक उदाहरण हुन्, भुवन दाहाल।
काठमाडौँको बबरमहलस्थित मेगा कलेज पढ्ने दाहाल त्यहीँ नजिकै छात्रावासमा बस्थे। जेनजीको आन्दोलन चलिरहँदा भदौ २३ गते उनी सिंहदरबारको नजिक पुगेका थिए। उनी हिँड्दै गर्दा जाँघमा अकस्मात् रबरको गोली लाग्यो। त्यहीँ ढले।
उनलाई अस्पताल कसले लग्यो भन्ने कुनै जानकारी छैन। तीन दिनसम्म सिनामंगलस्थित केएमसी अस्पतालमा बसे। डिस्चार्ज हुँदा उनलाई २५ गते अस्पतालभित्रको खर्च भनेर २४ हजार ८८४ रुपैयाँको बिल थमाइयो। त्यस्तै फार्मेसी र अन्य भनेर ८ हजार ७४ रुपैयाँको अर्को बिल चुक्ता गर्न भनियो। यो रकम जोड्दा ३२ हजार ९५८ हुन्छ।
त्यतिखेर उनले कसैलाई गुहार्न सकेनन्। जेनजी आन्दोलनकर्ताहरूलाई खबर त गरे तर त्यहाँबाट पनि सहयोग पाउन सकेनन्।
कर्फ्युकै बीच उनी अस्पतालबाट निस्कनुपर्ने भयो। गाडी चलेका थिएनन्। अनि एम्बुलेन्समा निस्कनुपर्ने भयो। एम्बुलेन्सले एक खेपको ३ हजार रुपैयाँ माग्यो।
‘अहिलेसम्म ४ पटक एम्बुलेन्स चढेको १३ हजार रुपैयाँ तिरिसकेँ,’ उनले नेपालखबरसँग भने, ‘अहिलेसम्म मेरो अवस्था के छ भनेर आफन्तबाहेक कोही सोध्न आएका छैनन्। न सरकार, न आन्दोलनकारी। ड्रेसिङ गर्न भनेर अस्पताल बोलाइरहन्छ। निःशुल्क गर्ने भनेको उपचारमै ३६ हजारभन्दा बढी खर्च भइसक्यो।’
होस्टलमा हेरविचार गर्ने मान्छे नभएपछि अहिले उनी कलंकीमा आफन्तकहाँ बसिरहेका छन्।
केएमसी अस्पताल नेपाली कांग्रेसका निवर्तमान सांसद सुनीलकुमार शर्माको हो।
Shares

प्रतिक्रिया