भदौ २३ गते काठमाडौँ सहित धेरै जिल्लामा जेनजी आन्दोलन चर्किंदै थियो। आन्दोलनमा घाइते हुनेको संख्या ठूलो थियो। छिनछिनमा घाइतेहरू अस्पताल पुगिरहेका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीव्रताका साथ घाइतेको विवरण संकलन गर्न थाल्यो। साथै, मन्त्रालयले उनीहरूको निशुल्क उपचार गर्न सबै अस्पतालहरूलाई निर्देशन दियो।
प्रदर्शनस्थलमा नयाँ बानेश्वरनजिकैको निजामती कर्मचारी (सिभिल) अस्पताल घाइतेले भरिन थाल्यो। नथेग्ने भएपछि सो अस्पतालले सहयोगका लागि हारगुहार गर्यो।
लगत्तै मन्त्रालयको निर्देशनअनुसार ट्रमा, वीर, त्रिवि शिक्षणदेखि निजी अस्पतालमा पनि बिरामी लैजान थालियो।
राति १० बजेसम्म मन्त्रालयका कर्मचारीहरू घाइतेको उपचार गर्न, रगतको अभाव हुन नदिन, चिकित्सक खटाउने सक्रिय थिए।
तर, यसरी घाइतेको उपचारमा समन्वय गरिरहेको मन्त्रालयलाई मंगलबार प्रदर्शनकारी आफैँले जलाए।
तेस्रो प्रयासमा जल्यो मन्त्रालय
जेनजी प्रदर्शन चर्किरहँदा मन्त्रालयले उपचार व्यवस्था मिलाउने काम गरिरहेको थियो। रामशाहपथ वरपरका सर्वोच्च अदालत, नेपाल बारको भवन जल्न थालेपछि २ बजे कर्मचारी निस्किएका थिए।
मन्त्रालयमा कार्यालय सहयोगी, सुरक्षाकर्मी र अन्य केही कर्मचारी थिए। पहिलो पटक जेनजीको एउटा समूह मन्त्रालय भित्र पसेको थियो। कर्मचारीले रोक्न सफल भए। केही प्रदर्शनकारी कम्प्युटर र महत्वपूर्ण कागजपत्र लिएर निस्किएका थिए। मन्त्रालय जलाउन भने सकेका थिएनन्। दोस्रो पटक फरक समूहका व्यक्ति आए। उनीहरूलाई पनि मन्त्रालयका कर्मचारी रोक्न सफल भए।
तेस्रो पटक फेरि नयाँ समूह हातमा खुकुरी बोकेर आए। कार्यालय सहयोगी र कर्मचारीलाई खुकुरी देखाएर आगो लगाउन थालेको मन्त्रालयका एक कर्मचारीले बताए।
‘रात परिसकेको थियो पाँच जनाको समूह हातमा खुकुरी लिएर आएका थिए, खुकुरी देखाएर आगो लगाउन थाले, केही बेरमा सबै तिर आगो लाग्न थाल्यो,’ उनले भने, ‘आँखैअगाडि वर्षौंदेखि काम गर्दै आएको मन्त्रालय जल्यो, केही गर्न सकिएन, सायद मन्त्रालय नचाहिने समूह थियो होला।’
मन्त्रालय सँगै रहेका रहेको स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन इकाइको भवन पनि जलेको छ। स्वास्थ्य कर कोषको सचिवालय भवनामा केही क्षति पुगेको छ।
घरबाटै काम गर्दै कर्मचारी
मन्त्रालयको भवन ध्वस्त छ। सबै महत्त्वपूर्ण कागजपत्र, कम्प्युटर खरानी बनेको छ। मन्त्रालयलाई आवश्यक पर्ने कुनै पनि कागजपत्र छैनन्। मन्त्रालयमा बस्न नमिलेपछि कर्मचारीले घरबाट काम गरिरहेका छन्।
आन्दोलनका कारण घाइते भएकाहरूको उपचारका लागि आवश्यक व्यवस्थापन मिलाउनेदेखि चिकित्सक, स्वास्थ्यकर्मी तथा औषधि लगायतको व्यवस्थापनको काममा मन्त्रालयको टोली सक्रिय छ। मन्त्रालयबाट हुने अन्य नियमित कामहरू भएका छैनन्।
केही कर्मचारीले प्रत्येक अस्पतालमा फोन गरेर कति जना घाइतेको उपचार हुँदै छ, कति निको भए, उपचार कसरी भइरहेको छ लगायतका विवरण लिने गर्छन्।
मन्त्रालयका प्रमुख स्वास्थ्य प्रशासक डा समीर अधिकारीले कसरी थप काम गर्ने भनेर छलफल भइरहेको बताए।
‘मन्त्रालयको कुनै भवनमा बसेर पनि काम गर्ने अवस्था छैन, हामी भर्चुअल छलफल गरिरहेका छौँ,’ उनले भने, ‘बस्ने ठाउँ खोजिरहेका छौँ। प्रशासनिक काम नयाँ स्थान पाए पछि सुरु गर्नेछौँ। कागजपत्र नै केही बाँकी छैनन्, मन्त्रालयले गरेको इमेल र वेबसाइटबाट सूचना निकाल्ने प्रयास भइरहेको छ।’
डा अधिकारी स्वास्थ्यका आगामी कार्यक्रम कसरी सुरु गर्ने भन्ने अन्योलमा देखिएको बताउँछन्।
स्वास्थ्यमा नेपाल सरकारले पाएको उपलब्धिको प्रमाण सबै गुम्यो। अत्यावश्यक पर्ने खोप खरिद गर्नदेखि दातृ निकायसँग भएका नयाँ सम्झौता सबै जलेको छ।
सरकारले भर्खरै जन्मिएका बालबालिकालाई लगाउने नियमित खोप खरिद गर्नेदेखि नयाँ कार्यक्रम सञ्चालन गर्न दातृ निकायको सहयोग लिँदै आएको छ।
‘अन्तराष्ट्रिय स्वास्थ्य संस्थाहरूसँग गर्न बाँकी सम्झौता, मन्त्रालयको नयाँ योजना, जनशक्ति थप गर्नेदेखि नयाँ कार्यक्रम लागू गर्ने योजना जल्यो,’ उनले भने, ‘मन्त्रालय जलेसँगै गरिएको सम्झौता र कार्ययोजनाको प्रमाण गुम्यो।’
५० वर्ष पुरानो पिल्लर नै नभएको नमुना आर्किटेक्चर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहेको भवन सिंहदरबार बाहिरको एक्लो मन्त्रालय मात्रै थिएन, ५० वर्ष पुरानो पिल्लर नै नभएको नमुना आर्किटेक्ट पनि थियो। यसले संसारकै उत्कृष्ट आर्किटेक्टको नमुनाको नाम पनि पाएको थियो।
मन्त्रालयका पूर्वनिर्देशक डा बाबुराम मरासिनीका अनुसार यूएसएआईडीको सहयोग बनाइएको भवन विसं २०३२ सालमा उद्घाटन गरिएको थियो।
सुरुमा परिवार नियोजन तथा मातृ शिशु कल्याण योजनाका लागि बनाइएको थियो। २०५० सालसम्म भवनको एक तलाबाट मातृ शिशु कल्याण योजना चलेको थियो। २०३९—४० देखि टेकुमा रहेको स्वास्थ्य मन्त्रालय रामशाहपथ सरेको थियो।
‘त्यो बेला मन्त्रालय भनेकै सामान्य प्रशासन र योजना महाशाखा मात्रै थियो। सचिव र मन्त्री सहित २० र २२ जना कर्मचारी थिए,’ उनले भने, ‘एक तला मन्त्रालय र एक परिवार नियोजन तथा मातृ शिशु कल्याण योजना रहेको थियो।’
भवनको भुइँतलामा परिवार नियोजनको शल्यक्रिया समेत हुने गरेको उनी बताउँछन्।
‘विश्वकै चर्चित इन्जिनियर लुई कार्लले आर्किटेक्ट गरेको स्वास्थ्य मन्त्रालयको भवनमा एउटा पनि पिल्लर छैन। त्यसैले एउटै हल बनाए पनि हुन्छ, छुट्टाछुट्टै कोठा बनाए पनि हुन्छ,’ डा मरासिनीले भने, ‘इन्जिनियरिङ नै गज्जबको रहेकाले यो भवनको इन्जिनियरिङ अध्ययनका लागि स्विट्जरल्यान्ड, डेनमार्क, अस्ट्रिया, नेदरल्यान्ड्स लगायतका देशबाट विद्यार्थीहरू आएका थिए। युनिक डिजाइन भएकाले इन्जिनियरिङका विद्यार्थीलाई हेर्न र अध्ययन गर्नका लागि पठाइन्थ्यो।’
डा मरासिनी सो समय यस्तो खालको आर्किटेक्ट नेपाल, पाकिस्तान र श्रीलंकामा बनेको बताउँछन्।
मुण्डाजस्तो रहेको माथिको डिजाइनमा २०५५—५६ सालतिर थप भौतिक संरचना बनेपछि भवनको मुख्य स्वरुप अलि हराएको उनको भनाइ छ।
‘काठमाडौँ महानगरपालिका र सर्वोच्च अदालतले माथि थपिएको भाग भत्काउन भनेको थियो,’ उनले सुनाए।
२०४५ र २०७२ सालको भूकम्पले पनि खासै क्षति नभएको भवन मंगलबार भएको आगजनीका कारण भवन पूर्ण रुपमा जलेर क्षतिग्रस्त बनेको छ।
Shares

प्रतिक्रिया