जेनजी प्रदर्शनका क्रममा काठमाडौँको कालोपुलस्थित जेभियर इन्टरनेसनल कलेजको लुटिएको सामान फिर्ता हुन थालेको छ।
आन्दोलनको क्रममा एक समूहले कलेजमा प्रवेश गरेर व्यापक तोडफोड र लुटपाट गरेको थियो।
लुटेरा समूहले कम्प्युटर, ल्यापटप, क्यामेरा, किताब, कापी, टेबुल, कुर्सी, पर्दादेखि कलेजको किचनबाट भाँडाकुँडा र चामलका बोरासमेत लुटेका थिए।
चारतले कलेजमा सबै झ्याल ढोकाका सिसासमेत उनीहरुले फुटाएका छन्।
कलेजमा लुटपाट भएको भिडिओ सार्वजनिक हुन थालेपछि र कलेज प्रशासनले लुटिएका सामान फिर्ता नल्याए अन्य ढंगले कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएपछि लुटिएका सामान सम्बन्धित व्यक्तिले फिर्ता ल्याउन थालेका कलेज प्रशासनले जनाएको छ।
काठमाडौँ महानगरपालिका ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिसहित कजेज सञ्चालक र कर्मचारीले सम्भावित ठाउँमा गएर सामान फिर्ता गर्न दबाब दिएपछि लुटिएको सामान फिर्ता हुन थालेको हो।
केहीले हिजै साँझ सामान फिर्ता गरेका छन्। कतिपयले भने आज फिर्ता गर्ने बताएका कलेज प्रशासनले जनाएको छ।
Shares

प्रतिक्रिया