चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्किन थालेका छन्। बुधबार बिहान आगजनी गरेर निस्किएका कैदीबन्दीमध्ये ५४ जना आफैँ कारागार फर्किएका हुन्।
भरतपुर कारागारबाट ७४० कैदीबन्दी भागेका थिए। अहिले उनीहरू क्रमशः फर्किन थालेको जिल्ला कारागार चितवनका प्रमुख रवीन्द्र ढुङ्गानाले जानकारी दिए।
बुधबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको घेरा तोडेर कैदीबन्दी बाहिर निस्किएका थिए। उनीहरुलाई फोन गरेर बोलाएपछि आउने क्रम जारी रहेको ढुंगानाले बताए।
कैदीहरुले कारागार तोडफोड गर्दै आगजनी गर्न थालेपछि उनीहरूलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो। आगजनी गर्न थालेपछि कारागारमा तैनाथ सुरक्षाकर्मीहरू कैदीहरुलाई छाड्न बाध्य भएका थिए।
उनीहरूले मूल गेटमा आगो लगाएका थिए। ५५० क्षमता रहेको चितवन कारागारमा ७४० कैदीबन्दी थिए। जसमा ४६ जना महिला रहेको ढुङ्गानाले जानकारी दिए। रासस
Shares

प्रतिक्रिया