समाज


दुर्घटनामा बेपत्ता दुईमध्ये एक युवाको शव कालीगण्डकी नदीमा फेला

दुर्घटनामा बेपत्ता दुईमध्ये एक युवाको शव कालीगण्डकी नदीमा फेला

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार २०:११, बेनी (म्याग्दी)

सदरमुकाम बेनीबाट गत शनिबार रातिदेखि सम्पर्कविहीन भएका दुई युवामध्ये एक जनाको शव फेला परेको छ। जिल्ला सदरमुकाम बेनीस्थित कालीगण्डकी किनारमा निर्माण भएको चक्रपथमा दुर्घटनामा परेर बेपत्ता भएका बेनी नगरपालिका–६ जामुना खर्कका हरिप्रसाद शर्मा (रिजाल)को शव फेला परेको हो ।

बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित कालीगण्डकीको किनारमा आज बिहान रिजालको शव फेला परेको र हुलियाका आधारमा घरपरिवारले सनाखत गरेपछि शव परीक्षण गरेर अन्तिम संस्कारका लागि जिम्मा लगाइएको बागलुङ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुनिल शर्मा सिलवालले जानकारी दिए। 

उनका अनुसार आज बिहान नदी किनारमा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेपछि स्थानीयले बागलुङ प्रहरीलाई खबर गरेका थिए। बागलुङ प्रहरीले माग्दी जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी बेपत्ता भएका युवाका आफन्तबाट सनाखत गराइएको थियो। 

रिजालसँगै बेपत्ता भएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका कुमार रिजालको अवस्था भने अझै अज्ञात छ। 

बेनीको बैंकरोडस्थित एक होटलमा सँगै खाना खाएर एउटै मोटरसाइकलमा सवार रिजालद्वय कालीगण्डकी नदीको चक्रपथतर्फ मोडिएको र उक्त समयमा चक्रपथबाट मोटरसाइकल कालीगण्डकी नदीमा खसेको दृश्य सिसीटिभीमा कैद भएको थियो।

दुर्घटना भएको सडक छेउमा एउटा जुत्ता र हेलमेटको भाइजर फेलापरेको थियो भने बेनीनगरपालिका–१ थाङ्नेबगरस्थित कालीगण्डकी नदी किनारमा उनीहरू सवार पल्सर १५० सिसी मोटरसाइकलको फ्युलट्याङ्की फेला परेको थियो। बेपत्ता भएकाहरूको नेपाल प्रहरी र आफन्तजनसँगै सशस्त्र प्रहरी बलको गोताखोर टोलीले लगातार खोजी गरेका थिए।

यसैबीच एउटै मोटरसाइकलमा सवार भई कालीगण्डकीमा दुर्घटनामा परेर बेपत्ता भएका कुमार रिजालका आफन्तले शुक्रबार कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन्।

कुमारको अवस्था पत्ता लाग्न नसके पनि घटना घटेको तत्कालीन समयमा उपलब्ध सिसीक्यामेराका दृश्यमा उनीहरू एउटै मोटरसाइकलमा सवार रहेको देखिएको र अर्का युवाको शव भेटिएपछि काजकिरीयाजन्य धार्मिक संस्कारका लागि कुशको शव बनाएर अन्तिम संस्कार गरिएको परिवारजनले जनाएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad