कोरोना भाइरस संक्रमणको महामारीबाट विश्वमा सबैभन्दा पीडित अमेरिकामा यसका कारण अहिलेसम्म ३९ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।
यो खबर लेख्दासम्म (आइतबार बिहान ८ बजे) वर्ल्डओमिटरको तथ्यांकअनुसार कोरोना संक्रमणबाट अमेरिकामा ३९ हजार १४ जनाको मृत्यु भइसकेको छ। यस्तै ७ लाख ३८ हजार ८ सय ३० जना संक्रमित भएका छन्।
अमेरिकापछि विश्वमा कोरोना कारण सबैभन्दा बढी मृत्यु इटलीमा भएको छ। अहिलेसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणबाट त्यहाँ २३ हजार २ सय २७ जनाको ज्यान गएको हो। यस्तै अहिलेसम्म १ लाख ७५ हजार ९ सय २५ मानिस संक्रमित भएका छन्।
अमेरिका र इटलीपछि कोरोना महामारीबाट विश्वमा सबैभन्दा बढी मानिसकाे मृत्यु स्पेनमा भएको छ। कोरोना संक्रमणले अहिलेसम्म त्यहाँ २० हजार ६ सय ३९ जनाको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ। संक्रमितको संख्या त्यहाँ १ लाख ९४ हजार ४ सय १६ पुगेको छ।
नेपालमा
नेपालमा अहिलेसम्म ३१ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये तीन जना उपचारपछि निको भइसकेका छन्। शनिबार मात्रै दुई महिला अस्पतालबाट डिस्चार्ज भएका छन्। एक युवक भने यसअघि नै घर फर्किसकेका छन्।
विश्वमा
कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु भएकाको संख्या १ लाख ६० हजार ७ सय ५७ पुगेको छ भने २३ लाख ३० हजार ९ सय ८७ जना संक्रमित भएका छन्।
त्यसैगरी कोरोना संक्रमितमध्ये अहिलेसम्म उपचारपछि निको हुनेको संख्या ५ लाख ९६ हजार ६ सय ८७ पुगेको छ।

प्रतिक्रिया