सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले बहुमत लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण पाटो भए पनि गाउँपालिकाका हरेक निर्णयहरु सहमतिमा गरिएको दाबी गरेका छन्। गाउँपालिकाबारे पछिल्लोपटक विभिन्न माध्यमबाट गलत प्रचारबाजी भइरहेकोप्रति ध्यानाकर्षण भएको भन्दै अध्यक्ष राईले पे्रस विज्ञप्तिमार्फत सो दाबी गरेका हुन्।
विज्ञप्तिमा अध्यक्ष राईले गाउँपालिकालाई सफल हुन नदिन केही व्यक्ति लागिपरेको भन्दै त्यसलाई प्रमाणित गरेर देखाउन चुनौतीसमेत दिए। पछिल्लोपटक अनलाइन पत्रिकामार्फत आएको समाचार नितान्त आफ्नो व्यक्तिगत मानमर्दन आँच पु¥याउने दुराशयपूर्ण नियतका साथ आएको भन्दै उनले त्यस्ता व्यक्तिहरुको स्वार्थ पूर्ति हुन नसक्ने ठोकुवा गरे।
विज्ञप्तिमा गाउँपालिकाको गौरवको रुपमा रहेको दुधकोशी नदीको ओर्लाङघाट र कायखेतमा पक्की मोटरेबल पुल निर्माणको काम तीव्र रुपमा अघि बढाइएको र वडा नम्बर २ र ६ मा ठूला खानेपानी योजना अघि बढाइएको, सडक सञ्जालको विस्तार र स्तरोन्नतिसँगै गाउँपालिकाको हाइवेको रुपमा रहेको सल्लेरीदेखि जुभिङसम्मको बाटो कालोपत्रेका लागि काम सुरु भइसकेको, कृषिका लागि नमूना गाउँपालिका बनाउनका लागि विशेष योजनाका साथ नयाँ बजेट ल्याइएको, शिक्षा, स्वास्थ्यलगायत जनताको दैनिक जीवनसँग जोडिएका सेवा सुविधालाई प्रभावकारी रुपमा अघि बढाउनुका साथै अन्य पूर्वाधार विकासमा जनताले महसुस गर्ने गरी काम अघि बढाइएको दाबी गरिएको छ ।
उनले गाउँपालिका सफल हुने डरले बिचलित मानसिकता बोकेका व्यक्तिहरु योजना सञ्चालन र सम्पन्न हुन नदिन लागिपरेको बताएका छन्। अध्यक्ष राईका अनुसार गत असार ७ र ८ मा गाउँपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को नीति, कार्यक्रम तथा बजेटमा दफाबार छलफल भई कार्यपालिका बैठकबाट पास गरी गाउँसभामा पेस गरिएको हो। गाउँपालिकाका कार्यक्रम बारेमा विभिन्न सञ्चारमाध्यममा आएका समाचार भ्रामक भएको दाबी गर्दै उनले गाउँपालिकाविरुद्ध केन्द्रको विषयमा बाहेक अरु कुनै पनि मुद्दा नरहेको स्पष्ट पारे।
अध्यक्ष राईले ग्रामीण सडकको आवश्यकतालाई महसुस गरी अघिल्लो र चालू आर्थिक वर्षको बजेटमा सडकलाई प्राथमिकता दिइएको र आगामी आर्थिक वर्षको बजेट कृषि तथा पशुपालनलाई लक्षित गरिएको समेत उल्लेख गरेका छन्। उनले हरेक योजनाहरु सञ्चालनका लागि उपभोक्ता समिति गठन, योजनाको अनुगमन फरफारकसमेत वडा अध्यक्षको प्रत्यक्ष संलग्नता र सिफारिसको आधारमा गर्ने गरिएको र आगामी दिनमा पनि सोहीअनुसार हुने कुरामा विश्वस्त हुन आग्रह पनि गरेका छन्।
विज्ञप्तिमार्फत उनले जनचाहनाअनुसार विकासले फड्को मार्दै गरेको अवस्थामा सबैलाई जनचाहना अनुसारको गतिविधि अघि बढाउन र विकास र समृद्धिको दिशामा एकजुट भएर लाग्न अनि अनावश्यक र भ्रामक समाचारको पछि नलाग्न आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया