ad ad

समाज


जनकपुरमा प्रहरी ज्यादतीः जसलाई बेस्सरी चुटे, उसैलाई ज्यान मुद्दा लगाए(भिडियो)

जनकपुरमा प्रहरी ज्यादतीः जसलाई बेस्सरी चुटे, उसैलाई ज्यान मुद्दा लगाए(भिडियो)

शैलेन्द्र महतो
बैशाख ६, २०७७ शनिबार ३:३३,

जनकपुरमा लकडाउनका नाममा प्रहरीले सर्वसाधारणविरुद्ध ज्यादती गरेको घटना सार्वजनिक भएको छ।

किराना पसलमा समान किन्न गएका एक युवकलाई प्रहरीले निर्मम ढंगले कुटपिट गरी उल्टै उनैका दाजुभाइलाई ज्यान मार्ने मुद्दा चलाएको घटना सार्वजनिक भएको हो।

जनकपुरको बलवा टोलस्थित प्रहरी चौकीमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार लालबाबु साहलाई कुटपिट गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-८ का २८ वर्षीय अमितकुमार सिंह र उनका भाइ २३ वर्षीय सुमितकुमार सिंहविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएकाे हाे। 

धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर सिंह दाजुभाइविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले बताए।

लकडाउनको निहुँमा युवकलाई आफूले गरेको ज्यादती ढाकछोप गर्न प्रहरीले उल्टै पीडितका दाजुभाइलाई मुद्दा लगाएको स्थानीयको आरोप छ।

एक प्रत्यक्षदर्शीले घटनाबारे ३० सेकेन्डको भिडियो सार्वजनिक गरेपछि वास्तविकता खुलेको हो।

यस्तो थियो घटना
गत चैत ३० गते आइतबार अपराह्न करिब ४ बजे। स्थानीय युवक अमितकुमार सिंह रामानन्दचोकबाट करिब २५० मिटर पश्चिम जानकी आँखा अस्पताल अगाडिको किराना पसलमा मछरधूप (लामखुट्टे मार्ने धूप) किन्न पुग्छन्।

पसलमा ६–७ जना समान किनमेल गरिरहेका हुन्छन्। त्यत्तिकैमा नजिकैको बलवास्थित प्रहरी चौकीबाट हवल्दार लालबाबु साहसहित दुई प्रहरी आइपुग्छन्। अनि लकडाउन उल्लंघन गरेको भन्दै हबल्दार साह ती सर्वसाधारणलाई अपशब्दमा गाली गर्न थाल्छन्।

त्यसपछि अमितले ‘ए दाइ, गाली किन गर्नुभएको’ प्रश्न गर्छन्। यसो भन्नेबित्तिकै हबल्दार साह– लकडाउन उल्लंघन गर्ने अनि उल्टै प्रहरीसँग मुखमुखै लाग्ने भन्दै अमितलाई लाठी चार्ज गर्न थाल्छन्। अनि अर्का प्रहरीले अमितको कपाल लुछ्छन्। लाठीको वर्षा थाम्न नसकेपछि अमितले आत्मरक्षा गर्न खोज्छन्। त्यस क्रममा उनको हातमा रहेको मोबाइलले हबल्दार साहको टाउकामा चोट लाग्छ।

हलबल्दार साहले अमितलाई झन् जोडजोडले कुट्न थाल्छन्। यस्तो देखेपछि त्यहाँ उपस्थित केही व्यक्तिले प्रहरीलाई नकुट्न आग्रह गर्छन्। तर प्रहरीले लाठी हानेको हान्यै गर्छन्।

अमितलाई कुटिरहेको खबर २ सय मिटर दक्षिण रहेको पुगिरहेको अमितको घरसम्म पुग्छ। त्यसपछि उनका भाइ सुमित दौडेर घटनास्थल आइपुग्छन्। र दाइलाई नकुट्न आग्रह गर्दै प्रहरीबाट छुटाउन खोज्छन्।

यत्तिकैमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको भ्यान आइपुग्छ। र, अमितलाई गाडीमा हालिन्छ। दाइलाई किन पक्राउ गर्नुभएको भनेर प्रश्न गर्दा प्रहरीले भाइ सुमितलाई पनि भ्यानमा चढाएर जिल्ला प्रहरी कार्यालय पुर्‍याउँछन्।

यही निहुँमा सिंह दाजुभाइ ७ दिनदेखि हिरासतमा छन् र ज्यान मार्ने उद्योग मुद्दा झेलिरहेका छन्।

एक प्रत्यक्षदर्शीले भन्छन्, ‘घटनामा सबै प्रहरीको दोष देखिन्छ। आमितले गाली किन गर्नुभएको दाइ भन्नेबित्तिकै प्रहरीले एक्कासि लाठीले हानेको छ। अनि अमितले आत्मरक्षा गर्दा मोबाइलले प्रहरीको टाउकामा लागेको हो। यसरी उल्टै ज्यान मुद्दा चलाउनु त अति नै भयो।’

अर्का प्रत्यक्षदर्शी भन्छन्, ‘यस्तोमा प्रहरी प्रशासनको कसरी विश्वास गर्नु?

घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरी डीएसपी कार्कीले जथाभावी प्रहरीले कुटपिट गर्न नमिल्ने प्रतिक्रिया दिएका छन्। भिडियो हेरेपछि मात्र आफूले यस विषयमा केही भन्न सकिने उनको भनाइ छ।

यता अमित र सुमितका बुबा रामनरेश सिंहले प्रहरीले आफ्ना छोरालाई अनाहकमा कुटपिट गरी उल्टै ज्यान मुद्दा चलाएको गुनासो गरेका छन्।

‘मेरा जेठा छोरा अमित तरकारी र मछरधुप लिन चोकमा गएका थिए। एकछिनमा खबर आयो प्रहरीले कुटपिट गरिरहेछ,’ उनले दुखेसाे गरे, ‘तुरुन्तै कान्छो छोरो सुमित पुगेर छुटाउन खोजे। उल्टै दुवैलाई समातेर अहिले ज्यान मार्ने उद्योग मुद्दा चलायो।’

हेराैँ प्रहरीले अमितलाई कुटिपट गरेकाे छाेटाे भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .