ad ad

समाज


उदयपुरको मस्जिदमा रहेका ८ भारतीयको रिपोर्ट शंकास्पद, थप परीक्षणका लागि काठमाडौं ल्याइयो स्वाब

उदयपुरको मस्जिदमा रहेका ८ भारतीयको रिपोर्ट शंकास्पद, थप परीक्षणका लागि काठमाडौं ल्याइयो स्वाब

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार १२:३५,

उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा रहेका ८ जना भारतीयको कोरोना परीक्षणको रिपोर्ट शंकास्पद आएपछि स्वाब काठमाडौं ल्याइएको छ।

विराटनगरमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट शंकास्पद आएको र थप परीक्षणका लागि शुक्रबार स्वाब काठमाडौं पठाइएकोे प्रदेश १ का एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।

उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका १२ जना भारतीय नागरिकको तीन दिन पहिले प्रदेशबाट गएको टोलीले स्वाब संकलन गरेको थियो। तर, प्रदेश सरकारले आफूहरुलाईृ कुनै जानकारी नगराएको त्रियुगाका मेयर बलदेव चौधरीले बताए।

ती भारतीय नागरिकहरु लकडाउन सुरु हुनुभन्दा पहिले नै सो मस्जिदमा पुगेका थिए। लकडाउनका कारण फर्कन  नपाएपछि उनीहरुलाई मस्जिदमै  राखिएको हाे।

मस्जिदमा रहेका भारतीयले जोगबनी नाका हुँदै आफन्तकोमा आएको र लकडाउनका कारण फर्किन नपाएको बताएको मेयर चौधरीले बताए।

उदयपुरमा यसअघि विदेशबाट फर्किएकाहरुको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो।

प्रदेश १ मा शुक्रबारसम्म पीसीआर विधिबाट ३ सय ५५ जनाको कोरोना परीक्षण गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार ६७ महिला र २ सय ८८ पुरुषको नमूना परीक्षण गरिएको हो।

जसमध्ये ५१ महिला र २ सय ४४ पुरुष गरी जम्मा २ सय ९५ जनाको नमूना नेगेटिभ आएको छ। अन्यको रिपोर्ट आउन बाँकी छ।

द्रूत परीक्षण विधि (र्‍यापिड डाइग्नोष्टिक टेस्ट) बाट शुक्रबारसम्म एक हजार ९२ जनाको नमूना परीक्षण भएको छ। जसमा दुई जनाको रिर्पोट पोजेटिभ देखिएको थियो। परीक्षण गर्दा बुढीगंगा गाउँपालिका मोरङमा होम क्वारेन्टिनमा बसेकी महिलाको र्‍यापिड डाइग्नोष्टिक टेस्टमा पोजेटिभ देखिए पनि स्वाब पीसीआर विधिबाट ल्याबमा परीक्षण गर्दा नेगेटिभ आएको कोरोना सूचना डेस्कले जनाएको छ।

त्यस्तै झापा हल्दीबारीका युवाको र्यापिड टेस्टमा पोजेटिभ आएको भए पनि कोशी अस्पतालमा पीसीआर टेस्टमा नेगेटिभ रिर्पोट आएको थियो।

र्‍यापिड टेस्टबाट शुक्रबारसम्म जम्मा १ हजार ९० जनाको रिर्पोट नेगेटिभ आएको छ। धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टिनमा शुक्रबारसम्म ५ सय ९५ जना छन्। १३ महिला र ४९ पुरुष डिस्चार्ज भइसकेका छन्। शुक्रबारसम्म आइसोलेसनमा १० जना, होम क्वारेन्टिनमा ४ हजार १९ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .