सरकारले ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकाको आयुर्वेदिक उपचार विधिबाट स्वास्थ्य प्रर्वर्द्धन र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरिने स्वर्णबिन्दु प्राशन कार्यक्रम आजदेखि सुरु गरेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुदूरपश्चिम प्रदेशको धनगढीबाट कार्यक्रम सुरु गरेका हुन्।
मन्त्रालयले स्वर्णबिन्दु प्राशन निर्देशिका पारित गर्दै आयुर्वेद चिकित्सामा आधारित कार्यक्रम पहिलो चरणमा देशभरका २१ आयुर्वेद स्वास्थ्य केन्द्र तथा अस्पतालहरूमा लागू गरेको जनाएको छ।
स्वर्णबिन्दु प्राशन आयुर्वेदको प्राचीन ग्रन्थ काश्यप संहितामा वर्णन गरिएको विधि हो। यसमा स्वर्ण भष्म, घ्यू, र मह मिसाएर तयार गरिएको लेहलाई थोपा अंशमा बालबालिकालाई सेवन गराइन्छ।
आयुर्वेदअनुसार, यस विधिबाट बालबालिकाको शारीरिक, मानसिक विकास तथा रोगसँग लड्ने क्षमता वृद्धि हुने मन्त्रालयले जनाएको छ।
त्रिवि आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुर, नरदेवी आयुर्वेद चिकित्सालय, बुटवलको लुम्बिनी आयुर्वेद चिकित्सालय, पोखराको गण्डकी आयुर्वेद अस्पताल, सुर्खेतको प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रलगायतका २१ वटा अस्पतालमा लागू भएको हो।
Shares

प्रतिक्रिया