समाज


कैलाली कारागार घटनाः घाइते कैदी डिस्चार्ज हुँदा पनि अस्पतालमै, स्थानान्तरणको तयारी

कैलाली कारागार घटनाः घाइते कैदी डिस्चार्ज हुँदा पनि अस्पतालमै, स्थानान्तरणको तयारी

गोकुल जोशी
भदौ १, २०८२ आइतबार १६:४०, कन्चनपुर

कैलाली कारागारभित्रै कुटपिटको घटनामा घाइते ३५ कैदीबन्दी डिस्चार्ज भएका छन्। उपचारपछि डिस्चार्ज भए पनि उनीहरूलाई अझै सेती प्रादेशिक अस्पतालमै राखिएको छ। 

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठका अनुसार, घाइते ४७ बन्दीमध्ये ३ जनालाई काठमाडौं रेफर गरिएको थियो। बाँकी ४४ मध्ये ९ घाइते बन्दी अस्पतालमा उपचाररत रहेका छन्। 

‘डिस्चार्ज भएका र उपचाररत सबै बन्दी अस्पतालमै छन्,’ सूचना अधिकारी श्रेष्ठले भने।

उपचार गराउन बाँकी नभएकाहरू पनि अहिले अस्पतालभित्रै प्रहरीको घेरामा छन्। अस्पतालमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ। उनीहरूलाई कैलाली कारागारमै फर्काउँदा फेरि झडप हुन सक्ने भएकाले अस्पतालमै राखिएको हो।  

घाइते कैदीलाई कारागार स्थानान्तरणको तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। 

‘डिस्चार्ज भए पनि अस्पतालमै स्वास्थ्य लाभ गरिरहनुभएको छ। कसैले पायक पर्ने सहज कारागारमा जान्छु भन्छ भने त्यसको व्यवस्थापनको तयारी गरिरहेका छौं,’ उनले भने।  

उनका अनुसार डिस्चार्ज भएका ३ कैदीलाई कञ्चनपुर कारागार स्थानान्तरण गरिएको छ। अर्का एक कैदीलाई पनि कञ्चनपुर कारागार स्थानान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले बताए। 

घटनापछि कैलाली कारागारका एक कैदीलाई मकवानपुर कारागार स्थानान्तरण गरिएको छ। 

अघिल्लो शुक्रबार राति कैलाली कारागारमा दुई समूहबीच हिंसात्मक झडप भएको थियो। झडपमा धनगढी उपमहानगरपालिका ४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए। 

कारागार घटनापछि सुरक्षा व्यवस्थापनमा चुकेको भन्दै कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल गृह मन्त्रालय तानिए भने जेलर बसन्त खत्रीको पनि सरुवा भयो। घटना हुँदा जेलर बिदामा थिए। 

घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा ५ सदस्यीय टोली बनाइएको छ।

कैलाली कारागारको विषयमा १९ साउनमा मानव अधिकार आयोगले जिल्लाको सुरक्षा सयन्त्र, गृहमन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराएको थियो। 

कारागारका ५९० कैदीले संयुक्त हस्ताक्षर गरेर आयोगमा निवेदन दिएपछि कारागार प्रशासन र कैदीबन्दीहरूको आन्तरिक प्रशासनबीचको सम्बन्धका कारण देखिएका समस्याको समाधान खोजी, कारागार व्यवस्थापनमा सुधार, कारागारभित्र कानून विपरीतको आर्थिक लेनदेन र अनियमितता, कारागार प्रशासनबाट चौकीदार नाइके समेतको समन्वय तथा जानकारी बेगर कानुनी प्रक्रिया विपरीत कैदीबन्दीहरूलाई बाह्य व्यक्तिहरूसँग सम्पर्क गर्न लगाइ मनमुटाव मुठभेडको अवस्था सृजना गर्न खोजिएको भन्दै आयोगले ध्यानाकर्षण गराएको थियो। 

कारागारभित्र लागुऔषध बिक्री वितरण तथा तस्करी गर्ने गरी भइरहेको योजना, कारागारको आन्तरिक व्यवस्थापनका लागि बन्दीहरूमध्येबाट चौकीदार, नाइके, भाइ नाइके चयन बन्दीहरूको सहभागितामा पारदर्शी ढंगबाट हुनुपर्ने, कैदी स्थानान्तरणको विषय परिवारलाई जानकारी हुनु पर्ने भन्दै बन्दीहरूले आयोगमा निवेदन दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad