सहकारी ठगीका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइएको छ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै नख्खु कारागार लगिएको छ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका उनले काठमाडौँमा अड्डासार गर्न निवेदन दिएका थिए।
उनको निवेदनमा अदालतले पनि अनुमति दिएको भए पनि लामो समय कारागार व्यवस्थापन विभागले निर्णयविहीन राखेको थियो। शुक्रबार मात्र उनलाई नख्खु कारागार सरुवा गर्ने निर्णय कारागार व्यवस्थापन विभागले गरेको हो।
रविले हालै सुप्रिम सहकारीको आफ्नो भागको बिगो दाखिला गरेर रिहाइको आदेश गर्न जिल्ला अदालतमा निवेदन दिएका थिए। अदालतले बिगो नै यकिन नभएको र यसअघि नै थुनछेकको विषय सर्वोच्चबाटै टुंगो लागिसकेको जनाउँदै उनको माग अस्वीकार गरिदिएको छ।
रविका विरुद्ध काठमाडौँ, कास्की, चितवन र पर्सा जिल्ला अदालतमा पनि सहकारी ठगीको अभियोगमा मुद्दा चलेका छन्। कास्कीमा सम्पत्ति शुद्धीकरणको अभियोगमा पनि मुद्दा चलेका कारण उनको सांसद पद निलम्बनमा छ। अन्य जिल्लामा सहकारी ठगी र संगठित अपराधका मुद्दा छन्।
Shares

प्रतिक्रिया