समाज


वीरेन्द्रनगरमा पाहुना आएकालाई घर प्रवेशमा रोक!

 वीरेन्द्रनगरमा पाहुना आएकालाई घर प्रवेशमा रोक!

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार ३:४३,

सुर्खेतको वीरेन्द्रनगरमा बन्दाबन्दी (लकडाउन) अवधिभर बाहिरबाट आउने पाहुना तथा नातेदारलाई प्रवेशमा रोक लगाइएको छ।

नगरपालिका क्षेत्रमा विदेश वा अन्य जिल्ला वा पालिका बाहिरबाट आउने पाहुना तथा नातेदार व्यक्तिलाई घरमा प्रवेश गर्न नदिने निर्णय नगर कार्यपालिकाले गरेको हो।

विभिन्न जिल्लामा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै नगर बाहिरबाट आउने पाहुनालाई प्रवेशमा रोक लगाइएको हो। नगर कार्यपालिकाको बुधबार बसेको बैठकले बाहिरबाट आउने पाहुनालाई घरमा प्रवेश गर्न नदिने निर्णय गरेको कार्यवाहक नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिइन्।

‘नगरपालिकामा बाहिरबाट आउने पाहुनालाई प्रवेश नगराउन सम्पुर्ण नगरवासीमा वडामार्फत अनुरोध गरेका छौँ,’ ढकालले भनिन्, ‘अत्यावश्यक भई बाहिरबाट आउनै पर्ने भएमा होम क्वारेन्टाइन कायम गरी रहन बस्ने व्यवस्था गर्ने तयारी गरेका छौँ।’

आगामी दिनमा बाहिरबाट आउने व्यक्तिलाई राख्ने गरी एक सय शय्याको क्वारेन्टाइन सार्वजनिक विद्यालयमा व्यवस्थापन गर्ने गरी अघि बढ्ने ढकालले बताइन्। यसअघि ६० शय्याको क्वारेन्टाइन निर्माण भइसकेको छ।

त्यसैगरी राहत वितरणको कामलाई यही वैशाख ७ गतेसम्म सम्पन्न गर्ने गरी अघि बढेको नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले जानकारी दिए।

‘वैशाख ७ गते पश्चात् पनि कुनै परिवारलाई राहत वितरण नगरी नहुने अवस्था आएमा नगरपालिकाको मापदण्डानुसार राहत वितरण गरिनेछ’, सुवेदीले भने, ‘यस्तो अवस्थामा वडाबाट जनप्रतिनिधिसहितको टोली बासस्थानमा गई एकिन गरिनेछ र उपयुक्त स्थानबाट सामाजिक दूरी कायम गरी राहत वितरण गरिनेछ।’

यसरी वितरण गर्दा सामग्रीको हकमा हाल प्रदेश सरकारबाट प्राप्त ५६९ प्याकेट खाद्यान्न वितरण गर्ने र त्यो अपुग भए नगरपालिकाले पुनः खरिद गरी पोका तयार गरेर वितरण गर्ने प्रशासकीय अधिकृत सुवेदीले बताए।

यस्तै पहिलो चरणको राहतमा छुटेका परिवारको विवरण वडा समितिको निर्णयसहित आज दिनको १२ बजेसम्म नगरकार्यपालिकाको कार्यालयमा पेश गर्न पनि अनुरोध गरिएको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad