समाज


आज साउनको अन्तिम सोमबार, पशुपतिनाथमा भक्तजनको घुँइचो

आज साउनको अन्तिम सोमबार, पशुपतिनाथमा भक्तजनको घुँइचो

फाइल तस्बिर


नेपालखबर
साउन २६, २०८२ सोमबार ७:३१, काठमाडौँ

आज साउन महिनाको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ।  

पशुपतिनाथ दर्शनको लागि हजारौँ भक्तजन उज्यालो नहुँदै पशुपति क्षेत्रमा पुगेका छन्। आज बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुवासचन्द्र जोशीले  जानकारी दिए। अन्य विशेष पर्वमा जस्तै पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ। 

पहिलो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिमढोकाबाट, दोस्रो लाम मित्रपार्क–दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौँथो लाम पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ।

यस वर्ष साउनमा चार वटा सोमबार परेका छन्। आज चौथा सोमबार विगतका तीन सोमबार भन्दा पशुपतिमा भक्तजनको बढी घुइँचो देखिन्छ। यस वर्ष साउन ५, १२, १९ र २६ गते सोमबार परेको छ। 

हिन्दु धर्मालम्बीले साउनको सोमबार उपवास बसी भगवान् शिव र पार्वतीको पूजाआराधना गर्ने परम्परा छ। साउने सोमबार विधिपूर्वक शिवको आराधना गर्दा परिवारमा सुख शान्ति र समृद्धि आउने विश्वास छ। 

आज काठमाडौँ उपत्यकाका अन्य शिवालयहरूमा पनि भक्तजनको भिड लागेको छ।

राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर, पूर्वी भेगस्थित पेप्सीकोलाको नागेश्वर मन्दिर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिरलगायतका शिवालयमा पनि भक्तजनको भिड लागेको छ। 

त्यसैगरि देशका विभिन्न स्थानमा रहेका अन्य शिव मन्दिरहरुमा पनि आज भक्तजनको भिड छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad