समाज


मौलिक शैलीमा ‘साँःपारु’ मनाउँदै भक्तपुरका नेवार समुदाय

मौलिक शैलीमा ‘साँःपारु’ मनाउँदै भक्तपुरका नेवार समुदाय

नेपालखबर
साउन २५, २०८२ आइतबार १३:५६, काठमाडौँ

वर्ष दिनमा मृत्यु भएका आत्माको मोक्ष प्राप्तिको प्रार्थना गर्दै ख्यालठट्टा, हाँस्यव्यङङ्ग्यसहित भक्तपुरका नेवार समुदायले आज धुमधामका साःँपारु (गाईजात्रा) पर्व मनाइँदैछ।

भिन्न र मौलिक शैलीमा मनाइने भक्तपुरको गाईजात्रालाई आँसु र हाँसोको सङ्गम जात्राका साथै दुःख, पीडा, शोकलाई हाँसोमा परिवर्तन गर्ने जात्राको सन्देश दिने पर्वका रूपमा लिइन्छ।

यस दिन साँ (गाई) निकाल्दा आफन्तजन मृतकको सम्झनामा रुने परम्परा छ। अर्कातर्फ ख्यालठट्टा, हाँस्यव्यङ्ग्य, धार्मिक तथा सांस्कृति रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने शिव पार्वती, भैरव, देवी, राधाकृष्ण, रामायणलगायत नाचसहित नगर परिक्रमा गरी साँःपारु मनाइन्छ। त्यसैले उपत्यकालगायत बाहिरी जिल्ला र विदेशीहरू गाईजात्रा हेर्न हजारौँका सङ्ख्यामा दर्शकहरु आउने गर्छन्।

जनैपूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी निकालेको घिन्ताङघिसी नाचले नगरपरिक्रमा गरेसँगै भक्तपुरमा औपचारिक रूपमा गाईजात्रा सुरु गरिन्छ।

जनैपूर्णिमाको साँझ सुरु भए पनि सर्वसाधारणले भाद्र शुक्ल प्रतिपदाको दिन गाईजात्रा मनाइन्छ । यस दिन मृतकको सम्झनामा गाई निकाल्नुअघि सबेरै दरबार स्क्वायरस्थित तलेजु भवानीको गाई निकाल्ने परम्परा छ । भक्तपुरको गाईजात्राको मुख्य आकर्षण घिन्ताङघिसी हो भने अर्को आकर्षण मृतकको सम्झनामा नगरपरिक्रमा गरिने ताहासाँ (तहामचा) हो । घिन्ताङघिसीसँगै ताहासाँलाई परिक्रमा गराए मृतकलाई स्वर्गमा जाने बाटोमा भएका अप्ठ्यारो हट्ने धार्मिक विश्वास रहेको छ।

घिन्ताङघिसी धिमे, भुस्या, खीं, धाँ बाजाको संयुक्त ताल र लयमा एकहात लामो गोलाकार लट्ठी एकापसमा जुधाएर नाचिन्छ । घिन्ताङघिसी समूहमा नाचिने नाच भएकाले जति बढी सहभागीको सङ्ख्या हुन्छ त्यति नै मनमोहक देखिन्छ। घिन्ताङघिसीमा बच्चादेखि वृद्धहरूसमेत सहभागी हुन्छन्।

करिब १५ फिट लामो चारवटा हरियो बाँसबाट ताहासाँ बनाइन्छ । बाँसलाई ठाडो पारेर आयातकारमा बाँधेर त्यसलाई कपडाले बेरेर ताहासाँ बनाइन्छ । ताहासाँको शिरमा परालको सिङ र सिङमाथि पलेस्वाँ लप्ते (कमलको फूलको पात), चोबो (कपालजस्तो देखिने) मयुरको पङ्खा र रङ्गीचङ्गी फूलले सजाइन्छ।

टाउको दुई छेउमा सिङसँगै पतचा (रङ्गीनमाथि गोलाकार तर झण्डाजस्तो देखिने) सजाइन्छ । त्यसपछि गाईको चित्र राखी द्योःगाचा (अष्टमातृकाको प्रतीक खास्तो), दुईवटा पटुका बाँधिन्छ । सिङमाथि छाता ओढाउँछन् । ताहासाँ महिला र पुरुषको सङ्केत जनाउन हाकुपटासी, सारी र सेतो कपडाले बेरेर बीचमा जामाचा लगाई अगाडि पछाडि मृतकको तस्बिर, भगवान्को तस्बिर ऐना र रुमाल राखिन्छ।

गाईजात्रामा कुमाले समुदायले मृतकका नाममा कालोमाटोको गाई बनाएर नगरपरिक्रमा गराइन्छ। उनीहरूको आफ्नो मौलिक पुख्र्याैली पेसाअनुसार माटोको आकर्षक गाई बनाएर नगरपरिक्रमा गराइने संस्कृतिकर्मी हरिशरण राजोपाध्यले बताए। गाईजात्रामा मृतकको स्मृति झल्काउने करुण रस प्रधान गीतिलीला, रामायण र श्रीकृष्णा लीला प्रदर्शन गरिन्छ। केटाकेटीलाई आकर्षक तवरले महादेव–पार्वती, राधाकृष्णको रूपमा शृङ्गारी बाँसुरी बाजाका साथ वासा लुइके गरेर प्रदर्शन गरिन्छ।

गाई निकाल्नुअघि ताहासाँ, डोको, राधाकृष्ण, महादेव पार्वतीलगायत मृतकको प्रतीक सङ्केत जनाउने, गाईलाई सगुन दिन मृतकको छोरीहरू र किरियापुत्रीलाई पण्डितले पूजा सङ्कल्प गराई श्राद्धकर्मको विधिविधान पूरा गरी गौदान गराइन्छ। यसबेला मृतकका घरपरिवारका महिला सदस्यहरू रुने परम्परा छ।

नेवार समुदायमा सगुन दिँदा रुनु मृतकप्रतिको सम्मानको रूपमा लिइन्छ । सगुन पूजा सकेपछि सानो काँचो केराउ, नासपाती, काँक्रोलगायत फलफूल र दही, चिउरा टोल छरछिमेकमा बाहिर बाँडिन्छ। बाँसको नोल लगाएर ताहासाँलाई मृतकका आफन्तले काँधमा बोकेर अगाडि पछाडि पटुका समातेर नगरपरिक्रमा गराइन्छ। परिक्रमा गराउँदा ताहासाँमा मृतकको तस्बिरलाई हेरेर कसको ताहासाँ निकालेको थाहा पाउँछ।

परिक्रमा गर्दा किरियापुत्री, छोरीहरू, मृतकका परिवार, आफन्तले हातमा सुगन्धित धूप बालेर जाने परम्परा छ । गाईलाई परिक्रमा गराउँदा मृतकका परिवार र स्थानीयले आफ्नो गच्छेअनुसार मालपुवा, पुरी, फलफूल, बिस्कुट, दक्षिणा, हरियो केराउ, काँक्रो, नासपाती, जुसलगायत दान दिने परम्परा छ।

भक्तपुरमा मृतक महिला, पुरुष र बालबालिका को हो, त्यसको स्पष्ट सङ्केत दिनेगरी गाईजात्रा निकालिन्छ । मृतक बच्चा हो भने डोको, महिला हो भने सारी, हाकुपटासीसहितको ताहासाँ र पुरुष हो भने सेतो कपडाको ताहासाँ नगरपरिक्रमा गराइन्छ । गर्भवती महिला भयो भने गाईसँगै अलि तल सानो गाई बनाएर लाने परम्परा छ । त्यसैगरी एकापरिवारको दुई सदस्यको मृत्यु भयो भने एउटै ताहासाँमा तल अर्को सिङ राखेर मृतकको तस्बिरसहित काखमा राखेर ल्याउने परम्परा छ।

गाईजात्राका दिन विधिवत रूपमा गाईलाई परिक्रममा गराएमा मृतात्माहरू सजिलैसित स्वर्गलोकमा पुग्नुका साथै मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतकको आत्माले गाईको पुच्छर समातेर वैतरणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने धार्मिक विश्वासले गाईजात्रा निकाल्ने गरिएको हो।

गाईजात्रामा स्थानीय लाकोलाछे टोलबाट भैरवनाथको र खँलाबाट नकिन्जु अजिमाको ताहासाँ निकालेपछि साँःपारु सम्पन्न गर्ने परम्परा छ । भैरवको ताहासाँ ल्याउँदा लाकोलाछे टोलमा वर्ष दिन दिवङ्गत भएका सबैको ताहासाँ भैरवको ताहासाँसँगै लानुपर्ने परम्परा छ। भैरवनाथको ताहासाँलाई नगरपरिक्रमा गराउँदा तमारी, लायकु दरबार र तचपालमा तीन–तीनपटक परिक्रमा गराइन्छ। अन्तमा भैरवनाथको ताहासाँ चुपिङघाटस्थित पुलमा लगेर बिगारी पराल हनुमन्ते नदीमा सेलाउने परम्परा छ।

भक्तपुरमा गाईजात्रा जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म मनाइन्छ। प्रतिपदाको दिन मुख्य रूपमा र अन्य दिन साँझ विभिन्न झाँकीसहितको घिन्ताङघिसी नाच निकालेर स्थानीयलाई मनोरञ्जन दिने गरिन्छ। गाईजात्राकै अवसरमा भक्तपुरमा भाद्रकृष्ण अष्टमीसम्म नगरका देवीदेवताहरू दत्तात्रय, भैरव, भीमसेन, बाराही, कृष्णको खटजात्रा गरिन्छ । भक्तपुरमा डबली डबलीहरु माक प्याखं, नागाचा प्याखं, लाखे प्याखं, देवी प्याखं, भैल प्याखं, भालुचा प्याखं, कवांचा प्याखं, रामायण, लुसीचा प्याखं, खिचा प्याखंलगायत नाच प्रदर्शन गरिन्छ।

शोक र उल्लासको सङ्गमका रूपमा मनाइने गाईजात्रा पर्वलाई काठमाडाँैका राजा प्रताप मल्ल, भक्तपुरका राजा जगतप्रकाश मल्ल र ललितपुरका राजा सिद्धिनरसिंह मल्लको पालादेखि बाजागाजाको संस्कार थालिएको इतिहास तथा सांस्कृतिकविद् प्रा डा पुरुषोत्तम लोचन श्रेष्ठले बताए। उनका अनुसार लिच्छवीकालमा रमाइलोका लागि गोरु जुधाउने परम्परा थियो। अनन्तलिङ्गेश्वरको अभिलेखमा गो युद्ध उल्लेख छ। गोरु जुधाएर रमाइलो गर्ने र मृत्यु संस्कारमा गाई यात्रा गर्ने चलन पूर्वमध्यकालमा सुरु भएको श्रेष्ठको भनाइ छ।

गाईजात्रा विशेषगरी नेवार समुदायले मनाउने पर्व हो । राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किंवदन्ती भए पनि नेवार समुदायबाहेकले गाईजात्रा गर्ने प्रचलन रहेको पाइँदैन। मल्लकालमा नेपाल मण्डल काठमाडौँ उपत्यकामा नेवार समुदायको मात्र बसोबास भएको स्थान भएकाले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वका रूपमा विकास भएको प्रा डा श्रेष्ठ बताउँछन्। नेवार समुदायमा भक्तपुरको गाईजात्रा भिन्न र विशेषखालको हुनुमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर हुनु प्रमुख कारण भएको प्रा डा श्रेष्ठ बताउँछन्।

किंवदन्तीअनुसार राजा प्रताप मल्लको छोराको मृत्युपश्चात रानी धेरै शोकमा डुबेपछि उनलाई नगरका जनताका घरमा पनि कसै न कसैको मृत्यु भएको छ भन्ने देखाउन गाई निकाल्ने प्रचलनको सुरुआत भएको मानिन्छ । यत्तिले रानीको मन शान्त नभएपछि रानीको मनलाई शान्त पार्न हास्यव्यङ्ग्य, ख्यालठट्टा प्रदर्शन गर्न राजाले आदेश दिएअनुसार गाईजात्रामा हाँस्यव्यङ्ग्य प्रदर्शन गरिन्छ।

प्रा डा श्रेष्ठले राजा जयस्थिति मल्लभन्दा पहिल्यै भक्तपुरमा गाईजात्रा मनाउँदै आएको दाबी गरे । जयस्थिति मल्लले सम्पादन गरेको गोपालवंशालीमा साँःयात भन्ने उल्लेख भएको प्रमाणअनुसार लिच्छवीकालको अभिलेखमा गौयुद्ध उत्सव भनी लेखिएको पाइएकाले लिच्छवीकालमा पनि गाईजात्रा मनाइन्छ भन्ने मान्न सकिने उनको भनाइ छ । उनले विक्रमको १४औँ शताब्दीभन्दा पहिला लिच्छवीकालको अन्त्यतिर गाईजात्रा सुरु भएको मान्न सकिने आधारहरू भएको बताए।

त्यसैगरी, भक्तपुरमा तान्त्रिक विधिले गर्ने भएकाले यहाँको गाईजात्रा अन्य स्थानको भन्दा भिन्न र मौलिक शैलीको भएको अर्का संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले बताए । भक्तपुर तन्त्र विद्यायुक्त सहर हो। ‘यहाँका हरेक सांस्कृतिक परम्पराहरू तान्तिक विधिपूर्वक मनाइन्छ’ , उनले भने, ‘भक्तपुरमा प्रत्येक पाइलापाइलामा तान्त्रिक शक्ति छ, त्यही शक्तिका आधारमा यहाँ गाईजात्रा मनाइन्छ।’ 

भक्तपुर नगर तन्त्रका आधारमा स्थापित भएको र त्यही आधारलाई मानेर मृतकका नाममा ताहासाँ, दोसाँ, महादेव पार्वती, वासा लाकेगुलगायत गरी नगर परिक्रमा गराइने परम्परा रहेको राजोपाध्यायले बताए। गाईजात्रा सबै ठाउँमा मृतकको शान्तिका लागि मनाए पनि अन्य स्थानमा तान्त्रिक शक्ति नभएको राजोपाध्यायले बताए।

साँःपारुको दिन मृतकले गाईको पुच्छर समातेर वैतरणी नदी तर्छन् भन्ने धार्मिक विश्वासले नेवार समुदायले गाईजात्रा मनाउन थालेको अर्का संस्कृतिविद एवं पुरोहित विनोदराज शर्माले बताए। मृत्युको शोकसँग सम्बन्धित गाईजात्रामा मध्यकालदेखि नै हास्यव्यङ्ग्य र ख्यालठट्टा सुरु भएको उनले बताए। राजा प्रताप मल्लले गाईजात्रा गरेर मृत्यु सत्य हो भन्ने दर्शाउँदा रानीको मन शान्त नभएपछि हास्यरसको प्रयोग भएको कथा उल्लेख रहेको उनले जानकारी दिए।

‘प्रारम्भमा गाईयात्राका रूपमा मनाएको यो पर्व मध्यकालमा गाईजात्रा भएको हो। साँपारुमा गाईलाई नगर परिक्रमा गराए मृत्युसंस्कार पूरा हुन्थ्यो पछि गाईसँगै विभिन्न बाजागाजा राखियो त्यसपछि यात्राबाट जात्रामा परिणत भएको हो’ , संस्कृतिविद शर्माले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad