पोखराबाट सिन्धुली फर्केको हायु परिवारका पाँच सदस्यले काम सुरु गरेका छन्। परिवारका बालबालिका पनि विद्यालय पनि भर्ना भएका छन्।
गोलञ्जोर-६ का वडाध्यक्ष रविनकुमार श्रेष्ठले उनीहरूलाई कामको व्यवस्था गरिदएका हुन्। साउन ९ गते शुक्रबार आफ्नो थातथलो नै छोडेर पोखरा पुगेको हायु परिवारलाई ११ दिनपछि श्रेष्ठले फिर्ता ल्याएर आफ्नै पुरानो घरमा राखेका थिए।
वडाध्यक्षले श्रेष्ठले हायु परिवारका दुई छोरा र दुई छोरीलाई सोही गाउँको मिनरल वाटर कम्पनीमा काम लगाइदिएका छन्। उनीहरूको तलब तत्कालका लागि खानबस्न र १० हजार रूपैयाँ प्रतिव्यक्ति रहेको श्रेष्ठको भनाइ छ।
यसैगरी एक छोरालाई चाहिँ खानबस्नसहित १५ हजार पाउने गरी होटलमा काम लगाइदिएका छन्।
परिवारका पाँचजना बालबालिकालाई वडाध्यक्षले गणेश प्राथमिक विद्यालयमा भर्ना गरिदिएका छन्। आमा उर्मिलालाई भने श्रेष्ठले घरवरिपरि तरकारी खेती र कुखुरा पालन गर्न भनेका छन्।
जेठा छोरालाई एम्बुलेन्स चलाउने काम दिनेबारे सल्लाह भइरहेको वडाध्यक्ष श्रेष्ठले नेपालखबरलाई जानकारी दिए। विवाहित छोरी-ज्वाइँ भने आआफ्नै घर फर्किएका छन्।
परिवारका बाँकी सदस्यमध्ये केही बच्चा हेर्नुपर्ने छन् भने अरू विद्यालय जाने उमेरका छन्।
हायु परिवारको अस्थायी बासस्थान वडाध्यक्षको घर भए पनि छिटै उनीहरूका लागि अर्को घर बनाइदिने श्रेष्ठको भनाइ छ। दसैँपछिबाट यसको सुरुवात गर्ने उनी बताउँछन्।
केही समय सो परिवारलाई काउन्सेलिङ गरेर मनबाट सम्पूर्ण प्रकारका डर हटाउने र आर्थिक स्थिति पनि सुदृढ बनाउने योजना रहेको श्रेष्ठ बताउँछन्। भन्छन्, ‘श्रीमानको मृत्युपछि उर्मिला धर्मकर्ममा लाग्नुभएको रहेछ। अनि यो ठाउँमा बसिस् भने तँलाई तेरो श्रीमानले खान्छ भनेर उहाँलाई डर देखाइँदो रहेछ,’ उनी भन्छन्।
उर्मिलाको खुसी
थातथलो छाड्ने रहर कसलाई हुन्छ र? तर, यस परिवारकी सबैभन्दा जेठी सदस्य उर्मिला हायु केही समययता विचलित र मानसिक रूपमा अस्थिर थिइन्। श्रीमान् सानु हायुको मृत्युपछि उनको मानसिक रूपमा स्थिर बन्न सकिरहेकी थिइनन्। त्यसैले उनी आजै छाडौँ, भोलि नै छाडौँ भनिरहेकी थिइन्।
उनको त्यस अवस्थालाई लिएर सही ढंगले सम्झाउने र आश्वस्त तुल्याउने कोही भएनन्। बरु उल्टै उनलाई तर्साउने र मन अत्याउने गर्थे गाउँलेहरू। वडाध्यक्षले सम्झाईबुझाई गरी आडभरोसा पनि दिने वाचा गरेपछि पोखराबाट फर्किन राजी भइन्।
पोखराबाट फर्किएपछि आफ्नो स्वास्थ्य अवस्था ठिक भएको उनी बताउँछिन्।
‘वडाध्यक्षको घरमा बस्छौँ हामी अहिले। गाउँको बीचमा बस्छौँ, त्यसैले केही डर लाग्दैन अहिले त,’ उर्मिलाले नेपालखबरसँग खुसी साटिन्, ‘वडाध्यक्षले छोराछोरी सबैलाई काम लगाइदिनुभएको छ। धेरै राम्रो लागेको छ। अब मलाई सन्चो हुन्छ भन्ने ढुक्कै छ, अहिले धेरै कम पनि भैसकेको छ मलाई। नातिनीलाई पनि बिसन्चो भको ठिक हुँदै गको छ।’
अब सबै राम्रो भएकोले कतै नहिँड्ने उनको भनाइ छ।
‘हामी त्यसरी हिँड्ने मान्छे नै हैन, कहीँ पनि हिन्दैनौँ। काम विषेशले हिँड्नु छुट्टै कुरो, नत्र हामी अब कतै जाँदैनौँ,’ उनी भन्छिन्, ‘पहिलाको घर हेर्न मन लाग्यो भने दुईतीन महिनापछि हेर्न जानुपर्ला।’
Shares

प्रतिक्रिया