समाज


थातथलो खोसियो, संस्कृति मासियो, सीप बिक्न छाड्यो अनि हायु उठीबास भए

उर्मिला हायुको परिवारको मात्र होइन यो कथा
थातथलो खोसियो, संस्कृति मासियो, सीप बिक्न छाड्यो अनि हायु उठीबास भए

हायु परिवारलाई घर फर्काउन पोखरा पुगेका वडाध्यक्ष रविनकुमार श्रेष्ठ (दायाँ) उर्मिला हायु र उनका छोराका साथमा


आयुषा ढकाल
साउन १४, २०८२ बुधबार २१:१६, काठमाडौँ

सिन्धुलीको गोलञ्‍जोर-६ मा बसोबास गर्ने हायु समुदायको एकै परिवारका १६ जना बेपत्ता भए। शुक्रबार थातथलो छाडेर हिँडेका उनीहरू सोमबार पोखरामा भेटिए।

उनीहरूलाई गाउँमै फर्काउन वडाध्यक्ष रविनकुमार श्रेष्ठ पोखरामै पुगे। उनीहरूका समस्याबारे सोधीखोजी गरे। घर बनाएर बस्न सजिलो बनाइदिने भनेर आश्वासन पनि दिए।

तर, हायु परिवार घर फर्कन तयार भएन। पोखराको गगनगौँडामै बस्ने र जीविकाका लागि त्यहीँ काम खोज्ने सुरमा छ।

यस परिवारको पलायनले अहिले धेरै प्रश्न उब्जाएको छ। के उनीहरूको जीवन त्यही स्थानमा सरल भएको भए आफ्नो थातथलो छोडेर, सबै कुरा लथालिंग स्थितिमा पारेर हिँड्थे होलान् त? अथवा, अन्धविश्वासकै कारण उनीहरू थातवास र सरकारले दिने सेवासुविधाको माया मार्न तयार भए?

खासमा यो कथा एउटा परिवारको मात्र होइन। बागमती प्रदेशका रामेछाप, सिन्धुली र मकवानपुरका केही गाउँमा छरिएको यस लोपोन्मुख समुदायकै कथा यसले भनिरहेको छ।

पोखरामा हायु परिवारसँग भेटेपछि वडाध्यक्ष रविनकुमार श्रेष्ठ

किन छाड्यो थातवास?
दुई वर्षअगाडि हायु परिवारको मुख्‍य व्यक्ति सानु हायुको मृत्यु भयो। उनी काठका सामग्री बनाउँथे, जसलाई सनमान भनिन्‍छ।

उनले बनाएका काठका हाते सामग्री बिक्री भए परिवारको गुजारा चल्थ्यो। बिक्री नहुँदा के खाने भन्ने समस्या पर्थ्यो।

उनको निधनपछि छोराहरूले काठकै काम गरेर जीविका चलाउने प्रयास गरे। जीविकोपार्जनको लागि काठको कामसँगै पशुपालन पनि गरे। तर, आर्थिक स्थितिमा सुधार भएन।

सानु हायुको मृत्युपछि सबैभन्दा ठूलो चोट श्रीमती उर्मिलालाई पर्‍यो।

एकातिर परिवारको मियो गुमाउँदाको पीडा। अर्कोतिर आर्थिक समस्या। उर्मिलालाई बेसन्चोले सताइरह्यो। यहीबीचमा कसैले भनिदियो, तिम्रो श्रीमानको आत्माले सताइरहेको छ।

त्यसपछि त के चाहियो र?

‘यो ठाउँ आजै छाडौँ, भोलि नै छाडौँ’ भन्न थालिन् उर्मिला।

उनीहरू बसेको जग्गा पनि आफ्नो थिएन। अरूकै जग्गामा बसेका थिए। त्यसैले घरगोठ त्यागेर हिँड्न हायु परिवार तयार भयो।

घर फर्काउन पोखरासम्मै पुगेका वडाअध्यक्ष श्रेष्‍ठलाई पनि ५२ वर्षीया उर्मिलाले आफू बिरामी परिरहने र बेलाबेला तर्साएको महसुस हुने गरेको बताइन्।

मनले नै त्यस घरमा नबस् भनेको हुनाले घर छोडेको उर्मिलाको भनाइ छ। उनीहरूको खोजी गर्ने क्रममा प्रहरीसँग पनि उनले त्यसै भनेकी थिइन्।

बेग्लै घर बनाइदिने भनेर वडाध्यक्षले फकाउँदा पनि उर्मिला घर फर्किन तयार भइनन्।

वडाध्यक्ष श्रेष्ठले भनेका थिए, ‘अहिले अस्थायी ठहर बनाइदिन्छौँ। पछि पक्की घर पनि बनाइदिउँला। यदि पहिलाकै घरमा बस्ने हो भने जग्गा पनि दिलाइदिउँला, किनेरै भए पनि।’

जेठा छोरा राजु वडाध्यक्षको कुरामा सहमत हुँदा पनि उर्मिलाको अडानसामु उनको केही जोर चलेन।

दिनभर फकाउँदा पनि नमानेपछि श्रेष्ठ रित्तै सिन्धुली फर्किएका छन्।

हुन त यस समुदायलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिन्छ। प्रतिव्यक्ति मासिक ३ हजार ९७० रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउने र यो रकम प्रत्येक ३ महिनामा भुक्तानी हुने गरेको श्रेष्ठको भनाइ छ।

‘वडाबाट प्राप्‍त हुने सेवा–सुविधामा पनि उनीहरूलाई प्राथमिकतामा राखिरहेकै छौँ,’ वडाध्यक्ष श्रेष्ठ भन्छन्, ‘यस कुरामा जेठो छोरा राजु सहमत भए पनि आमाले चाहिँ नजानेजस्तो कुरा गर्नुभयो।’

हायु संस्कृतिको एक झलक

बोलाइरहेका छन् गाउँलेहरू
श्रेष्ठका अनुसार, यस वडामा हायु समुदायको जनसंख्या २४० रहेको छ। करिब ४० वर्षदेखि हायु समुदाय यहाँ बसोबास गर्दै आएको हो।

हायु समुदायकै अगुवाहरूले पनि उनीहरूलाई गाउँ फर्काउन प्रयास गरिरहेका छन्।

 ‘आफ्नो समुदाय छाडेर नजानू। मर्दापर्दा आफ्नै समुदायको मान्छे चाहिन्छ। जेजे आवश्यक पर्छ, यहीँ मिलाउँला,’ हायु समाज नेपालका अध्यक्ष लक्ष्मण हायुले भनेका छन्।

अब घर छाडेर गएपछि अर्को ठाउँबाट सामाजिक सुरक्षा भत्ता पाउन समस्या पर्न सक्छ। बसाइँसराइ लगायतका प्रक्रिया अवलम्बन गर्नुपर्ने हुन सक्छ। त्यसैले पनि गाउँ फर्किनु उचित हुन्छ भनेर सम्झाउनेहरूको कमी छैन।

यति हुँदा पनि उर्मिलाको मन फर्किन सकेको छैन। उनको एकोहोरो भनाइ छ, ‘त्यो ठाउँको माया नभएको होइन। तर, त्यहाँ अब बस्न सकिन्न। म जाँदै जान्नँ।’

प्रकृतिसँग जोडिएको हायु संस्कृति। तस्बिर सौजन्य: लक्ष्मण हायु

को हुन् हायु?
लोपोन्मुख समुदायमा पर्ने हायुमा शिक्षाप्रति त्यति आकर्षण छैन। पढ्नेहरूले पनि बीचैमा छाड्ने गरेका छन्।

उनीहरू कृषि, सिकर्मी, डकर्मी पेसामा अबद्ध छन्। काठका सामानसँगै उनीहरूले चोया तथा निगालोका डोको, मान्द्रो आदि हाते सामग्रीहरू पनि बनाउने गर्छन्।

बसोबासको हिसाबले रामेछाप थातथलो रहेको र बसाइँ सर्दै सिन्धुलीमा पनि पुगेको देखिन्छ।

रामेछाप नगरपालिका वडा नं. ७ को पाली गाउँ हायु जातिको केन्द्रीय थलो मानिन्छ। यो जाति आदिवासी जनजाति अन्तर्गतको किरात समुदायमा पर्दछ, जसको कुल जनसंख्या नै ३ हजार ६९ रहेको आदिवासी जनजाति आयोगका सूचना अधिकारी दयाकृष्ण ढकालको भनाइ छ। उनका अनुसार हायु भाषा बोल्ने जनसंख्या जम्मा १ हजार १३३ छ।

हायु संस्कृतिको झलक

प्रकृतिबाट लखेटिँदै
हायु प्रकृतिसँग रमाउने र प्रकृतिकै पात्रोअनुसार चल्ने जाति हो। हायु जातिको धर्म, संस्कृति, चालचलन, पेसा आदि सबै कुरा प्रकृतिसँग जोडिएका छन्। जंगलको प्राकृतिक स्रोतको उपयोग गर्छ, संरक्षण र संवर्धन पनि।

संयुक्त परिवारमा बस्ने हायु जंगलनजिकै हुन्छन्। आफू बसेको स्थान वरिपरि नै रुखबिरुवा रोप्छन्।

कुनै चाडपर्व मनाउँदा होस् या दाह संस्कार गर्दा नै किन नहोस्, यो जातिले भूमि तथा वृक्षलाई पूजा गर्ने, रोप्‍ने आदि क्रियाकलाप गर्दछ।

सिधा अर्थमा भन्दा माटोमा बढी आश्रित भएको जातिको रूपमा हायुलाई लिन सकिन्छ।

तर, उसले पुज्ने मन्दिर, थान, देवी-देवता रहेका स्थान धेरैतिर अहिले सामुदायिक वनमा परिणत भएका छन्।

हायुले बनाउने काठका सामग्री बजारमा बिक्न छाडेका छन्, बजार प्लास्टिकका सामानले ओगटेपछि। वनमा काठ काट्न र चोया बटुल्न गाह्रो भएको छ, सामुदायिक वनले सीमाबन्दी गरिदिएपछि।

लक्ष्मण भन्छन्, ‘अब जन्‍नेसुन्‍नेले त्यस्तो बनाइदिए। हाम्रो दाहसंस्कार गर्ने ठाउँ पनि हाल बन्द गरिदिएका छन्। गाउँघरछेउमा शव गाड्दा पनि गन्हाउने समस्या हुन्छ।’

पहिले हेरीकन हायुहरू केही हदसम्म आधुनिकतासँग घुलमिल पनि हुँदै छन्।

पहिले उनीहरू सिकार खेल्ने, जंगलका कन्दमूल खोजेर खाने गर्थे। उनीहरूको संस्कार–संस्कृति पनि अन्य जातिको भन्दा फरक छ। उनीहरूको संस्कृतिमा चाहिने सामानहरू पनि फरक छन्। जस्तैः कालुनो, घलिया, सालधुप, अरिंगाल, भोर्लाको पात आदिको प्रयोग गरिन्छ।

हायु आदिवासी भूमिसन्तान हुन् तर उनीहरूसँग अहिले आफ्नै जमिन छैन। आफ्नो प्रिय प्रकृति, जसलाई धर्म, संस्कृति, परम्परा ठान्दै पुज्थ्यो, त्यसमा पनि नियन्त्रण छैन। थातवास नै उठेर हिँड्नुपर्दा भाषा, धर्म र कला पनि लोप हुने स्थितिमा पुगेको छ।

जमिनमा स्वामित्व नहुने, रोजीरोटी पनि नपाउने भएपछि बसाइँ सर्न बाध्य भएको लक्ष्मण बताउँछन्। उनका अनुसार, रामेछाप र सिन्धुलीका कतिपय ठाउँका नामै हायु भाषामा राखिएका छन्।

लक्ष्मण भन्छन्, ‘हामीलाई राज्यबाट सहयोग त आएको छ तर केही कुराहरू अझै नमिलेको अवस्था छ। त्यसैले अब नयाँ तरिकाले सोच्ने समय आएको छ। समुदायमा शिक्षा, रोजगारी, जनचेतनामा पहुँच पुर्‍याउनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad