वीर अस्पतालमा सञ्चालित चमेनागृह (क्यान्टिन) का विषयमा सुरु भएको विवाद समाधान हुने संकेत देखिएको छैन। गुजेश्वरी होटल प्रालिले नक्कली कागजात पेस गरी सेटिङमा ठेक्का हात पारेको आरोपपछि सुरु भएको विवाद अहिले अदालतसम्म पुगेको छ।
राष्ट्रिय सतर्कता केन्द्रले वैशाख ९ मा सो क्यान्टिन गैरकानुनी रूपमा सञ्चालनमा रहेको भन्दै ठेक्का रद्द गर्न निर्देशन दिएको थियो। अस्पतालले ठेक्का रद्द नगरेपछि केन्द्रले पुन जेठ २८ गते पत्र पठाउदै वैशाख ९ गतेको निर्णय कार्यान्वयन गराउन निर्देशन दियो। केन्द्रको दोस्रो पत्रपछि अस्पताल प्रशासनले १ महिनाभित्र क्यान्टिन बन्द गर्न निर्देशन दियो।
अस्पताल र केन्द्रको निर्देशनको विरोध गर्दै क्यान्टिन सञ्चालक भक्तबहादुर घलेले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन्।
कसरी सुरु भयो विवाद?
सञ्चालनमा रहेको क्यान्टिनको सम्झौता सकिएपछि वीर अस्पतालले २०८१ कात्तिक ९ मा नयाँ सूचना प्रकाशित गरेको थियो। सूचनाको आधारमा गुजेश्वरी होटल प्रालि, जी एन्ड बी क्याफे, सुनिल क्यान्टिन तथा कपडा पसल, शिवांश फुड एन्ड क्यान्टिन, आरएस मल्टिपर्पोज, नारायणी चमेनागृह र ग्रिनवर्ड बेकरी क्याफेले बोलपत्र प्रस्ताव पेस गरेका थिए।
टेन्डर मूल्यांकन समितिमा अस्पतालका लेखा उपसचिव हिमलाल अधिकारी, लेखा अधिकृत महानराज ओली, खरिद शाखा अधिकृत राजन फुयाँल थिए।
त्यो समितिले २०८१ मंसिर २२ गते गुजेश्वरी होटल प्रालिलाई क्यान्टिन सञ्चालन गर्न दिने सम्झौता गर्यो।
तर, टेन्डर पेस गरेका जी एन्ड बी क्याफेका सञ्चालक अर्जुन अर्याल र सुनिल क्यान्टिन तथा कपडा पसलका सञ्चालकले योग्यता नै नपुगेको गुजेश्वरी होटल प्रालिलाई किर्ते अनुगमन प्रतिवेदन तयार गरेर क्यान्टिन सञ्चालन गर्न दिएको भन्दै विरोध गर्न थाले।
उनीहरूले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र वीर अस्पतालका पदाधिकारीलाई झुक्याई २५ लाख कमिसन लिई क्यान्टिन सञ्चालन अनुमति दिएको भन्दै प्रधानमन्त्री कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, सर्तकता केन्द्र, सम्पत्ति शुद्धीकरण र स्वास्थ्य मन्त्रालयमा उजुरी दिएका थिए।
उजुरी मार्फत उनीहरूले गुजेश्वरीले क्यान्टिन सञ्चालनका लागि २५ लाख कमिसन दिएको र कमिसन लिनेहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन्।
उजुरीपछि सतर्कता केन्द्रले क्यान्टिनको ठेक्का सम्झौता रद्द गर्न निर्देशन दिएको हो।
वीर अस्पतालका कर्मचारीले पनि क्यान्टिन गैरकानुनी रूपमा चलाइएको, महँगो भएको, बासी खानेकुरा दिने गरिएको भन्दै गुजेश्वरीविरुद्ध उजुरी दिएका थिए।
अस्पतालका निर्देशक डा दिलिप शर्माले आफू आउनुअघिदेखि नै क्यान्टिन सञ्चालनमा रहेकााले यसबारे आफूलाई धेरै जानकारी नभएको बताए।
‘म निर्देशक भएर आएको ४ महिना मात्र भयो क्यान्टिन १ वर्षदेखि सञ्चालनमा छ,’ उनले भने, ‘सर्तकताबाट पत्र आएको थियो, क्यान्टिन तत्काल बन्द गराउनु पर्ने आदेश आएको होइन। सर्तकताको पत्रपछि क्यान्टिन सञ्चालक अदालत गएका छन्, अब अदालतले निर्णय नगरी हामीले हटाउन मिलेन।’
कागजपत्र नक्कली, ठेक्का मापदण्डविपरीत : सतर्कता केन्द्र
सतर्कता केन्द्रले वीर अस्पतालमा सञ्चालनमा आएको गुजेश्वरी होटलले सार्वजनिक खरिद ऐन, २०६३, नियमावली, २०६४ तथा प्रस्ताव गरेको आधारभूत सर्त र मापदण्ड विपरीत ठेक्का सम्झौता गरेको जनाएको छ।
केन्द्रले वैशाख ७ गते सचिवस्तरीय निर्णय गदै सम्झौता तोड्न निर्देशन दिएको थियो।
केन्द्रले चमेना गृह सञ्चालनका लागि अनिवार्य रूपमा पेस गर्नु पर्ने कागजात र न्यूनतम योग्यताका आधारहरू पेस गर्नु पर्नेमा नगरेको, नक्कली कागजातहरू पेस गरेकोमा अस्पताल प्रशासनको मिलोमतोमा अयोग्य कम्पनीको बोलपत्र स्वीकृत गरिएकोले जनाएको छ।
उजुरी दर्ता भएपछि केन्द्रको उजुरी व्यवस्थापन समितिको बैठकले पुष्टि हुने कागजातहरू मागेर अध्ययन गरेको जनाएको छ।
‘प्राप्त प्रमाण सहितका फाइल संलग्न र प्रचलित कानुनहरू समेतको अध्ययन गरी हेर्दा चमेना गृह सञ्चालन सम्बन्धी १५ दिने सिलबन्दी प्रस्ताव आव्हानको सूचनाको अनिवार्य रूपमा पेस गर्नु पर्ने कागजात र न्यूनतम योग्यताका आधारहरू अन्तर्गत भाग २ (च)मा भएको ७ वर्षको कार्यानुभव र हाल उक्त सेवा सञ्चालन गरिरहेको प्रमाणपत्र पेस गर्नु पर्नेमा गुजेश्वरी होटल प्रालिले पेस गरेको महाराजगञ्ज नर्सिङ क्याम्पसको क्यान्टिनको प्रमाणपत्रको सम्बन्धमा सोधनी हुँदा उल्लेखित नर्सिङ क्याम्पसमा गुजेश्वरी होटल प्रालिले क्यान्टिन सञ्चालन नगरेको भनी जवाफ प्राप्त भएको पत्रमा उल्लेख गरिएको छ,’ सतर्कता केन्द्रको भनाइ छ।
ओम अस्पतालमा क्यान्टिन सञ्चालन गरेको झुटो विवरण पनि बुझाएको पाइएको केन्द्रले जनाएको छ।
‘ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडको पत्रबाट ओम हस्पिटल र रमाइलो चौतारीबीच भएको सम्झौताको बुँदा नं ८(४) मा द्वितीय पक्षले बहालमा लिएको ‘क्यान्टिन स्पेस क्षेत्र’ द्वितीय पक्षले करार अवधिभरमा अन्य कुनै व्यक्ति वा संस्थालाई सम्झौता गरी भाडामा दिन सकिने छैन भनी भएको व्यवस्था विपरीत ‘सब लिज’ गरी गुजेश्वरी होटललाई दिएको भनी पत्र प्राप्त भएको हुँदा महाराजगञ्ज नर्सिङ क्याम्पस र ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिको अनुभवका योग्यताका प्रमाणपत्रहरू मूल्यांकनमा समावेश हुन योग्य देखिएन,’ सतर्कता केन्द्रले भनेको छ।
चमेनागृहले खाद्य स्वच्छताको न्यूनतम गुणस्तर मापदण्ड पनि पूरा गरेको प्रमाणपत्र वा गुणस्तरीय सेवा रहेको निरीक्षण प्रतिवेदनको प्रमाणपत्र पेस नगरेको केन्द्रले जनाएको छ।
‘एकजना प्रमुख भान्छे र तीनजना भान्छेहरूको व्यक्तिगत विवरण योग्यता र अनुभव र प्रशिक्षणको विवरण खुल्ने कागजात समेत पेस गर्न नगरेको सम्पूर्ण कागजातहरू पेस नगरी गुजेश्वरी होटलको प्रस्ताव स्वीकृत भएको देखिन्छ,’ निर्देशन पत्रमा उल्लेख गरिएको छ।
हामीविरुद्ध राजनीति भयो : क्यान्टिन सञ्चालक
गुजेश्वरी क्यान्टिन सञ्चालक भक्तबहादुर घले राजनीति गरेर आफूहरूलाई अस्पतालबाट हटाउन खोजिएको बताउँछन्।
‘टेन्डर प्रक्रियाबाट नै तीन वर्षको ठेक्का सम्झौता गरेका थियौँ, हामी प्रक्रियाबाट नै आएका हौँ। राजनीति गरेर विभिन्न आरोप लगाउँदै हामीलाई हटाउन खोजिएको छ,’ उनले भने, ‘यसको विरोध गर्दै हामी अदालत गएका छौँ, अदालतबाट न्याय पाउछौँ।’
महिनाको २ लाख ४५ हजार तिर्ने सर्तमा ठेक्का सम्झौता भएको थियो।
‘४० जनाले रोजगार पाइरहेका छन्, विभिन्न बहाना बनाएर हटाउन खोजिएको छ,’ उनी भन्छन्, ‘हामी पनि चुप बस्दैनौँ। ओम अस्पताल र त्रिवि शिक्षण अस्पतालको नर्सिङ क्याम्पसमा क्यान्टिन सञ्चालन गरिसकेका छौँ, तर हामीले काम नै नगरेको भन्दै हल्ला फैलाएको छ।’
पहिला क्यान्टिन चलाइरहेका अर्जुन अर्यालले अनावश्यक विवाद निकालेको उनको आरोप छ।
‘टेन्डर प्रक्रिया मार्फत आफूले पुनः क्यान्टिन सञ्चालन गर्न नपाएपछि उहाँले विरोध गर्नुभएको हो, सर्तकता केन्द्रदेखि कताकता गएर उजुरी दिनु भएको छ,’ घलेले भने, ‘केन्द्रले पनि के आधारमा अनुगमन गरेर ठेक्का रद्द गर्न भनिएको छ, त्यसको लागि कानुनी उपचारमा नै लागेका छौँ।’
तर वीर अस्पतालमा कर्मचारीहरू गुजेश्वरीले ठेक्का सेटिङमा हात पारेको, खानेकुरा महँगो र गुणस्तरहीन भएको गुनासो गर्छन्।
‘अस्पतालको क्यान्टिन चलाउन ७ वर्षको कार्य अनुभव हुनु पर्ने र हाल उक्त सेवा सञ्चालन गरिरहेको प्रमाणपत्र नक्कली पेस गरिएको छ। स्वच्छताको न्यूनतम गुणस्तर प्रतिवेदन पेस गर्नुपर्ने मापदण्ड पनि पेस गरिएको छैन,’ अस्पतालका एक कर्मचारी भन्छन्, ‘गुजेश्वरीले योग्यता नपुगे पनि सेटिङमा सम्झौता हात पारेको छ। खानेकुरा पनि महँगो र गुणस्तरहीन पायौँ, सरसफाइ समेत नभएको पाएपछि उजुरी परेको हो। क्यान्टिनले खानाखाजाको दररेट पनि अस्वाभाविक रूपमा बढी राखेको छ।’
Shares

प्रतिक्रिया