समाज


कक्षा १२ को नतिजा: कसैले पनि ल्याएनन् ४ जीपीए

एसईईमा थिए जीपीए ४ ल्याउने ७७४ विद्यार्थी
कक्षा १२ को नतिजा: कसैले पनि ल्याएनन् ४ जीपीए

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०८२ मंगलबार १३:२७, काठमाडौँ

यस वर्ष कक्षा १२ को परीक्षामा कसैले पनि जीपीए ४ ल्याउन नसकेका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।  बोर्डले यस वर्षको परीक्षाफल हिजो (सोमबार) सार्वजनिक गरेको थियो। 

राष्ट्रिय परीक्षा बोर्ड कक्षा- १२ का परीक्षा नियन्त्रक कृष्ण शर्माले यस वर्ष कुनै पनि विद्यार्थीको चार जीपीए नआएको जानकारी दिए। ‘यस वर्ष कसैले पनि फोर जीपीए ल्याएका छैनन्,’ शर्माले नेपालखबरसँग भने, ‘सबैभन्दा धेरै उत्कृष्ट गर्ने विद्यार्थीले जीपी ३.९६ सम्म मात्रै ल्याएका छन्।’ 

उनले ३.९६ जीपीए ल्याउने विद्यार्थी पनि धेरै नभएका बताए। 

गएको असारमा सार्वजनिक एसईईको नतिजमा सातसय ७४ विद्यार्थीले जीपीए ४ ल्याएका थिए। 

तर उत्तीर्ण प्रतिशतकाे आधारमा परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को यस वर्षको नतिजालाई पाँच वर्षयताकै उत्कृष्ट भनेको छ। 

परीक्षामा नियमिततर्फ ३ लाख ९६ हजार ३४७ जना सहभागी भएकोमा ६१ दशमलव १९ प्रतिशत अर्थात् २ लाख ४२ हजार ४६५ विद्यार्थी उत्तीर्ण भएका छन्। आंशिकतर्फ १ लाख १४ हजार ६४० जना विद्यार्थी सहभागी भएकोमा ३६ दशमलव १४ प्रतिशत अर्थात् ४१ हजार ८४० जना विद्यार्थी उत्तीर्ण भएका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। 

यस वर्ष परीक्षामा ५ लाख १० हजार ९८७ विद्यार्थी सहभागी भएका थिए। जसमध्ये २ लाख ८४ हजार ३०५ जना विद्यार्थी उत्तीर्ण भएका हुन्। 

नियमिततर्फ १ लाख ५३ हजार ८८२ जना र आंशिकतर्फ ७२ हजार ८०० विद्यार्थी ननग्रेड भएका बोर्डले जनाएको छ। 

बोर्डका अनुसार १३ हजार ५०२ विद्यार्थीले ३.६ देखि माथिको जीपीए ल्याएका छन्। 

नतिजा अनुसार २ दशमलव ८ देखि ३ दशमलव २ ल्याउने सबैभन्दा बढी विद्यार्थी छन्। यस वर्ष ९४ हजार २६८ जना विद्यार्थीले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याएका छन्। 

२.४ देखि २ दशमलव ८ प्रतिशत ल्याएर ६९ हजार ८ सय १२ जना उत्तीर्ण भएका छन्। ३.२ देखि ३.६ जीपीए ५५ हजार ८९६ जना विद्यार्थीले ल्याएका छन्। २.१ देखि २ .४ जीपीए ल्याउने विद्यार्थी संख्या ८ हजार ९६४ छन्। १.६ देखि २ जीपीए ल्याउने २३ जना विद्यार्थी छन्।

गत वर्ष ५२ प्रतिशत विद्यार्थी कक्षा १२ मा ग्रेडिङ भएका थिए। गत वर्ष ५२।९१ प्रतिशत उत्तीर्ण भएका थिए। यस वर्ष ९ अंकको सुधार आएर ६१ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad