आगामी भदौ ३ देखि हुने नाडा अटो शोमा यसपटक युनिट्री रोबोट र दिपल ईभीटीओएल यूएभीको झलक देख्न पाइने भएको छ।
आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले यसको जानकारी दिएको हो।
यी दुवै विशेष प्रविधि रहेको नाडाले जनाएको छ। जसअनुसार युनिट्री रोबोटमा स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरुप उन्नत चारपांग्रे रोबोटहरुका साथै भविष्यको सहरी हवाइ मोबिलिटीको पहिलो झलक देख्न पाइनेछ।
८ गतेसम्म चल्ने शो काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदै छ। यसको उद्घाटन उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले गर्नेछन्।
शोलाई नाडाले नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिविम्ब भनेको छ। ‘गो फर मोर’ भन्ने नारासहित हुने शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकीय तन्त्रलाई एकै छानामुनि ल्याउने नाडाले अपेक्षा गरेको छ।

शोमा १९ चारपांग्रे ब्रान्डको उपस्थिति रहनेछ भने १३ वटा हलुका व्यावसायिक सवारीसाधन ब्रान्ड पनि आउनेछन्। यसबाहेक ४ दुईपांग्रे ब्रान्ड, ३५ वटा ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरुलगायत कम्पनीहरु, १२५ भन्दा बढी प्रदर्शक र १ लाख बढीले अवलोकन गर्ने नाडाको अपेक्षा छ।
३ लाख वर्गफुट क्षेत्रफल र १ लाख ६२ हजार ५ सय वर्गफुट प्रदर्शनी क्षेत्रसहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुने नाडाले जनाएको छ।
यसका साझेदार संस्थाहरुमा एमएडब्लु वृद्धि (युनिट्री) शीर्ष प्रायोजक रहनेछ भने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सहप्रयोजन गर्नेछ।

पावर्डबाईमा क्याम्पाकोला, मोबिलिटी पार्टनरमा यांगो, एक्सक्लुसिभ टिकेटिङ पार्टनर खल्ती बाई आईएमई (भदौ २सम्म अग्रिम टिकटमा २० प्रतिशत क्यासब्याक) र अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्डलिंक रहनेछ।
त्यसैगरी सर्भिलियन्स पार्टनरमा सीसीटीभी नेपाल, फायर सेफ्टी पार्टनरमा हिमालयन सेफ्टी सोलुसन्स प्रालि, हस्पिटल पार्टनरमा किस्ट हस्पिटल, हस्पिटालिटी पार्टनरमा द प्लाजा रहेको छ।
यसबाहेक डोर प्राइज नेपाल ल्युब आयल लिमिटेड रहेको छ। यसले १२ विजेतालाई एक वर्षका लागि हरेक सर्भिसमा निःशुल्क ल्युब्रिकेन्ट उपलब्ध गराउनेछ।
यसको इभेन्ट म्यानेजमेन्ट ग्लोबल एक्सपोजिसन एन्ड मेनेजमेन्ट सर्भिस प्रालि रहेको छ।

नाडाले सुविधा र सुरक्षा सुनिश्चित गर्ने व्यवस्था समेत मिलाइसकेको जनाएको छ। यसअनुसार चारपांग्रे, दुईपांग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स, वित्तीय सेवाका लागि सुविधाजनक जोन विभाजन गरिएको छ। खल्ती एपमार्फत नै अग्रिम टिकट खरिद गर्न र प्रिबुकिङ गर्न सकिने व्यवस्था गरिएको छ। सञ्चारकर्मीहरुलाई समन्वयको लागि मिडिया डेस्क, महानगरीय ट्राफिक प्रहरी साझेदारीमा ट्राफिक सूचना डेस्क, आपत्कालीन स्वास्थ्य टोली, सुरक्षा निगरानी, आगो नियन्त्रणको व्यवस्था पनि गरिएको नाडाले उल्लेख गरेको छ।
यसपटकको शोमा विन्टेज मोटर शो विशेष आकर्षणको रुपमा रहनेछ। जसमा ऐतिहासिक सवारीको प्रदर्शन गरिनेछ। जसमा मोरिस माइनर, फियाट, पुज्यो, बिटल, मिनि कुपर, टोयोटा आरटी, मर्सिडिज बेन्ज, टोयोटा आरटी४०, फक्सवागन बस, टोयोटा कोरोला, माज्दा फेमिलिया र टोयोटा एमआर२ सहभागी हुनेछन्।

त्यसैगरी मेड इन नेपाल पेभिलियन राखिनेछ। जसमा नेपालमै बनेका सवारी र पार्टको प्रदर्शनी गरिनेछ। यसबाहेक इन्टरनेशनल बिजनेस पेभिलियन अर्को आकर्षण हुनेछ। जसमा अन्तर्राष्ट्रिय लगानी र सहकार्य प्रवद्र्धन गर्ने थलो रहनेछ। त्यसैगरी ईभी, स्मार्ट मोबिलिटी र दिगोपनमा केन्द्रित सेमिनार, कार्यशाला र अन्तर्क्रिया पनि गरिनेछन्। अर्को आकर्षणस्वरुप दैनिक भाग्यशाली विजेता घोषणा गरिनेछ।
नाडाले अटो शोको १६ संस्करणहरु पूरा गरिसकेको छ।
नाडा अध्यक्ष करण चौधरीले नाडाको ५० वर्ष सजिले नबितेको बताउँदै पूर्वजहरुले कोरेको खाकाबाटै यहाँसम्म आइपुगेको मंगलबार बताए।
उनले भने, 'अटाे माेबाइलकाे प्रयायवाची नाडा हाे। नाडा भनेकाे चाड हाे। प्रदर्शनी हैन। अटाे माेबाईल व्यवसायीकाे चाड हाे । नाडा शाेबाट माेबिलिटी भविष्य र टेक्नोलोजीकाे अनुभव गराउन चाहन्छु।'
टेक्नोलोजी, कल्चर र विजनेसलाई मिक्सड गरेर सवारी प्रदर्शनी देखाइने उनले बताए।
थप तस्बिरहरू











Shares

प्रतिक्रिया