समाज


यी हुन् कोरोना जाँचका दुई विधि, जसले दिन्छन् यसरी नतिजा

यी हुन् कोरोना जाँचका दुई विधि, जसले दिन्छन् यसरी नतिजा

डा.रुना झा
बैशाख ३, २०७७ बुधबार ४:५९,

पीसीआर परीक्षणअन्तर्गत बिरामीको नमुना (स्वाब)मा भाइरसको जेनेटिक मेटरियल अर्थात् जिनका टुक्रा छन् कि छैनन् भनेर हेरिन्छ। जिनका टुक्रा देखिए भने त्यस ठाउँमा भाइरस पनि बसेको छ भन्ने प्रमाणित हुन्छ।

यो परीक्षणबाट के थाहा हुन्छ भने नमुना लिएको बखत बिरामीमा भाइरस छ। यसरी एक जना संक्रमित भइसकेपछि त्यो भाइरस ती व्यक्तिको शरीरमा कतिसम्म रहन्छ, त्यो कुरा व्यक्तिपिच्छे फरक हुन्छ। त्यो व्यक्तिको रोगसँग लड्न क्षमतामा भर पर्छ। शरीरको प्रतिरक्षा प्रणाली बलियो भएका व्यक्तिको शरीरबाट भाइरस चाँडै हट्न सक्छ। कुनै कुनै व्यक्तिमा यो भाइरस ३ देखि ४ हप्तासम्म पनि रहन सक्छ।

तर यो पीसीआर परीक्षण भनेको अत्यन्तै जटिल परीक्षण हो। समय लाग्ने। प्रयोगशालाको व्यवस्थापन पनि विशेष खालको हुनुपर्छ। परीक्षण गर्ने व्यक्ति पनि विशेष तालिमप्राप्त विशेषज्ञ हुनुपर्ने हुन्छ। त्यसैले यो रोग (कोभिड-१९) आएदेखि नै, यो रोग त नयाँ खालको हो, वैज्ञानिकले यसको परीक्षण विधि अरू पनि केही हुन सक्छ कि भनेर लगातार अनुसन्धान गरिरहेका छन्। त्यही क्रममा, शरीरले भाइरसँग लड्ने जुन एन्टिबडी बनाउँछ त्यो एन्टिबडी पनि परीक्षण गरेर रोग पत्ता लगाउन सकिन्छ भन्ने नयाँ विधिको विकास भइरहेको छ।

कोरोना संक्रमण भएका व्यक्तिको शरीरले २ किसिमका एन्टिबडी निर्माण गर्छ। सुरुमा बन्नेलाई आईजीएम भनिन्छ भने दोस्रोमा निर्माण हुनेलाई आईजीजी भनिन्छ। आईजीएम, रोग लागिसकेपछि ३ देखि ५ दिनसम्म, यो पनि व्यक्तिपिच्छे फरक हुन्छ, सामान्यतया १ हप्तापछि शरीरमा एआईजीएम देखिन थाल्छ। र, यो (आईजीएम) दुई-तीन हप्ता शरीरमा रहन सक्छ। रोग लागेको २ हप्तापछि आईजीजी भन्ने एन्टिबडी बन्न थाल्छ। यो (आईजीजी) एन्टिबडी शरीरमा महिनौंसम्म रहन सक्छ। यही अनुभव हामीले अरू रोगबाट लिएका छौं।

भन्नुको मतलब सुरुमा रोग हुँदा परीक्षणमा भाइरस मात्र भेटिने भयो। ५ -७ दिन बितेपछि आईजीएम भन्ने एन्टिबडी भेटिने भयो। अझ २ हप्ता बितिसकेपछि आईजीजी एन्टिबडी भेटिने भयो। एक महिनापछि त भाइरस नेगेटिभ (नदेखिन) हुन सक्छ। आईजीएम पनि नेगेटिभ हुन सक्छ। तर आईजीजी धेरै लामो समयसम्म रहन सक्छ।

भन्नुको मतलब हामीले परीक्षण गर्दा सुरुका दिनमा पीसीआर परीक्षण गर्दाखेरि भाइरस पोजेटिभ आउन सक्छ। एन्टिबडी नेगेटिभ देखिन सक्छ। र, हप्ता दिनपछि दुवै पोजिटिभ आउने हुन सक्छ। त्यस्तै तीन-चार हप्ता बितिसकेपछि, भाइरस बिरामीको शरीरबाट हराइसकेपछि पीसीआर परीक्षणको नतिजा नेगेटिभ आउने तर एन्टिबडी परीक्षणचाहिँ पोजेटिभ आउने हुन सक्छ।

त्यसैले अहिले प्रश्न/जिज्ञासा आइरहेका छन्- पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो,  र्‍यापिड (कीट) टेस्टबाट नेगेटिभ आयो, त्यो यही कारण हो।

अहिले एन्टिबडी परीक्षण गर्ने विभिन्न विधि विकास भइरहेका छन्। यो आफैंमा नयाँ प्रविधिचाहिँ होइन। हामीले अन्य भाइरसबाट हुने रोग जस्तैः डेंगु, एचआईभी, हेपाटाइटिस, सबैको परीक्षण एन्टिबडी माध्यमबाटै गरिरहेका छौं।

एन्टिबडीका विभिन्न विधिमध्ये एउटा हो– एलाइजा। यो धेरै प्रयोगशालमा प्रयोग गरिने विधि हो। त्यस्तै अर्काे हो- र्‍यापिड टेस्ट। यो परीक्षण ल्याबभित्रै बसेर गर्नुपर्ने हुन्छ। तर एलाइजा गर्ने मसिन चाहिनछ। चलाउन दक्ष जनशक्ति चाहिन्छ। त्यो पनि एउटा/दुइटा परीक्षण गर्दा गाह्रो हुन्छ। ५-६ घण्टा लाग्छ। त्यही भएर हामी धेरै नमुना संकलन गरिसकेपछि एकैचोटि समूहमा परीक्षण गर्छाैं।

केही कम्पनीले कोभिड-१९ परीक्षणका लागि पनि एलाइजा प्रविधि विकास गरिसकेका छन्। एन्टिबडी परीक्षणको अर्काे सजिलो विधि भनेको र्‍यापिड कीट हो, जुन हाल हामीले पनि भित्र्याएका छौं। यो अन्य देश जस्तैः अमेरिका, युरोपियन युनियनले पनि यो विधि अपनाइसकेका छन्। अस्ट्रेलियाले पनि सुरु गरिसकेको छ। भारतले पनि हालसालै लक्षण भएका बिरामीलाई पनि र्‍यापिड कीटबाट परीक्षण गर्ने प्रविधि समावेश गरिसकेको छ।

र्‍यापिड कीटको एउटा सहज पक्ष के हो भने यसका लागि धेरै विज्ञता चाहिँदैन, प्रयोगशाला पनि आवश्यक पर्दैन, फिल्डमै गर्न सकिन्छ। यो परीक्षण गर्ने प्राविधिकलाई थोरै तालिम दिए पर्याप्त हुन्छ। नतिजा पनि १५ मिनेटमै आउँछ। अर्काे कुरा कुनै पनि परीक्षण प्रणाली आफैंमा पूर्ण हुँदैन। बिरामीको अवस्था, अन्य परीक्षणको नतिजा आदि पनि हेरेर रोग पहिचानको टुंगोमा पुग्नुपर्ने हुन्छ।

विभिन्न देशले कोरोनाको पीसीआर परीक्षण गर्ने आआफ्नै मापदण्ड तोकेका छन्। नेपालले पनि आफ्नो किसिमको मापदण्ड तोकेको छ। कुनै पनि देशले सबै बिरामीको परीक्षण पीसीआरबाटै गर्ने नीति लिएका छैनन्। जुन बिरामीलाई पीसीआर परीक्षणको आवश्यकता छैन, तिनलाई अरू नै खालका परीक्षण विधि अपनाउन सकियो भने धेरैभन्दा धेरैलाई परीक्षण गर्न सकिन्छ। पीसीआर विधिको मात्रै भरपर्दा धेरै बिरामी छुट्न सक्छन्। अन्य वैकल्पिक विधि अपनाइयो भने सकेसम्म कुनै पनि सम्भावित संक्रमित छुट्दैनन्। यसो भयो भने संक्रमण नियन्त्रण गर्न ठूलो मद्दत पुग्छ।

एन्टिबडी परीक्षणको अर्काे फाइदा भनेको निको भइसकेका कतिपय बिरामीको नमुना पीसीआर विधिबाट गरियो भने नतिजा नेगेटिभ देखाउँछ। तर जसलाई पहिले संक्रमण भएकोे थियो र जसको पीसीआर परीक्षण हुन पाएको थिएन, लक्षण देखिएन, त्यस्ता व्यक्तिलाई परीक्षण गर्न बाँकी बस्ने विधि भनेको एन्टिबडी परीक्षण मात्रै हो। एन्टिबडी परीक्षण गरेर हाम्रो समुदायमा कति व्यक्ति, कुन चरणसम्म कोरोना संक्रमित भएछन् भन्ने बुझ्न पनि यो परीक्षणले सघाउ पुर्‍याउँछ।

पीसीआरभन्दा पनि माथिका केही परीक्षण छन्। पीसीआरमा हामी भाइरसका दुइटा या तीनवटा जिन हेर्ने कोसिस गर्छाै भने योभन्दा माथि भनेको ‘जिन सिक्वेन्सी’, जसले भाइरसको पूराका पूरा जिन परीक्षण गर्छ। र, अर्काे विधि हो- भाइरस कल्चर, जसले बिरामीको नमुनाबाट सीधै भाइरस निकाल्छ। तर यो विधि कोरोना परीक्षणका लागि हामीले अपनाएको विधि होइन।

प्रयोगशालामा नमुना परीक्षणका साथसाथै बिरामीको हिस्ट्री अर्थात् पृष्ठभूमि जस्तैः ट्राभल हिस्ट्री (यात्रा विवरण), ज्वरो छ कि छैन, खोकी छ कि छैन, सास फेर्न समस्या छ कि छैन, जसलाई चिकित्सकीय भाषामा हिस्ट्री भन्छौं। त्यसपछि उसको सीटी स्क्यानको नतिजा, पीसीआरको नजिता आदि पनि हेर्छाैं। र, ती सबैको विश्लेषण गरेपछि हामी रोग पहिचानको नजिक पुग्न सक्छौं।

प्रयोगशालामा धेरै आउने अर्काे प्रश्न हो- पीसीआर परीक्षणको नतिजा कति समयमा आउँछ? मैले सुरुमै भनें कि यो लामो र जटिल प्रक्रिया हो। हामीकहाँ २४, ४८ तथा ९६ घण्टामा नतिजा निकाल्न सक्ने क्षमताका उपकरण छन्। एउटा नमुना परीक्षण गर्दा पनि त्यो सबै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। त्यसैले हामी सकेसम्म एकैपटकमा धेरैभन्दा धेरै नमुना परीक्षण गरौं भन्ने प्रयासमा हुन्छौं। त्यसो गर्न सकियो भने निश्चित समयमा धेरैभन्दा धेरै नजिता दिन सकिन्छ। त्यही भएर हामी सकेसम्म नमुनाको व्याच (समूह) बनाउन खोज्छौं– १२, ४८ जति सकिन्छ बढी।

तर समय अलि धेरै लाग्यो, २-३ घण्टै बित्न थाल्यो भने आवश्यकता र गम्भीरता हेरेर एक/दुईवटा मात्रै नुमना छन् भने पनि प्रक्रियामा पठाउँछौं। कुनै बिरामी गम्भीर अवस्थामा छ, चाँडै नतिजा दिनुपर्ने अवस्था छ भने उसको नमुना तुरुन्तै परीक्षण पनि गर्नुपर्ने हुन्छ भने कुनै बिरामीको अवस्थामा सामान्य छ, अस्पताल वा होम क्वारेन्टिनमा छ भने उसको नमुना परीक्षणको पालो अलि पछि सार्दा पनि भयो।

सामान्यता पीसीआर परीक्षणको नतिजा ६ घण्टामा आउँछ। तर प्रविधि हो, कहिले बिग्रिन सक्छ, नजिता नआउन सक्छ, भाइरसको एउटा मात्रै जिन देखिन सक्छ। त्यसकारण परीक्षण फेरि दोहोर्‍याउनुपर्ने हुन सक्छ। त्यसैले हामी २४ देखि ७२ घण्टासम्मको समय माग्छौं/लिन्छौं। यसैकारण कुनै नमुना परीक्षणको नतिजा यति समयमा आउँछ भनेर ठ्याक्कै तोक्न गाह्रो हुन्छ।

हामीलाई धेरै फोन आउने अर्काे प्रश्न हो– फलानो बिरामीको नजिता कहिले आउँछ? यसमा मेरो विनम्र अनुरोध के छ भने कुनै पनि ठाउँबाट नमुना आएपछि त्यसलाई हामी नम्बर दिन्छौं। जबसम्म त्यसको नतिजा आउँदैन, तबसम्म त्यो एउटा नम्बरका रुपमा मात्रै हामी चिन्छौं। नतिजा दर्ता गर्ने बेला मात्र नाम, उमेर उल्लेख गर्छाैं, ठेगाना पनि हुँदैन।

(काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले मंगलबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा गराएको जानकारी सम्पादन गरी प्रकाशन गरिएको हो।)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad