रक्षा नेपालले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाका ९ र १० नम्बर वडाका रक्षा उज्वल किशोरी समूह अन्तर्गतका १७ जना किशोरीहरूलाई छात्रवृत्ति वितरण गरेको छ।
विगत ८ वर्षदेखि सिन्धुपाल्चोकमा सक्रिय रक्षा नेपालले किशोरीहरूलाई लक्षित गर्दै क्षमता विकास, विभिन्न सीप, व्यक्तित्व विकास र शैक्षिक सहयोगका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।
कार्यक्रमका अवसरमा रक्षा नेपालकी कार्यक्रम व्यवस्थापक दुर्गा पाण्डेले विगतका प्रयासहरूमार्फत किशोरीहरूमा सकारात्मक परिवर्तन आएको बताउँदै भनिन्, ‘हामीले सशक्त किशोरी नै सुरक्षित समाज निर्माणको आधार हो भन्ने विश्वासका साथ कार्यक्रम अघि बढाएका हौं।’

कार्यक्रममा मेलम्ची नगरपालिका-१० का वडा अध्यक्ष अमृत खनालले रक्षा नेपालले किशोरीहरूमा ल्याएको परिवर्तनलाई ‘अतुलनीय योगदान’ का रूपमा व्याख्या गरे। उनले भने, ‘वडाले गर्न नसकेको काम रक्षा नेपालले किशोरी समूहमार्फत गरिरहेको छ। अतिरिक्त गतिविधि र सीपमूलक तालिमले किशोरीहरूको जीवनमा नयाँ चमक छरेको छ।’
कार्यक्रममा रक्षा नेपाल आवास गृह व्यवस्थापक गोमा थापाले किशोरीहरूलाई आफ्नो व्यक्तित्व विकास र सीपमा ध्यान दिन प्रेरित गर्दै भनिन्, ‘हामी सीप सिक्न चाहने सबै किशोरीहरूलाई निशुल्क तालिम तथा आवश्यक सहयोग प्रदान गर्दै आएका छौं।’
त्यस्तै रक्षा नेपालकी सिन्धुपाल्चोक जिल्ला संयोजक सुष्मिता सुनारले रक्षा नेपालले आफ्नो अन्धकारमय जीवनलाई उज्यालो बनाएकोमा निकै खुशी व्यक्त गरिन्।
मेलम्ची नगरपालिका १० नम्बर वडाकी रक्षा उज्वल किशोरी समूहकी कृष्टिना अधिकारीले तीन वर्षअघिको आफ्नो संकोची जीवनदेखि आजको आत्मविश्वासी व्यक्तित्वसम्मको यात्राबारे सेयर गर्दै रक्षा नेपालमा आबद्धताले आफ्नो जीवन परिवर्तन गरेको अनुभव सुनाइन्।
विगत २२ वर्षदेखि यौनजन्य हिंसा, बलात्कार, बाध्यात्मक देहव्यापार, आन्तरिक बेचबिखन तथा बालविवाह अन्त्यका लागि कार्यरत मानवीय संस्था रक्षा नेपालले स्थानीय सरकारसँग सहकार्य गर्दै सञ्चालन गरिरहेको ‘किशोरी सशक्तीकरण कार्यक्रम’ मार्फत धेरै किशोरीहरूको जीवनमा सकारात्मक प्रभाव पारेको बताइएको छ।
यस कार्यक्रमले नेपाल सरकारद्वारा घोषित ‘महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध शून्य सहनशीलता’ नीतिलाई सघाउने उद्देश्य राखेको छ।
किशोरीहरूमा आत्मविश्वास, निर्णय क्षमता र भविष्यप्रतिको दृष्टिकोण निर्माण गर्दै आएको यो कार्यक्रमले आगामी दिनमा थप प्रभावकारी रूपमा विस्तार हुने अपेक्षा गरिएको छ।
(सिन्धुपाल्चोकको मेलम्चीबाट सुवास शर्माले तयार पारेको समाचार)
Shares

प्रतिक्रिया