समाज


कान्तिमा डाक्टरलाई पदभन्दा माथिको काम लगाइँदै, कामअनुसारको जिम्मेवारी दिन माग

कर्मचारी भन्छन् : भद्रगोलको अर्को नाम हो कान्ति
कान्तिमा डाक्टरलाई पदभन्दा माथिको काम लगाइँदै, कामअनुसारको जिम्मेवारी दिन माग

प्रज्ञा तिम्सिना
साउन १६, २०८२ शुक्रबार २०:५९, काठमाडौँ

देशको एक मात्र संघीय बाल अस्पताल कान्ति बाल अस्पतालका चिकित्सकहरूले प्रशासनसँग विशेषज्ञता अनुसारको जिम्मेवारी तोक्न माग गरेका छन्। आफूहरूलाई विशेषज्ञता अनुसारको जिम्मेवारी नदिइएको तर सेवा भने गर्न लगाइएको उनीहरूको गुनासो छ।

जिम्मेवारीबिना नै विशेषज्ञ ओपीडी सेवा सञ्चालन गर्न लगाइएको भन्दै ८ औँ देखि ११ तहसम्मको दरबन्दीमा रहेका चिकित्सकले विरोध जनाएका छन्। अस्पताल विकास समिति मार्फत दक्षता अनुसारको जिम्मेवारी नदिए  सेवा बन्द गर्ने चेतावनी समेत दिएका छन्।  

चिकित्सकहरूले प्रशासनमा पत्र बुझाउँदै आफूहरूको विशेषज्ञता अनुसारको जिम्मेवारी नतोक्ने हो भने विशेषज्ञ ओपीडी चलाउन नसक्ने चेतावनी दिएका छन्। 

अस्पतालका उपसचिव रामबन्धु शर्मा चिकित्सकहरूले आफूहरूले गरिरहेको काम अनुसारको जिम्मेवारी तोक्न माग राखेको बताउँछन्। 

‘जिम्मेवारी तोक्न माग राखेर सबै चिकित्सकहरूले पत्र बुझाउनु भएको छ, यो विषयमा के गर्ने भनेर स्वास्थ्य मन्त्रालयसँग छलफल गर्छौं,’ उनले भने।

दरबन्दीबिना विशेषज्ञ ओपीडी सञ्चालनमा 
कान्ति बाल अस्पतालले चिकित्सकको दरबन्दीबिना नै  विशेषज्ञ  ओपीडी कक्ष सञ्चालन गर्दै आएको पाइएको छ। अस्पतालले प्रत्येक दिन क्यान्सर, मुटुरोग, मिर्गौला, न्युरोलोजी, ग्यास्ट्रोलोजी, हाडजोर्नी, युरोलोजी, दम/पल्मोनोलोजी, मनरोग सेवा सम्बन्धी ओपीडी सञ्चालन गर्छ। 

एक चिकित्कले भने, ‘विशेषज्ञ ओपीडी चलाउन नियोनेटोलोजीको मात्र दरबन्दी तोकिएको छ। बाँकीमा  दरबन्दीबिना नै अस्पतालले विशेषज्ञ ओपीडी सञ्चालन गरिरहेको छ।’ 

कान्ति बाल अस्पतालमा दैनिक १ हजार बालबालिका उपचारका लागि आउँछन्।  

चिकित्सकका अनुसार अस्पताल धेरै चिकित्सकले विशेषज्ञता हासिल गरेका छन्। तर, विशेषज्ञता अनुसार पद र जिम्मेवारी नतोकी उनीहरूलाई काममा लगाइएको छ।

‘हप्ताको सातै दिन विशिष्टीकृत सेवाका लागि ओपीडी सञ्चालन भइरहेको छ, हामीले आफनो दक्षता अनुसार सेवा प्रदान गरिरहेका छौँ,’ ती चिकित्सक भन्छन्, ‘८ औँदेखि ११ औँ तहका सबै बाल रोग विशेषज्ञ दरबन्दीमा नै विशिष्टीकृत सेवा दिइरहेका छौँ। ८ औँ तहमा रहेका मेडिकल अधिकृत चिकित्सकलाई मुटु, मिर्गौला, नसारोगको ओपीडी लिन लगाइएको छ, हामीले सो विषयमा विशेषज्ञता लिएर पनि आएका छौँ, तर हाम्रो जिम्मेवारी हाम्रो विशेषज्ञता अनुसार तोकिएको छैन। जिम्मेवारी नतोकिँदा हामीले अवैध रूपमा पो बिरामी हेरेरहेका छौँ कि भन्ने लाग्न थाल्यो।’

उनीहरूको प्रश्न छ, ‘जिम्मेवारी नतोकी सेवा दिँदा बिरामीमाथि पो हामीले अन्याय गरेका छौँ कि? पछि बिरामीलाई केही भयो भने त्यसको जिम्मेवारी कसले लिने? तपाईंको अस्पतालमा कुन तहको भनेर बिरामीले सोध्यो भने हामीले के जवाफ दिने?’

एकजना चिकित्सक सुनाउँछन्, ‘मैलै पीआईसीयूमा बिरामी हेर्दै आएको छु, लामो अनुभवको आधारमा पनि मैले बिरामी हेर्दै छु, एक दिन बिरामीको आफन्त आएर सोध्नु भयो– तपाईं पीआईसीयूमा हेर्ने चिकित्सक हो? अब बिरामी आफैँ जागरुग हुन थालिसके। मेरो बच्चालाई हेर्ने चिकित्सक सो रोग सम्बन्धी चिकित्सक हो कि होइन भनेर सोध्न थालिन्छ।’

केही चिकित्सकहरूले पछि थप विषयमा विशेषज्ञता हासिल गरे आएका छन्।

‘उनीहरूलाई पुरानै पदमा राखिएको छ, तर विशेषज्ञता अनुसार बिरामी हेर्न लगाइन्छ,’ ती चिकित्सक भन्छन्, ‘तिम्रो जिम्मेवारी यो हो भनेर अस्पताल प्रशासनले नतोकी सेवा गर्न लगाइरहेका छन्। त्यो त अवैध भयो।’

स्वास्थ्य मन्त्रालयले आवश्यकता अनुसार चिकित्सकको दरबन्दी खुलाउँदैन, नयाँ बनेको ‘ओएन्डएम’ सर्वेमा यो दरबन्दी माग गर्दा पनि थप गरिएको छैन। सरकारले बढाउन लागेको २१ दरबन्दीमा कान्तिको विशिष्टीकृत चिकित्सक राख्ने दरबन्दी नै छैन। 

अस्पताल समितिबाट भए पनि जिम्मेवारी तोक्न चिकित्सकहरू आग्रह गर्छन्।
 
‘मन्त्रालयले अहिले नसके पनि विकास समितिबाट भए पनि तिमीहरूले यो पढेर आएको रहेछौ, ल यो जिम्मेवारी लिनु भनेर दिनुपर्‍यो। त्यसका लागि हामी थप पारिश्रमिक पनि मागेका छैनौँ,’ अर्का एक चिकित्सकले भने, ‘पद एउटा छ, सेवा अर्को दिनु परेको छ। हामीले दिएको सेवा अवैध भयो। यदि बिरामीलाई तलमाथि केही भयो भने पछि यो उपभोक्ता अदालतसम्म पुग्यो भने के गर्ने?’

अस्पतालले विशिष्टीकृत सेवा दिन भनेर लेखेर नदिएपछि त्यस्तो सेवा सञ्चालन गर्न डर भएको उनीहरूको भनाइ छ।

‘अस्पतालले विशेषज्ञता अनुसार जिम्मेवारी तोकिदिएको भए त डाक्टरले आफनो विशेषज्ञता अनुसार मात्र बिरामी हेर्न पाउने थिए। बिरामीलाई पनि  राम्रो सेवा दिन सकिन्थ्यो,’ उनी भन्छन्।

सूचना अधिकारी रमेश नरसिंह केसी नेपाल सरकारले पठाएको दरबन्दीलाई अस्पतालको चाहाना अनुसार गर्न नमिल्ने बताउँछन्। 

‘नेपाल सरकारले नतोकेपछि हामीले कसरी दिने, अस्पताल विकास समितिले तोकेर पद दिन मिल्दैन,’ उनले भने, ‘विकास समितिबाट चिकित्सकहरूले मागे अनुसारको पद दिन सकिँदैन। उपभोक्ता अदालतले धमाधम चिकित्सकलाई जरिवाना तिराउन थालेपछि उहाँहरू डराउनु भएको हो, तर नेपाल सरकारले नै नतोकेको दरबन्दी अस्पतालले आफैँ तोक्न मिल्दैन।’

अस्पतालले गत चैत्र २८ गते देखि हेमोडायलासिस सेवा सुरु गर्‍यो। मिर्गौलामा समस्या भएर अस्पताल ल्याइएका बालबालिकालाई गर्न थालिएको हेमोडायलासिस पनि दरबन्दीबिनै सुरु गरिएको हो। 

आठौँ तहको मेडिकल अधिकृतबाट डायलासिस सेवा सुरु गरिएको छ। बाल मिर्गौलारोग विशेषज्ञबिनै डायलासिस सेवा सञ्चालन भइरहेको छ। त्यति मात्र होइन, पेडियाट्रिक एन्डोक्राइनोलोजिस्टबिनै एन्डोक्राइन ओपीडी, पेडियाट्रिक ग्यास्ट्रोइन्टेरोलोजिस्टबिनै इन्डोस्कोपी र पेडियाट्रिक पल्मोनोलोजिस्टबिनै ब्रोंकोस्कोपी सेवा सञ्चालनमा छ।

देशभरका बिरामी आउने अस्पतालमा स्वास्थ्य मन्त्रालयले जम्मा एउटा डायलासिस मेसिन दिएको छ। डायलासिस गराउन आवश्यक पर्ने धेरै बालबालिका सेवा नपाएर फर्किनु परेको चिकित्सक बताउँछन्। 

‘दैनिक १ हजार बढी बालबालिका आउने अस्पतालमा एउटा मात्र डायलासिस मेसिन दिएर मन्त्रालयले कान्तिमा डायलासिस सेवा सुरु भनेर प्रचार गर्‍यो,’ चिकित्सक भन्छन्, ‘डायालासिस चाहिने बालबालिका धेरै छन्, एउटा मात्र मेसिन छ, त्यो पनि पीआईसीयूभित्र। उनीहरूलाई सधैँ पीआईसीयूमा राखेर गराउन पनि मिलेन।’

‘अस्पतालमा एकजना बालकको  एक महिनासम्म डायलासिस गराइएको थियो। पछि ती बालक भारतमा उपचारका लागि गएका थिए। भारतमा कान्तिको चिकित्सकले गरेको उपचार ठीक छ तिमी त्यहीँ गएर उपचार गर भनेर पठाइदियो। तर, उनले फर्केर आउँदा कान्तिमा ठाउँ पाएनन्। उनी हाल निजी अस्पतालमा डायलासिस गराइरहेको छन्,’ ती चिकित्सक सुनाउँछन्। 

तर, सूचना अधिकार केसी डायलासिस गर्न कान्तिमा धेरै बालबालिका नआउने हुनाले एउटै मेसिनले पुग्ने दाबी गर्छन्।

त्यस्तै अस्पतालमा बच्चाको मुटुरोग हेर्ने विशेषज्ञ त छन् तर इकोकार्डियोग्राम गर्ने मेसिन भने छैन।

कान्तिका एक कर्मचारी भन्छन्, ‘भन्द्रगोलको अर्को नाम हो कान्ति अस्पताल।  भएका चिकित्सकलाई पनि दक्षता अनुसार राख्न सकेको छैन।’

कति छ दरबन्दी?
कान्ति बाल अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक छैनन्। मेडिकल अधिकृत आठौँ तहमा १०४ जनाको दरबन्दीमा ६१ जना मात्र कार्यरत छन्। स्थायीमा दरबन्दी ३९ भए पनि २४ जना मात्र कार्यरत छन् भने विकास समितिले राखेको २४ दरबन्दीमा ३ जना मात्र चिकित्सक कार्यरत छन्। 

आईसीयू कक्ष चलाउने करारमा ३० जनाको दरबन्दीमा १२ जना कार्यरत छन्। मनोरोग हेर्ने करारमा ११ जनाको दरबन्दी छ। जसमा ८ जना चिकित्सक कार्यरत छन्। 

अस्पतालमा अल्ट्रासाउन्ड, भिडिओ एक्सरे, सीटी र एमआरआई गर्ने ४ जना मात्र  रेडियोलोजिस्ट छन्।  

११ औँ तहमा १ जना प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट छन् भने १० औँ तहमा २ जना छन्। ११ औँ तहका प्रमुख कन्सल्टेन्ट पेडियाट्रिक ५ जना छन्। १० औँ तहमा ८ जना छन्। 

११ औँ तहका २ जना पेडियाट्रिक सर्जन छन् भने १० औँ तहका ३ जना छन्। 

१० औँ तहका २ जना मात्र प्याथोलोजिस्ट छन्। १० औँ तहका १ जना मात्र दन्त चिकित्सक छन्। शिशुलाई हेर्ने निओनेटोलोजिस्ट १ जना मात्र छन्। नाक, कान, घाँटी रोग शल्यचिकित्सक १ जना मात्र छन्। क्यान्सर रोग विशेषज्ञको एउटा मात्र दरबन्दी छ, जुन रिक्त छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad