ad ad

समाज


सनसिटीका संक्रमितसँगै चैत ४ मा दोहाबाट आएका थिए १५३ जना, खोजी गर्दै प्रहरी

सनसिटीका संक्रमितसँगै चैत ४ मा दोहाबाट आएका थिए १५३ जना, खोजी गर्दै प्रहरी

उजिर कार्की
बैशाख २, २०७७ मंगलबार १०:३४,

मंगलबार कोरोना पुष्टि भएका आमा छोरासँगै दोहाबाट कतार एयरवेजमा १ सय ५३ जना आएको पाइएको छ। उनीहरु बेलायतबाट दोहा ट्रान्जिट भएर काठमाडौं आएका थिए।

कतारको दोहाबाट क्यूआर ६४४ विमानमार्फत मार्च १७ अर्थात् चैत ४ गते उनीहरु नेपाल आएको विमानस्थलले प्रहरीलाई जानकारी गराएको छ।

उनीहरुसँगै नेपाल फर्किएका १ सय ५३ यात्रुको मंगलबारबाट खोजी सुरु गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले बताए।

 विमानस्थलले यात्रुका व्यक्तिगत विवरण प्रहरीलाई मंगलबार नै उपलब्ध गराइसकेको छ। दोहाबाट मार्च १७ मा उक्त विमान मार्फत आएका यात्रुलाई सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ। यसअघि नेपाल प्रहरीले ५ वटा विमानका यात्रु खोजी गरेको थियो।

छोराबुहारी भेट्न बेलायत गएका उनीहरु करिब एक महिना बेलायतमा बसेर फर्किएका थिए। बेलायतमा संक्रमण बढ्दै गएपछि योजना भन्दा छिट्टै फर्किएको उनीहरुका आफन्तले बताएका छन्।

उनीहरु जानुभन्दा केही दिन पहिले बेलायत बस्ने छोरा बुहारी नातिको पास्नी गरेर काठमाडौंबाट फर्किएका थिए। काठमाडौं फर्किएपछि काँडाघारीको सनसिटी अपार्टमेन्टमा बसेका उनीहरुको घरमा दुई जना कामदार छन्। उनीहरुको पनि कोरोना परीक्षणको तयारी भइरहेको छ।

यसअघि बेलायतबाट फर्किएका तीनै जनाको कोरोना परीक्षण गरिएकोमा आमा छोराको मात्रै कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुहारीमा भने कोरोना संक्रमण देखिएको छैन।

सनसिटी अपार्टमेन्टमा रहेका सबैको विवरण संकलन गरेर कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ।

याे पनि: 
सनसिटीमा बस्ने दुई जनामा कोरोना संक्रमण, एक जनामा देखिएनः स्वास्थ्य मन्त्रालय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .