समाजवादी मोर्चाले यथास्थितिवादी र प्रतिगमनकारी षड्यन्त्रहरुलाई असफल बनाउन मोर्चा सफल भएको निष्कर्ष निकालेको छ।
मंगलबार आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निष्कर्ष निकालेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए। बैठकले समग्रमा मोर्चा सफल भएपनि जनता र पार्टी कार्यकर्ताको अपेक्षा पूरा गर्ने कुरामा कमजोरी देखा परेको निष्कर्ष निकोलेको विश्वकर्माले जानकारी दिए।
उनले दलका नेताहरूको व्यस्तताका कारण मोर्चाले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै अगामी दिनमा यस्ता कुराहरु सुधार्ने विषयमा पनि छलफल भएको बताए।
उनले भने, ‘यथास्थितिवादी या प्रतिगमनकारी षड्यन्त्रहरुलाई समाजवादी मोर्चाले असफल बनायो भन्दा पनि हुन्छ। अहिले त्यसलाई रक्षात्मक स्थितिमा पुर्याएको छ। यो यसको सकारात्मक पक्ष हो। त्यसकारण मोर्चा यो बीचमा मूलभूत रुपमा सफल रह्यो भन्ने हाम्रो निष्कर्ष छ। जहाँसम्म यसका केही समस्याहरु रहेका छन्। मोर्चाले जुन ढंगले गति लिनुपर्थ्यो जनता र मोर्चामा रहेका कार्यकर्ताको जुन अपेक्षा तथा नेपालको राजनीतिका इमानदार नेता र कार्यकर्ताको अपेक्षा जुन थियो। त्यो ढंगले अगाडि बढ्ने कुरामा केही समस्याहरु रहे।’
उनले वर्तमान व्यवस्थाको सुदृढिकरणतर्फ लैजाने कुरामा मोर्चालाई प्रभावकारी बनाएर अगाडि बढ्ने सहमति भएको पनि बताए।
Shares

प्रतिक्रिया