समाज


सीटीईभीटीले ४८० विद्यार्थीलाई निःशुल्क पढाउने, छात्रावास र वार्षिक ४६ हजार रूपैयाँ खर्च पनि दिने

सीटीईभीटीले ४८० विद्यार्थीलाई निःशुल्क पढाउने, छात्रावास र वार्षिक ४६ हजार रूपैयाँ खर्च पनि दिने

आयुषा ढकाल
साउन ११, २०८२ आइतबार १३:२९, काठमाडौँ

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विभिन्न क्षेत्र र समुदाय विशेषका ४८० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढाउने भएको छ।

यस छात्रवृत्तिमा विद्यार्थीले शुल्क त तिर्नुपर्ने छैन नै, उल्टै वर्षमा ४६ हजार रूपैयाँ खर्च पनि पाउनेछन्। छात्रावासको व्यवस्थासमेत सीटीईभीटीले नै गरिदिनेछ।

सीटीईभीटीले प्राविधिक शिक्षाको पहुँच नपुगेका ७८ स्थानीय तह, दलित, मुस्लिम, विपन्‍न र सीमान्तकृत समुदायका विद्यार्थीलाई लक्षित गरी यस छात्रवृत्तिका लागि आवेदन खुलाएको छ। आवेदन दिन पनि पैसा लाग्दैन।

सूचना अधिकारी एकराज अधिकारीका अनुसार यस प्राविधिक शिक्षामा २२ वटा जातजातिका ३६० जना र ७८ वटा स्थानीय तहका १२० जना विद्यार्थीले पूर्ण छात्रवृत्ति प्राप्‍त गर्नेछन्। 

जातजातिका लागि तोकिएको ३६० जनाको कोटामा दलित १११, मुस्लिम ४६, विपन्‍न १६७ र सीमान्तकृत ३६ जनाले छात्रवृत्ति पाउनेछन्।

२२ जातजातिको लागि प्राविधिक शिक्षा भनेर आवेदन खुल्न थालेको ७ वर्ष भइसकेको छ। प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहका विद्यार्थीका लागि आवेदन खुल्न थालेकोचाहिँ ३ वर्ष भयो।

छात्रवृत्तिमा १८ महिनाको प्रि-डिप्लोमा र ३ वर्षको डिप्लोमा कोर्सका कार्यक्रम समावेश छन्।

प्रि-डिप्लोमाको १८ महिने कोर्स एसईईमा नन् ग्रेडेड विद्यार्थीले पनि पढ्न पाउँछन्।

गत वर्षसम्म परीक्षा दिएर मात्र छात्रवृत्तिको लागि विद्यार्थी छनोट गरिन्थ्यो भने यसपालि विद्यार्थीले घरमै बसेर अनलाइनबाट छात्रवृत्तिको लागि आवेदन भरेपछि पुग्छ।

आवेदकले आफूले एसईई\एसएलसीमा ल्याएको अंक राख्‍नुपर्ने हुन्छ। मुख्यतः यसकै आधारमा विद्यार्थी छनोट हुन्छन्।

यसमा तोकिएका मापदण्‍डभित्रका व्यक्ति निजी वा सरकारी कुनै पनि विद्यालयका विद्यार्थी भए पनि आवेदन भर्न सक्छन्।

आवेदन फारम आइतबारबाट खुलिसकेको छ।

यी कार्यक्रम नेपालका ६ वटा कलेजमा सञ्चालनमा छन्। इलामको रत्‍न कुमारी बान्तवा बहुप्राविधिक शिक्षालय पर्दछ। यस शिक्षालयमा प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) कार्यक्रममा अध्यापन गराइन्छ।

महोत्तरीको निर्मल लामा बहुप्राविधिक शिक्षालयमा प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी अध्ययन गराइन्छ।

माडी चितवनको दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय, दाङको सहिद कृष्‍णसेन इच्छुक बहुप्राविधिक शिक्षालय, जुम्लाको कर्णाली प्राविधिक शिक्षालय र दीपायल डोटीको सेती प्राविधिक शिक्षालयमा पनि प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) पढाइन्छ।

यीबाहेकका अन्य कार्यक्रम भने परिषद्को प्राविधिक महाशाखाले शिक्षालय तोकेर भर्नाका लागि कलेजमा सिफारिस पठाउने गर्छ।

कुन कार्यक्रम कति छात्रवृत्ति?
३ वर्षे डिप्लोमा, कुल छात्रवृत्ति संख्या ४३०
३ वर्षे डिप्लोमातर्फ तोकिएका स्थानीय तहबाट १०६ जनाले छात्रवृत्ति पाउँछन्। यो कोटा प्राविधिक शिक्षा नपुगेका स्थानीय तहका विद्यार्थीको लागि छुट्याइएको हो।

प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) को लागि कोसीमा १४, मधेसमा ११, बागमतीमा ६, गण्‍डकीमा ८, लुम्बिनीमा ३, कर्णालीमा ४ र सुदूरपश्चिममा २ जना गरी ४८ जनाका लागि कोटा छात्रवृत्तिका लागि छुट्याइएको छ।

प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजीको लागि कोसीमा २, मधेस, बागमती, गण्‍डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा १-१ जना गरी जम्मा ८ जनाको कोटा छुट्याइएको छ।

होटल म्यानेजमेन्टतर्फ कोसीमा ३, मधेसमा २, बागमती, गण्‍डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा १-१ जना गरी समग्रमा १० जनाले यस खालको पूर्ण छात्रवृत्तिमा पढ्न पाउनेछन्।

डिप्लोमा इन एग्रिकल्चरअन्तर्गत प्लान्ट साइन्स र एनिमल साइन्स गरी २ वटा कार्यक्रम छन्। ती प्रत्येक कार्यक्रममा कोसी प्रदेशबाट ३, मधेसका २, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका १-१ जना गरी जम्मा १० जनाले छात्रवृत्ति पाउने तय भएको छ।

यसैगरी सिभिल इन्जिनियरिङ र अटो मोबाइल इन्जिनियरिङको लागि १०–१० जनाको कोटा छ। ती प्रत्येक कार्यक्रममा कोसी प्रदेशबाट ३, मधेसबाट २, बागमती, गण्डकी, लुम्बीनी, कर्णाली र सुदूरपश्चिमबाट १-१ जनाका दरले छात्रवृत्ति पाउनेछन्।

कुनकुन स्थानीय तहका विद्यार्थी सहभागी हुन पाउँछन्? हेर्नुहोस् यो सूचना

समुदायगत छात्रवृत्तितर्फ, ३ वर्षे डिप्लोमा ३२४ जनाले अवसर पाउँछन्।

दलित, मुस्लिम, विपन्‍न, सीमान्तकृत समुदायअन्तर्गत २२ वटा जातिका लागि प्रमाणपत्र तह सामान्य चिकित्साको लागि १५२ जनाको कोटा छ। यसअन्तर्गत दलित ४७, मुस्लिम १९, विपन्‍न ७१ र सीमान्तकृत १५ छन्।

प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजीको लागि दलित ७ जना, मुस्लिम ३, विपन्‍न १० र सीमान्तकृत २ गरी जम्मा २२ जनाको कोटा छुट्याइएको छ।

यसैगरी होटल म्यानेजमेन्ट, एग्रिकल्चर (प्लान्ट साइन्स) एग्रिकल्चर (एनिमल साइन्स),  सिभिल इन्जिनियरिङ र अटोमोबाइल इन्जिनियरिङमा दलित ९ जना, मुस्लिम ४, विपन्‍न १४ र सीमान्तकृत ३ गरी ३०-३० जनाको कोटा छुट्याइएको छ। यी सबै जोड्दा १५० हुन्छ।

कुनकुन समुदायका विद्यार्थी सहभागी हुन पाउँछन्? हेर्नुहोस् यो सूचना

१८ महिने प्रि–डिप्लोमा
प्रि-डिप्लोमातर्फ कुल ५० जनाले यो विशेष छात्रवृत्ति पाउँछन्। यीमध्ये तोकिएका स्थानीय तहतर्फ १४ जना र तोकिएका जातीय समुदायबाट ३६ जनाका लागि यसको कोटा छुट्याइएको छ।

प्रि-डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ र प्रि-डिप्लोमा इन एग्रिकल्चर (लाइभस्टक प्रोडक्सन र एनिमल हेल्थ) को लागि हरेक प्रदेशका १-१ जना गरी समग्रमा ७-७ जनाका दरले जम्मा १४ जनाको कोटा छुट्याइएको छ।

यसमा तोकिएका ७८ स्थानीय तहका विद्यार्थी सहभागी हुन पाउँछन्।

त्यस्तै प्रि-डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ र प्रि-डिप्लोमा इन एग्रिकल्चर (लाइभस्टक प्रोडक्स, एनिमल हेल्थ) मा दलित ६ जना, मुस्लिम २, विपन्‍न ८ र सीमान्तकृत २ गरी जम्मा १८-१८ जनाका दरले ३६ जनाको कोटा छुट्याइएको छ।

यसमा तोकिएका २२ वटा जाति एवं समुदायका विद्यार्थी सहभागी हुन पाउँछन्।

आवेदन दिन न्यूनतम योग्यता
अक्षरांक पद्धति लागू हुनुपूर्वका प्रवेशिका परीक्षाको हकमा डिप्लोमा\प्रमाणपत्र तहका सम्पूर्ण कार्यक्रमका लागि मान्यताप्राप्‍त शिक्षण संस्थाबाट अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषय लिई एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण भएको हुनुपर्छ। परिषद्‍बाट सञ्चालन हुने कार्यक्रमसँग सम्बन्धित प्राविधिक एसएलसी वा प्रि–डिप्लोमा तहको पूर्णांकमा ६८.३३ प्रतिशत अंक प्राप्‍त गरी उत्तीर्ण भएको हुनुपर्छ।

त्यसैगरी अक्षरांक पद्धति लागू भइसकेपछिको प्रवेशिका परीक्षा (एसईई) को हकमा सामान्य चिकित्सा र मेडिकल ल्याब टेक्नोलोजी कार्यक्रमको लागि अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषय लिएको हुनुपर्छ। जसमा कम्तीमा २.० जीपीए ल्याएको हुनुपर्छ। एसएलसी\प्रि-डिप्लोमा गरेका विद्यार्थीले पूर्णांकमा ६८.३३ प्रतिशत अंक प्राप्‍त गरी उत्तीर्ण गरेको हुनुपर्छ।

डिप्लोमा\प्रमाणपत्र तहका स्वास्थ्‍यबाहेक अन्य कार्यक्रमको लागि भने मान्यताप्राप्‍त शिक्षण संस्थाबाट प्रवेशिका वा एसईई परीक्षामा अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषय लिएको हुनुपर्छ। जसमा समग्रमा न्यूनतम स्वीकृत अंक १.६ जीपीए ल्याएको हुनुपर्छ। एसएलसी\प्रि-डिप्लोमा तह उत्तीर्ण गरेको विद्यार्थीले कुल पूर्णांकमा ६८.३३ प्रतिशत अंक प्राप्‍त गरी उत्तीर्ण भएको हुनुपर्छ।

आवेदन भर्दा आवश्‍यक कागजात
अनलाइन आवेदन फाराम भर्दा नागरिकता वा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि स्क्यान गरी राख्‍नुपर्छ।

एसईई, एसएलसी वा सोसरह उत्तीर्ण गरेको मार्कसिट र क्यारेक्टर सर्टिफिकेटको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्छ।

तर २९ महिने प्राविधिक एसएलसी गरेका विद्यार्थीको हकमा टेस्ट परीक्षाको लब्धांकपत्र पेस गर्नुपर्ने हुन्छ।

हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, यदि बसाइसराइ गरेको छ भने सूचना प्रकाशन भएको मितिभन्दा ६ महिनाअगाडि बसाइसराइ गरिएको स्थानीय निकायको पत्र अनिवार्य रुपमा पेस गर्नुपर्छ।

दलितको हकमा आफू दलित प्रमाणित हुने कागजात पेस गर्नुपर्ने हुन्छ।

सीमान्तकृत समुदायको छात्रवृत्ति प्राप्त गर्न नेपाल सरकारबाट सूचीकृत २२ वटा आदिवासी जनजाति समूहमा पर्छ भनेर सम्बन्धित स्थानीय तहको पत्रको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्छ।

मुस्लिम व्यक्तिले आफूलाई प्रमाणित गर्ने कागजात पेस गर्नुपर्ने हुन्छ।

यसैगरी विपन्‍न वर्गको छात्रवृत्तिका लागि पनि स्थानीय तहले विपन्‍न वर्गको भनी सिफारिस गरेको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्ने हुन्छ।

छनोट प्रक्रिया
यो छात्रवृत्ति प्राप्त गर्ने मुख्य आधार एसईई परीक्षामा प्राप्‍त ग्रेड हुन्छ। एसईईको अंक र सरकारी वा सामुदायिक विद्यालयबाट एसईई वा एसएलसी उत्तीर्ण भएकोलाई अंकभारवापत १ अंक दिइन्छ। संस्थागत विद्यालयबाट उत्तीर्ण भएका आवेदकलाई थप अंकभारवापत ०.८५ बमोजिमको अंक दिइन्छ। अन्त्यमा समग्र अंकलाई जोडी उच्च अंक प्राप्‍त गर्ने आवेदकको योग्यताक्रम निर्धारण गरिन्छ।

७८ वटा पालिकाहरूमा स्थायी बसोवास गर्ने लक्षित विद्यार्थीको प्रदेशअनुसारको कुनै कार्यक्रममा निर्धारित कोटा खाली भएमा अन्य कार्यक्रम वा प्रदेशबाट आवेदन भरी उत्तीर्ण सूचीमा रहेका आवेदकहरूमध्येबाट उच्चतम अंक प्राप्‍त गर्ने छानिन्छन्।

पढाइ कहिलेबाट हुन्छ?
कार्यक्रममा भर्ना भएका आवेदकलाई परिषद्‍को भर्नासम्बन्धी निर्देशिका, २०८२ बमोजिम विद्यार्थी भर्ना तथा रजिस्ट्रेसनको समयावधि २०८२ मंसिर २५ गतेसम्म तोकिएको छ।

त्यसैले शिक्षण संस्थाले रजिस्ट्रेसन फाराम भराई सीटीईभीटीको अनलाइन प्रणाली आईटीएमएसमा नाम दर्ता गरिसक्नुपर्छ।

भर्ना भएका विद्यार्थीको कक्षा सञ्चालन भदौको तेस्रो हप्‍तादेखि हुने सीटीईभीटीले सूचनामा उल्लेख गरेको छ।

छात्रवृत्तिमा विद्यार्थीले के-कस्ता सुविधा पाउँछन्?
छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई निर्वाह भत्तावापत् हरेक महिना ३ हजार ५०० रुपैयाँ वितरण गरिन्छ।

यसैगरी यातायात खर्चको लागि हरेक वर्ष १ हजार ५०० रुपैयाँ र पेसाक खर्चको लागि प्रतिवर्ष २ हजार ५०० रुपैयाँ दिइन्छ। यो सबै रकम जोड्दा विद्यार्थीले पाउने वार्षिक रकम ४६ हजार रूपैयाँ हुन्छ।

यसका साथै विद्यार्थीलाई प्रशिक्षण अवधिभरका लागि निःशुल्क छात्रावासको व्यवस्था सीटीईभीटीले नै गरिदिनेछ।

छात्रवृत्तिको आवेदन साउन ११ गतेदेखि २९ गते बिहीबार राति ११꞉५९ सम्म अनलाइनमा भर्न सकिने सीटीईभीटीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad