समाज


मिडिया विकासका लागि विश्व मञ्चको सञ्चालक समितिमा पन्त निर्वाचित

मिडिया विकासका लागि विश्व मञ्चको सञ्चालक समितिमा पन्त निर्वाचित

नेपालखबर
साउन १, २०८२ बिहिबार २०:२७, काठमाडौँ

मिडिया एक्सन नेपालका संस्थापक तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्त पत्रकारिता र मिडिया विकास संस्थाहरूको मञ्च ग्लोबल फोरम फर मिडिया डेभलपमेन्ट (जीएफएमडी) को सञ्चालक समितिमा निर्वाचित भएका छन्।

बुधबार सम्पन्न जीएफएमडीको साधारण सभाबाट यो घोषणा गरिएको हो। पन्तसहित आगामी ४ वर्षका लागि विभिन्न देश र क्षेत्रका १७ जना नयाँ निर्वाचित सदस्यहरूले जीएफएमडीको नेतृत्व गर्नेछन्।

निर्वाचनमा यसपटक ५४ जनाले उम्मेदवारी दिएका थिए, जुन चार वर्षअघि सम्पन्न निर्वाचनको तुलनामा दोब्बर हो। जुन १२ देखि जुलाई १४ सम्म अनलाइनमा चलेको निर्वाचनमा २१५ साधारण सदस्यमध्ये ७६ प्रतिशतले मतदान गरेका थिए। 

पन्त सञ्चार विज्ञ तथा मिडिया अधिकारकर्मी हुन्।

पन्तले जीएफएमडीमा एसिया, प्यासिफिक र ओसिनिया क्षेत्रको प्रतिनिधित्व गर्नेछन्।

समितिमा निर्वाचित भएपछि पन्तले भने, ‘मिडिया एक्सन नेपालको प्रतिनिधिका रुपमा मात्र नभई, एसियाली मिडिया समुदायको आवाजलाई मिडिया विकास, अभिव्यक्ति र प्रेस स्वतन्त्रताको दिशा तय गर्ने संस्थाहरूसँगको विश्व संवादमा पुर्‍याउन पाउनु मेरा लागि  ठूलो सम्मान हो।’

पन्तको नेतृत्वमा मिडिया एक्सन नेपालले अनुसन्धान, क्षमता अभिवृद्धि, मिडिया अधिकारको अनुगमन तथा पैरवीमार्फत स्वतन्त्र र जवाफदेही पत्रकारिताको पैरवी गर्दै आएको छ।

नवनिर्वाचित सञ्चालक समितिको चार वर्षे कार्यकाल नोभेम्बर २० मा मलेसियाको क्वालालम्पुरमा आयोजना हुने पहिलो बैठकबाट सुरु हुनेछ। 

बैठकबाट समितिले नयाँ अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नेछ, जसले कार्यकारी निर्देशक मीरा मिलोसेभिकसँग मिलेर जीएफएमडीको रणनीति निर्माण  र मार्गदर्शन गर्नेछन्।

नवनिर्वाचित सदस्यहरूमा पन्तसँगै अफ्रिकी महिला पत्रकारिता प्रवर्द्धनका अभियन्ता क्याथरिन गिचेरू (केन्या), नामिबिया मिडिया ट्रस्टकी कार्यकारी निर्देशक जोइ टाइटस, युक्रेनको नेसनल युनियन अफ जर्नालिस्ट्सकी लिना कुशच, अमेरिकाको सेन्टर फर जर्नालिजम एन्ड लिबर्टीकी सञ्चालक कोर्टनी राड्सच, इन्टरनेसनल फ्याक्ट चेकिङ संस्थाकी निर्देशक एन्जी होलान, क्यानडाको सेन्टर फर ल एन्ड डेमोक्रेसीका कार्यकारी निर्देशक टोबी मेन्डेल, स्वीट्जरल्यान्डको फाउन्डेसन हेरोंदेलकी क्यारोलिन वुइलेमिन, बेलायतस्थित आर्टिकल १९ की प्रमुख क्विन म्याक्यूलगायत छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad