कास्की पोखरा महानगरपालिका-छोरेपाटनस्थित श्री छोरेपाटन मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्री पहारीलाई कालोमसी छर्किने तीनजना पक्राउ परेका छन्।
६७ वर्षीय पहारीमाथि असार २७ गते दुर्व्यवहार भएको थियो।
२ जना अपरिचित व्यक्तिहरूले उनको अनुहारमा कालो मसी छर्किई फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की र मातहत वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान एवं खोजतलास गर्दै जाँदा घटनामा संलग्न तीनजनालाई पक्राउ गरेको हो।
मुख्य योजनाकार रहेका जिल्ला बझाङ केदास्यु गाउँपालिका-४ घर भई हाल पोखरा महानगरपालिका १४ औधोगिकक्षेत्र बस्ने वर्ष ३५ का सुजन आयम भन्ने लोकेन्द्र विश्वकर्मा (नेपाल कम्युनिष्ट पार्टी बहुमत केन्द्रीय सदस्य) लाई प्रहरीले सोही दिन नयाँबजारबाट नियन्त्रणमा लिएको थियो।
घटनामा भौतिक रुपमा उपस्थित भई कालो मसी छर्किने २ जना अछाम बानियागढी गाउँपालिका ५ घर भई हाल पोखरा औधोगिक क्षेत्र बस्ने वर्ष २६ का राजन साउद (अखिल क्रान्तिकारी गण्डकी प्रदेशको संयोजक) र बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका-२ घर भई हाल पोखरा प्रस्याङ बस्ने वर्ष १८ को वासुदेव बुढा (अखिल क्रान्तिकारी कास्की जिल्ला संयोजक)लाई असार २८ गते प्रस्याङ र जिरो किमिबाट पक्राउ गरेको हो।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर अन्तर्गत अभद्र व्यवहार गर्न नहुने मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ।
साथै उनहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५३ आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसूरमा समेत कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिई थप अनुसन्धान भई रहेको छ।
उनीहरूको साथबाट विभिन्न संस्थालाई लेखेका पत्र र सहयोग रसिदका अर्धकट्टी बरामद भएको प्रहरीको भनाई छ।
Shares

प्रतिक्रिया