आइतबार राति बर्दियामा भएको मोटरसाइकल दुर्घटनामा पत्रकार कृष्णप्रसाद बस्यालको निधन भएको छ।
नेपाल पत्रकार महासंघका पूर्व केन्दीय उपाध्यक्षसमेत रहेका बस्यालको आइतबार मधुवन नगरपालिकामा भएकाे माेटरसाइकल दुर्घटनामा मृत्यु भएकाे हाे।
कुसुम्बाबजारदेखि गुलरियातर्फ आउँदै गर्दा राति करिब ८ बजे मधुवन नगरपालिका–८ गणेश चोक नजिक हुलाकी सडकमा उनी सवार भे १३ प ९३६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी चक्र डमर पालका अनुसार दुर्घटनमा गम्भीर घाइते भएका उनकाे शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा गएराति नै मृत्यु भएको हो।
उनी मोटरसाइकलको पछाडि सवार थिए। बस्याल सवार मोटरसाइकलले साइकल यात्रुलाई जोगाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक ४२ वर्षीय विष्णु पौडेल घाइते भएका छन्। पाैडेल पनि पत्रकार हुन्। उनको गुलरियामा उपचार भइरहेको छ।
दुर्घटनामा बारबर्दिया नगरपालिका–४ घर भएका साइकल यात्रु प्रदिप थारु सामान्य घाइते भएका छन्।
५७ वर्षीय बस्याल दुई कार्यकाल पत्रकार महासंघ, बर्दियाको अध्यक्ष भएका थिए। त्यसपछि उनी महासंघको केन्द्रीय उपाध्यक्षसमेत बनेका थिए।
Shares

प्रतिक्रिया