गण्डकी


म्याग्दीका ६ वट विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दीका ६ वट विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

नेपालखबर
असार ३०, २०८२ सोमबार १२:२७, काठमाडौँ

म्याग्दीका ६ वटा सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएको छ। 

धवलागिरि गाउँपालिका–७ शिवाङको हेम नमूना आवासीय मावि, मङ्गला गाउँपालिका–२ बाबियाचौरको मंगला मावि, रघुगंगा गाउँपालिका–३ पिप्लेको रघुगंगा मावि र अन्नपूर्ण गाउँपालिका–६ घारको मुक्तिमार्ग माविमा २१/२१ वटा कम्प्युटरको व्यवस्थापन गरेर प्रयोगशाला स्थापना भएको हो। 

रघुगंगा गाउँपालिका–४ दग्नामको जनता माविमा ११ र वडा नं ६ ठाडाखानीको मालिका आधारभूत विद्यालयमा १० वटा कम्प्युटर जडान गरेर प्रयोगशाला स्थापना भएको छ। क्वालिटी एजुकेसन नेपाल, अस्ट्रेलिया र एजुटेक नेपाल, न्युजिल्यान्डको आर्थिक सहयोगमा समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)ले संयोजन गरेर ४८ लाख रुपैयाँको लागतमा प्रयोगशाला स्थापना भएको हो। 

विद्यालयको पठनपाठनमा प्रयोग हुने विद्युतीय पाठ्यक्रम र पुस्तक राखिएको कम्प्युटरका साथै विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्थाका लागि ब्याट्री र इनभर्टर पनि जडान गरिएको लर्न संस्थाका निर्देशक कृष्ण तिलिजाले जानकारी दिए।  

गत वर्ष धवलागिरि गाउँपालिका–४ मुदीको बुद्धिविकास मावि, रघुगङ्गा–३ मौवाफाँटको ज्ञानोदय र अन्नपूर्ण–४ को प्रभा माविमा ‘सर्भर सिस्टम’बाट चल्ने २०/२० वटा कम्प्युटर जडान गरेर प्रयोगशाला स्थापना भएको थियो। 

निर्देशक तिलिजाका अनुसार आधुनिक कम्प्युटर ल्याबका रूपमा स्थापना गरिएको कम्प्युटर कक्षलाई ‘डिजिटल’ साक्षरताका रूपमा विकास गर्न उपयोग गरिनेछ। प्रविधिको प्रयोग गरेर पठनपाठन गराई विद्यार्थीको पढाइप्रति रुचि र सिकाइ उपलब्धि वृद्धि गर्ने कम्प्युटर प्रयोगशाला स्थापना गर्नुको उद्देश्य रहेको छ। 

विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएपछि विद्यार्थीलाई प्रयोगात्मक अभ्याससहित कम्प्युटर विषयको पठनपाठन गराउन सहज हुने मुक्ति मार्ग मावि घारका प्रअ रामकृष्ण खड्काले बताए। कम्प्युटर प्रयोगशाला स्थापनाका लागि फर्निचर, फर्निचर, पर्दा, कार्पेट, कक्षाकोठा व्यवस्थापनको काम भने विद्यालयहरूले नै गरेका हुन्।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad