समाज


मनोरञ्जन व्यवसायी संगठित, काठमाडौँलाई २४ घण्टा खोल्न माग

मनोरञ्जन व्यवसायी संगठित, काठमाडौँलाई २४ घण्टा खोल्न माग

नेपालखबर
असार २८, २०८२ शनिबार १९:२४, काठमाडौँ

काठमाडौँका मनोरञ्जन व्यवसायीहरू संगठित भएका छन्। जडीबुटीमा सम्पन्न उनीहरूको राष्ट्रिय भेलाले गायिका तथा व्यवसायी उमा श्रेष्ठको अध्यक्षतामा एक कार्यसमिति गठन गरेको छ।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा दीनेश थापा, उपाध्यक्षहरूमा सुशील बुढाथोकी, सुजन श्रेष्ठ, प्रह्लाद चौलागाईं र राजकुमार कार्की रहेका छन्।

त्यसैगरी, महासचिवमा सगुन अधिकारी, उपमहासचिवमा प्रज्जवल खड्का, सचिवमा अमृत खाती, सहसचिवमा देव लामा, कोषाध्यक्षमा सन्तोष लामा र सहकोषाध्यक्षमा युनिसा रेग्मी सर्वसम्मत निर्वाचित भएका छन्।

कार्यसमितिका सदस्यहरूमा कुमार अधिकारी, होमबहादुर कार्की, रोशन बुढाथोकी, शुबास अधिकारी, विजय लामा, पार्वती थापा, रामकुमार बुढाथोकी, राज सुबेदी, गिता फुयाल कार्की र पासाङ लामा रहेका छन्।

रक्षामन्त्री मानबिर राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले रात्रिकालीन मनोरञ्जन व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने उद्देश्य राखेको छ।

अध्यक्ष श्रेष्ठले व्यवसायलाई व्यवस्थित गर्न आफूहरू संगठित भएको बताइन्।‘मनोरञ्जनात्मक क्षेत्र समाज परिवर्तनको सशक्त औजार हो, समग्रमा मुलुकको समृद्धिको आधार हो,’ उनले भनिन्, ‘त्यसैले ठमेल र दरबारमार्गमात्रै होइन पुरै काठमाडौँलाई २४ घण्टा सञ्चालनको अनुमति दिनुपर्छ।’

कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी टेकबहादुर तामाङ पनि उपस्थित थिए।

व्यवसायीहरूले प्रहरीले बेलाबेलामा रात्रिकालीन व्यवसायलाई दुःख दिने गरेको गुनासो गर्दै यसलाई व्यवस्थित गरिदिन आग्रह गरे।

रक्षामन्त्री राईले आफू कला र कलाकर्मीलाई असाध्यै प्रेम गर्ने बताउँदै मनोरञ्जन व्यवसायले कलाकार उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखे। उनले नेपालको अर्थतन्त्र विस्तारै लयमा फर्किरहेको बताउँदै अब मनोरञ्जन व्यवसायीलाई चिन्ता नलिन आग्रह गरे।

नवनिर्वाचित महासचिव सगुन अधिकारीले प्रतिष्ठानलाई देशव्यापी रूपमा विस्तार गर्दै लैजाने योजना रहेको बताए। 

त्यसैगरी, उपाध्यक्ष सुजन श्रेष्ठले कलाकारहरूको तलब र सुरक्षाको समस्या समाधान गर्न कलाकारहरूको बेग्लै उपसमिति गठन गर्ने तयारी रहेको जानकारी दिए।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री युवराज दुलाल लगायत व्यवसायीहरूले आफ्नो मन्तव्य राखेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad