केही दिनअघि संसद भवनभित्र खसेको ड्रोन कलेजको भएको खुलेको छ। २०८२ असार २३ गते राति ९ बजे संसद भवनभित्र ड्रोन खसेको थियो।
अनुसन्धानका क्रममा उक्त ड्रोन बानेश्वरकै टेकस्पायर कलेजको भएको पाइएको र कलेजले पनि उक्त कुराको जानकारी दिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।
बोहराका अनुसार कलेजका विद्यार्थीले अभ्यास गर्ने क्रममा उक्त ड्रोन खसेको पाइएको छ।
टेक्निकल सपोर्ट फेल भई उक्त ड्रोन संसद भवन भित्र खस्न गएको भनि कलेजका रोवर्टी डिपार्टमेन्टका प्रमुख विजयबाबु रेग्मीले प्रहरीलाई जानकारी गराएका छन्। प्रहरीले रेग्मीसहित चार विद्यार्थीलाई बिहीबार पक्राउ गरेर थप सोधपुछ गरिएको छ।
उनीहरूलाई तारेखमा राखेर अनुसन्धान गरिरहेको एसपी बोहराले बताए।
विद्यार्थीहरु सुमन महर्जन, सुजलकाजी श्रेष्ठ, समिप खतिवडा र अफताव रेजा रहेका छन्। उनीहरू ‘ब्याचलर अफ साइन्स इन आईटी’ मा तेस्रो र दोस्रो सेमेस्टारमा अध्ययनरत हुन्।
उनीहरूले अघिल्लो दिन उडाएको ड्रोन २४ गते बिहान साढे ९ बजे संघीय संसद भवनको दक्षिणतर्फको छतमा फेला परेको थियो। यो क्षेत्र ड्रोन उडाउन निशेधित क्षेत्र हो।
अघिल्लो बेलुका सवा ९ बजे त्यस क्षेत्रमा ड्रोन उडिरहेको देखेपछि सोही स्थानमा कार्यरत नेपाल प्रहरी केन्द्रीय विशेष सुरक्षा कार्यदलले खबर गरेका थिए। त्यसलगतै बानेश्वर वृत्तबाट टोली पुगे पनि राति ड्रोन फेला परेको थिएन।
अहिले भने कलेजले ड्रोन खरिद गर्दाका सक्कल बिल, ड्रोन चलाउँदै गरेको फोटो भिडिओ, ड्रोन कन्ट्रोलर समेत प्रहरी वृत्त बानेश्वरलाई जिम्मा लगाइसकेको छ।
कलेजका प्रिन्सिपलले असावधानीवस घटना हुन गएको जानकारी गराउँदै प्रहरीलाई पत्रसमेत पठाएका छन्।
Shares

प्रतिक्रिया