मोटरसाइकल चोरीमा संलग्न एकजनालाई काठमाडौँको गौशाला स्थित पशुपति मन्दिरको पार्किङस्थलबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा आउनेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका १ घर भई काठमाडौँको मुलपानी बस्ने ३० वर्षीय प्रदिप वनेम लिम्बु रहेका छन्।
वास्तविक नम्बर बागमती प्रदेश ०२–०४९ प ८००३ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०४६ प ९७ २० राखि चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।
उक्त मोटरसाइकल ईलाम सूर्योदय नगरपालिका १ का अभिषेक वेगाले काठमाडौँको बालाजुबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए।
नियन्त्रणमा आएका वनेम लिम्बुलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक गिरीले सम्पूर्णमा अनुरोध गरेका छन्।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न समेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ।
Shares

प्रतिक्रिया