समाज


‘गोल्ड मेडलिस्ट’देखि उपकुलपतिसम्म: मौसमका ज्ञातालाई त्रिवि हाँक्ने जिम्मा

‘गोल्ड मेडलिस्ट’देखि उपकुलपतिसम्म: मौसमका ज्ञातालाई त्रिवि हाँक्ने जिम्मा

प्रज्ञा तिम्सिना
असार २५, २०८२ बुधबार १८:३०, काठमाडौँ

३० वर्षदेखि त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागमा कार्यरत प्राडा दीपक अर्यालले उपकुलपतिको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले आज उपकुलपति नियुक्त गरेका हुन्। 

शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतामा गठित सिफारिस समितिले प्राडा दीपक अर्याल, प्राडा खड्ग केसी र प्राडा विनिल अर्यालको नाम सिफारिस गरेको थियो। तीमध्ये अर्याललाई कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ति गरेका हुन्।
 
त्रिविमा गत चैत १५ गतेदेखि उपकुलपति पद रिक्त थियो। उपकुलपति प्राडा केशरजंग बरालले दिएको राजीनामा चैत २८ गते स्वीकृत भएपछि चैत ३१ गते विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए। 

तर, उनलाई छाडेर अहिले प्रधानमन्त्री ओलीले प्राडा अर्याललाई उपकुलपति चयन गरेका हुन्। 

को हुन् प्राडा दीपक अर्याल?
२०५२ सालदेखि त्रिभुवन विश्वविद्यालय प्रवेश गरेका दीपक अर्याल वरिष्ठ साहित्यकार स्व भैरव अर्यालका जेठा छोरा हुन्। 

आईएस्सी अमृत साइन्स क्याम्पसबाट गरेका अर्यालले बीएस्सी त्रिचन्द्र क्याम्पसबाट गरेका हुन्। स्नाकोत्तर तहमा मौसम विज्ञान विषयमा उनी त्रिविको गोल्ड मेडलिस्ट समेत हुन्। २०७३  सालमा उनले जल तथा मौसम विज्ञान केन्द्रीय विभाग प्रमुखको जिम्मेवार पाएका थिए। विभागीय प्रमुखका रूपमा उनले दुई कार्यकाल अर्थात् ८ वर्ष बिताएका थिए। २०८१ पुससम्म उनी सो पदमा थिए।

जापानको नागासाकी विश्वविद्यालयबाट वायुमण्डलीय विज्ञान विषयमा पनि स्नातकोत्तर गरेका छन् उनले। वायुमण्डलीय प्रक्रिया, वायु प्रदूषण, जलवायु परिवर्तन र संख्यात्मक मौसम पूर्वानुमान लगायतका विषयमा आफूले अध्ययन गरेको उनले बायोडेटामा उल्लेख गरेका छन्।

प्राडा अर्यालले २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट मौसम विज्ञान विषयमा (पीएचडी) गरेका हुन्। उनी मौसम प्रणाली, संवहन प्रक्रिया, तथा वायुमण्डलीय प्रदूषणको गतिशीलता सम्बन्धी विज्ञ मानिन्छन्। 

सो विभागका सहप्राध्यापक विनोद दवाडीले उपकुलपति नियुक्त भएका अर्याल त्रिवि प्रवेशदेखि हालसम्मै जल तथा मौसम विज्ञान केन्द्रीय विभागमा कार्यरत रहेको बताए। 

‘३० वर्ष देखि जल तथा मौसम विज्ञान केन्द्रीय विभागमा नै कार्यरत रहनु भएको राम्रो व्यक्ति उपकुलपतिमा नियुक्त हुनुभएको छ,’ उनले भने  ‘दक्ष र अनुभवी व्यक्तिलाई चयन गरिएकोमा हामी खुसी छौँ। विभागीय प्रमुख हुँदा कुनै विवादमा पर्नु भएको छैन। उहाँसँग आफनो भिजन छ। विश्वमा धेरै विश्वविद्यालयमा पुग्नु भएको छ। विश्वविद्यालयहरूसँग नेटवर्क छ, त्यो नेकवर्कलाई प्रयोग गरेर काम गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ।’

प्रधानमन्त्रीको रोजाइमा परेनन् केसी
प्राडा केसीलाई उपकुलपतिको प्रमुख दाबेदार मानिएको थियो। किनकि यसअघि प्रधानमन्त्री ओलीले तीन महिनाका लागि सो जिम्मेवारी उनैलाई सुम्पिएका थिए। 

तीन महिनालाई उपकुलपति नियुक्त गरिँदा केसीले त्रिविको परीक्षा सुधार सम्बन्धी केही निर्णय समेत गरेका छन्। 

उनले अनलाइनबाटै १० सेवा पाउन व्यवस्था सुरु गएका छन्। रजिस्ट्रेसन, परीक्षा, ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, मूल प्रमाणपत्र, पुनयोग आवेदन, शैक्षिक कागजात (नाम, थर, रजिस्ट्रेसन सच्याउने) शैक्षिक सिफारिस प्रमाणीकरण, विभिन्न सिफारिस पत्र र प्रतिलिपि ट्रान्सक्रिप्ट तथा मार्कसिटको आवेदन अनलाइनबाटै पाउन सकिने व्यवस्था मिलाएका थिए।

तत्कालीन उपकुलपति प्राडा केशरजंग बरालको सिफारिसका आधारमा रजिस्ट्रारमा प्राडा केदार रिजाल र रेक्टरमा प्राडा खड्ग केसी नियुक्त भएका थिए। तत्कालीन प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले उपकुलपतिको चाहना अनुसार नै उनीहरूलाई नियुक्त गरेका थिए। 

असार २३ गते त्रिवि सभा बैठक रोकेर प्रधानमन्त्री ओली हुम्ला गएपछि उनले केसीलाई उपकुलपति नबनाउने संकेत दिएको आकलन गर्न थालिएको थियो। असार १ गते नै आफैले मञ्जुरी दिएको बैठक स्थगित गर्नुले केसीसँग ओलीको सम्बन्ध तिक्त बन्न थालेको देखिएको त्रिविका प्राध्यापकहरूको भनाइ थियो।

२३ गतेको बैठक स्थगित गरेका प्रधानमन्त्री ओली  त्रिवि सभा असार २६ गते  बालुवाटारमा त्रिवि सभा बोलाएका छन्। 

त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका संस्थापक प्रमुख प्राडा केसी २०५३ सालदेखि पृथ्वीनारायण क्याम्पस पोखराबाट प्राध्यापन पेसामा सक्रिय थिए। तर, यसपटक उनलाई प्रधानमन्त्री ओलीले रुचाएनन्।

२ वर्षअघि बनेको थिति भत्कियो
प्राडा केशरजंग बराललाई कार्यविधि बनाएर प्रतिस्पर्धाको आधारमा उपकुलपति नियुक्त गरिएको थियो। तर यसपटक उपकुलपतिका लागि मन्त्रीको सचिवालयले संकलन गरेका १२ जनाको नाम मध्येबाट सिफारिस समितिले तीनजनाको अन्तिम सूची तयार पा¥यो।

यसपटक उपकुलपति सिफारिस गर्न कुनै कार्यविधि वा मापदण्ड बनाइएको थिएन। उपकुलपति नियुक्त गर्न सिफारिस समिति गठन भएपछि औपचारिक सूचनाबिना नै शिक्षा मन्त्रालयमा बायोडेटा बुझाएकाहरूबाट नै उपकुलपति चयन गरिएको हो। 

मन्त्रालय स्रोतका अनुसार मन्त्री पन्तको सचिवालयले तयार पारेका नामहरूमध्येबाट प्रधानमन्त्रीको निर्देशनमा नै शिक्षामन्त्री पन्तले अन्तिम तीन जनाको सूची तयार पारेका हुन्। यससँगै प्रतिस्पर्धाको आधारमा विश्वविद्यालयको उपकुलपति छनोट गर्न भनी दुई वर्षअघि बनाइएको थिति भत्केको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad