समाज


प्रधानमन्त्री बेलिब्रिज उद्घाटन गर्न जाँदा रोकियो त्रिवि सभा, प्राज्ञिक क्षेत्र असन्तुष्ट

विज्ञ भन्छन् : कुलपतिले राम्रो गर्नुभएन, खराब नजिर बस्ने भयो
प्रधानमन्त्री बेलिब्रिज उद्घाटन गर्न जाँदा रोकियो त्रिवि सभा, प्राज्ञिक क्षेत्र असन्तुष्ट

प्रज्ञा तिम्सिना
असार २२, २०८२ आइतबार २१:३८, काठमाडौँ

त्रिविका उपकुलपति खड्ग केसी, रेक्टर दिविनन्द ढकाल र रजिस्ट्रार केदारप्रसाद रिजालले प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई भेटेर असार १ गते त्रिवि सभाको समय तय गरेका थिए। उपकुलपति केसीले त्रिवि सभामा नीति तथा कार्यक्रम र बजेट पेस हुने कुलपतिलाई जानकारी गराएका थिए। 

कुलपति ओलीले त्यसको अनुमति पनि दिए। प्रधानमन्त्री ओलीले असार १ गते नै २२ गते वार्षिक सभा बैठक डाक्नु भनी त्रिविको पत्रमा तोक लगाएका थिए। 

त्यसैले उपकुलपतिदेखि सम्पूर्ण कर्मचारी कार्यक्रम र बजेट ल्याउन तयारी गर्न थाले। त्रिविले योजना परिषद्, कार्यकारी परिषद्बाट बजेट पारित गर्दै सभामा पेस गर्ने तयार गरेको थियो।

सभाबाट पारित भएपछि मात्र बजेट लागू हुन्छ। बैठकका लागि निम्ता समेत बाँडिएको थियो। सभामा सहभागी हुन उपत्यका बाहिरका प्राध्यापक सदस्य आइसकेका थिए। तर, अन्तिम समयमा कुलपति ओलीले सिनेट बैठक स्थागित गरे। दुई साताअघि नै तय भएको कार्यक्रम स्थगित गरेर प्रधानमन्त्री ओली हुम्ला जाने निर्णय गरे। 

प्रधानमन्त्री आइतबार बेलिब्रिज उद्घाटन गर्न हुम्ला जाने कार्यक्रम रहेकाले बैठक स्थगित गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

शिक्षामन्त्री रघुजी पन्तको सचिवालयले पनि त्रिवि सभाको स्वीकृति दिँदा प्रधानमन्त्रीलाई हुम्ला जाने कार्यक्रमको बारेमा जानकारी नभएका कारण त्रिवि सभा स्थगित गर्नु परेको बताएको छ।

‘त्रिविको आज नीति तथा कार्यक्रम र बजेट ल्याउने कार्यक्रम तय भएको थियो। प्रधानमन्त्रीले स्थगित गरेपछि अब कहिले बस्ने निर्णय भएको छैन,’ शिक्षामन्त्रीको सचिवालयले भन्यो।

बैठक अनिश्चित हुँदा १ साउनदेखि खर्च हुने बजेट र ‘ग्रेस लिस्ट’ अनुमोदन र त्यसकै आधारमा हुने दीक्षान्त कार्यक्रम समेत प्रभावित भएको त्रिविका एक पदाधिकारीले बताएका छन्। 

‘त्रिवि सभा रोकिएपछि यस वर्ष शैक्षिक उपाधि प्राप्त ९० हजार विद्यार्थीको दीक्षान्त कार्यक्रम प्रभावित हुन्छ,’ उनले भने। 

त्रिविले चालु आर्थिक वर्षका लागि २६ अर्ब १६ करोड ८७ लाख रूपैयाँ बराबरको बजेट ल्याएको थियो। जसमा नियमित कार्यक्रमतर्फ चालु र पुँजीगत रूपमा १३ अर्ब ७१ करोड ९७ लाख ८७ हजार बजेट छुट्याएको थियो।

आन्तरिकतर्फ चालु तथा पुँजीगत गरी ११ अर्ब ३९ करोड ८९ लाख र विकास कार्यक्रममा एक अर्ब पाँच करोड छुट्याएको थियो।

त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएकोप्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले असन्तुष्टि जनाएका छन्।  

कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार)को सिनेट बैठक स्थगित गर्न निर्देशन दिनु प्राज्ञिक संस्थाका लागि सुखद विषय नभएको महरले बताए।

‘१५ चैतदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति पद रिक्त छ। यसबेला प्रधानमन्त्रीको निर्देशनमा त्रिवि सभाको वार्षिक बैठक रोकिनु शोभनीय विषय होइन,’ कांग्रेस केन्द्रीय समिति बैठकस्थल बाहिर संक्षिप्त प्रतिक्रिया दिँदै महरले भने, ‘त्रिविको आगामी वर्षको बजेट र शैक्षिक उपाधि प्राप्त ९० हजार विद्यार्थीको सूची पारित गर्न डाकिएको बैठक कुलपतिकै निर्देशनपछि रोकिनु राम्रो होइन। प्रधानमन्त्रीले सुधारको बाटो जानु आवश्यक छ। प्राज्ञिक थलोलाई सोही अनुसार अगाडि बढाउनुपर्छ। परीक्षा, भर्नालगायतका सम्पूर्ण गतिविधि पनि वार्षिक क्यालेन्डर अनुसार नै अगाडि बढाउनुपर्छ।’

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले प्रधानमन्त्रीको इच्छा अनुसार त्रिवि सभा रोकिनु गलत भएको बताए।

‘त्रिवि आफै स्वचालित संस्था हो। त्रिविले तिथिअनुसार वार्षिक सभा बोलाउँछ। बस्ने निर्णय भएपछि अहिले नबस्ने भनेर निर्णय गर्न मिल्दैन,’ माथेमा भन्छन्, ‘प्रधानमन्त्रीको समय नमिले सहकुलपतिलाई सभा बस्न भन्नुपर्छ। प्रधानमन्त्रीले त्रिविको सभाको अध्यक्षता गर्ने हो, कार्यकारी प्रमुख होइन, कार्यकारी प्रमुख उपकुलपति हो, सहकुलपति र उपकुलपतिलाई जिम्मेवारी दिएर पनि त्रिवि सभा बस्नु पर्थ्यो।’

पूर्वउपकुलपति माथेमा यसले राम्रो नजिर नबसाल्ने, हरेक कुरामा हस्तक्षेप हुन थाल्यो भन्ने बुझाउने बताउँछ। 

‘सिनेट बस्न त्रिवि तयार छ, सिनेट र उपकुलपति तयार छ भने अन्तिम समयमा रोक्नु हुँदैन, यो शोभनीय भएन,’ उनले भने, ‘ऐनमा नै स्वचालित संस्था भनेर लेखिएको छ, प्रधानमन्त्रीले हस्तक्षेप गरेर चलाउन खोज्नु हुँदैन।’

त्रिविका प्राध्यापक श्रीकृष्ण श्रेष्ठ त्रिविको सिनेट बैठक रोक्नु भनेको त्रिविलाई गति दिनबाट रोक्नु भएको बताउँछन्।

‘त्रिवि आफैमा सर्वोच्च इकाई हो, सभा बैठक सबै निर्णयहरू गर्ने विन्दु हो। बैठक बस्न नदिनु त्रिविलाई अशक्त बनाउनु हो,’ प्राध्यापक श्रेष्ठ भन्छन् ‘प्रशासनिक हिसाबले निकै असर पार्छ।’

असारभित्र त्रिविमा नयाँ उपकुलपति 
शिक्षा तथा प्रविधिमन्त्री रघुजी पन्तको सचिवालयले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढेको जनाएको छ। 

‘उपकुलपति नियुक्ति प्रक्रियाका लागि तीनचार पटकसम्म बैठक बसिसकेको छ। १२ जनाको आवेदन परेको थियो। समितिले बायोडेटा हेरेर तीनजनाको नाम प्रधानमन्त्रीलाई सिफारिस गर्ने तयारी भएको छ,’ सचिवालयले भन्यो, ‘असारभित्रै त्रिविले नयाँ उपकुलपति पाउने छ। उपकुलपति छनोट समितिका संयोजक एवं शिक्षामन्त्री रघुजी पन्तले आवेदन परेका १२ जनाबाट तीनजनाको नाम प्रधानमन्त्रीलाई सिफारिस गर्ने तयारी गर्नुभएको छ।’

गत चैत्र १५ गते उपकुलपति पदबाट केशरजंग बरालले राजीनामा दिएपछि त्रिविको उपकुलपति पद खाली छ। बरालले राजीनामा दिएपछि ओलीले वैशाख २ गते उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई दिएका थिए। केसीलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि उपकुलपतिको जिम्मेवारी दिइएको थियो। उनले कार्यभार सम्हालेको तीन  महिना पुग्न लागिसकेको छ।  

कुलपति ओलीले जेठ ६ गते सहकुलपति पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए। 

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए। समिति गठन भएपछि आकांक्षीहरूले प्रधानमन्त्री र शिक्षामन्त्रीलाई भेट्न थालेका थिए। 

सिफारिस समितिले सार्वजनिक रूपमा आवेदन भने मागेको थिएन। आवेदनबिना नै आंकाक्षीहरूले  शिक्षामन्त्रीको सचिवालयमा व्यक्तिगत विवरण बुझाएका हुन्। 

उपकुलपतिका पहिलो दाबेदार निमित्त उपकुलपति प्राडा खड्ग केसी नै छन्। रेक्टरका रूपमा झण्डै १३ महिना काम गरेका केसी अहिले निमित्त उपकुलपतिको जिम्मेवारीमा छन्। मध्यपश्चिम विश्वविद्यालय पूर्वउपकुलपति उपेन्द्र कोइराला, मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति नन्दबहादुर सिंह, त्रिविका पूर्वरजिस्ट्रार डिल्ली उप्रेती र मदन भण्डारी विश्वविद्यालयका अध्यक्ष प्रा राजेन्द्रध्वज जोशी पनि आकांक्षीको सूचीमा  छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad