नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको अर्को बैठक मंगलबारका लागि बोलाइएको छ।
आइतवार बसेको बैठकमा पार्टीका नेताहरूले बोल्ने क्रम सकिएपछि बैठकको निष्कर्ष र निर्णय सार्वजनिक गर्न मंगलवार बिहान ११ बजेका लागि बैठक बोलाइएको पार्टी उपाध्यक्ष प्रकाश ज्वालाले बताए।
उनकाअनुसार आइतवारको बैठकमा पार्टीको तर्फबाट सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता डा. वेदुराम भुसाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरूले समसामयिक राष्ट्रिय राजनीति, संगठन निर्माण लगायतको विषयमा आफ्ना विचारहरु राखेका थिए।
बैठकमा पार्टी केन्द्रीय सदस्य रामकुमारी झाक्रीको विषयमा कुनै छलफल नभएको उपाध्यक्ष ज्वालाले स्पष्ट पारे।
उनले भने, ‘कुनै व्यक्ति विषेशको बारेमा हाम्रो बैठकमा एजेण्डा बनेको छैन। पार्टी सचिवालयको बैठकमा राष्ट्रिय राजनीति, समसामयिक विषयवस्तुहरुमा, आन्दोलनका विषयमा, संगठनात्मक विषयका एजेण्डाहरू छन्। ती एजेण्डाहरुमा केन्द्रित भएर नेताहरुले आ–आफ्ना धारणाहरु राखेका छन्।’
पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपाललाई मुद्दा लागेपछि नेतृत्वबारे बहस हुनुपर्ने बताएकी झाक्रीलाई पार्टीले स्पष्टीकरण सोधेको थियो।
बैठकमा सो विषय एजेण्डा नै नरहेको र कसैले नउठाएको ज्वालाले बताए।
उपाध्यक्ष ज्वालाले बैठकमा सरकारको कार्यसम्पादनको विषयमा पनि छलफल भएको बताए। उनले सरकारसँग जनता अत्यन्त निराश र केही अपेक्षा पनि नराखेको टिप्पणी गरे।
Shares

प्रतिक्रिया