ad ad

समाज


नेपाल ल्याउन तयार गरिएको ३० टन स्वास्थ्य सामग्री चीनमै रोकियो

नेपाल ल्याउन तयार गरिएको ३० टन स्वास्थ्य सामग्री चीनमै रोकियो

नेपालखबर
चैत २८, २०७६ शुक्रबार १३:२४,

चीनले निर्यातसम्बन्धी नीति परिवर्तन गरेपछि नेपाल ल्याउन लागिएको करिब ३० टन स्वास्थ्य सामग्री चीनमै रोकिएको छ।

केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालले कोरोना उपचारसँग सम्बन्धित स्वास्थ्य सामग्री चीनको ग्वान्झाओबाट ल्याउन तयार पारेको थियो।

ती सामग्री लिन नेपाल वायु सेवा निगमको वाइडबडी विमान शुक्रबार साँझ ८ बजे चीन जाने तयारी गरिएको थियो।

‘चीनले पछिल्लो सयममा स्वास्थ्य सामग्री निर्यात नीतिमा गरेको परिवर्तनको कारण ती सामग्री ल्याउन थप केही दिन लाग्ने भएको छ,’ एसोसिएसनका अध्यक्ष सुरेश घिमिरेले नेपालखबरसँग भने, ‘नयाँ नियमअनुसारका थप काजगात बुझाउन पर्ने र प्रशानिक काम गर्नु पर्ने भएकाले आज विमान त्यसतर्फ जाने छैन।’

घिमिरेले एसोसिएसनसँग आवद्ध व्यापारीलाई स्वास्थ्य सामाग्री ल्याउन आफ्नो संस्थाले सहजीकरण गरेको बताए।

‘हाम्रो संस्थासँग आवद्ध रहनुभएका विभिन्न कम्पनीको करिब तीस टन स्वास्थ्य सामग्री छ। आयातका लागि एसोसियनले सहजीकरण गरेको हो,’ घिमिरेले भने।

उनले ती स्वास्थ्य सामग्री ओम्नी समूहले ल्याएकोभन्दा सस्तो हुने पनि दाबी गरे।

‘अस्ति सरकारले ओम्नीसँग किनेको सामग्री भन्दा सस्तोमा बेच्ने तयारी छ,’ उनले भने।

यसअघि एसोसिएसनले बोलपत्रको प्रक्रिया रद्द गरेर ओम्नीसँग महंगोमा स्वास्थ्य सामग्री खरिद गरेको भन्दै विरोध गरेको थियो।

अध्यक्ष घिमिरेले चार्टड विमान धेरै समय होल्ड गरेर राख्दा महंगो पर्ने भएकाले शुक्रबार साँझ विमान नपठाइने बताए।

एसोसियसनले संग्रिला कार्गोमार्फत सो सामग्री नेपाल ल्याउने तयारी गरेको थियो। कार्गोले नेपाल वायुसेवा निगमको वाइडबडी विमान पठाउन चार्टड गरेको थियो।

‘अन्तिम समयमा आएर प्राविधिक कारणले विमान चीन जान रोकिएको छ,’ कार्गोका सञ्चालक अशोक कपालीले भने।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले शुक्रबारको सट्टा आइतबार विमान चीन जाने विषयमा सूचना आएको बताए।

चिनियाँ स्वास्थ्य सामग्रीको गुणस्तरबारे युरोपेली मुलुकहरुमा प्रश्न उठेपछि चीनले ती सामग्री निर्यातसम्बन्धी नियम परिवर्तन गरेको छ।

अहिले चीनभित्र स्वास्थ्य सामग्री बेच्ने अनुमति पाएका कम्पनीले मात्रै अन्य मुलुकमा ती सामग्री निर्यात गर्न पाउने भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .