देश त त्यस्तो हुनपर्थ्यो- जहाँ जनताले चुनेका प्रतिनिधि सधैँ जनताकै दु:खबारे सोचमग्न होउन्। अनि संसद् सधैँ नागरिकका पीडा व्यक्त गर्ने र त्यो समाधान गर्ने थलो बनोस्।
बिडम्बना! यो देशमा जे हुनपर्थ्यो, त्यो भइरहेको छैन। जब जनताका आवाज बन्नुपर्ने जनप्रतिनिधि नै जनताका समस्या नदेखेझैँ गर्छन्। जनताका बाध्यता नबुझे झैँ गर्छन्। अनि जब व्यक्तिगत स्वार्थको आहालमा लुटपुटिन थाल्छन्, तब त्यो देश समस्यै समस्याको डम्पिङ साइटभन्दा केही बन्दै बन्दैन।
यो देशका सामान्यभन्दा सामान्य मान्छेलाई समेत थाहा छ- वैदेशिक रोजगारी हाम्रो बाध्यता हो। यो देशका भुइँमान्छे बस्ने बस्तीमा जाने हो भने वैदेशिक रोजगारीले ल्याएका मुस्कान त देख्न सकिएला। तर, यसभन्दा बढी एउटा-दुइटा आँगन पार गर्दा देखिने मलिन अनुहारले मन अमिलो बनाउँछ। जहाँ अधिकांश ओठबाट हाँसो गायब छन्। रुँदारुँदा आँखा नै रित्तिएका छन्। किन त? यसको जवाफ हाम्रा राज्य र शासकलाई थाहा छ।
वैदेशिक रोजगारीमा गएकाहरूको सपना बीच बाटोमै उध्रिँदा विपन्नका परिवारले रुनुपरेको छ। हेपिएर बाँचिरहेका सीमान्तकृतको बस्तीमा जाने हो भने थाहा पाइन्छ- परिवारलाई दुईछाक मिठो खुवाउने, सन्तानलाई पढाउने, चुहिएको छत टाल्नेभन्दा ठुला सपना छैनन्- विदेशिएकाहरूका। कसैका सपना केही ठुला हुन पनि सक्लान्। तर ती पनि थोरै खेत जोड्ने र आफ्नै माटोमा पसिना बगाउनेभन्दा ठुला छैनन्। लाग्छ, गरिबको सपनाको दायरासमेत फराकिलो हुँदैन रहेछ।
प्लास्टिकका बोरा सिलाएर बनाइएका झोलामा दुईजोर कपडा कोचेर मरुभूमिको यात्रामा निस्किएकाहरूको सपना कसरी यो देशका सुकिलामुकिलाहरूका सपनासँग दाँज्न सकिएला र? अहिले पनि छिमेकीको मोबाइल सापट मागेर खाडिमा मजदुरी गरिरहेको छोरासँग कुरा गर्ने आमाको आँसुको मूल्य यो देशको ढुकुटीमा हालीमुहाली गरिरहेकाहरूले के बुझ्न सक्लान् र?
अहिले पनि एकजोर राम्रो चप्पल लाउन नपाएर यौवन तातो मरुभूमिमा तिलाञ्जली दिन विवश युवाका दु:ख अध्यागमनमा सेटिङ मिलाउनेहरूले के बुझेका होलान् र खै?
कहिल्यै सिंहदरबारको आँखा पुग्न नसकेका विपन्न बस्तीमा वैदेशिक रोजगारीले खुसी मात्र होइन, त्यत्तिकै दु:ख पनि दिएको छ। राज्यले सायद देखेर पनि नदेखेझैँ गरिरहेको छ।
हरेक सोमबार राति ८ बजे एपीवान टीभी र नेपाल बिम्बको युट्युब च्यानलसँगै सामाजिक सञ्जालको अन्य विधामा प्रसारण भइरहेको ‘परिस्थिति : कथा बाध्यताको’ले भुइँमान्छेका बस्तीमा वैदेशिक रोजगारीले निम्त्याएका सुखदु:खलाई सबैसामु देखाउने प्रयास गरिरहेको छ।
पहिलो सिजनमा १३ शृंखला प्रसारण हुने उक्त कार्यक्रममा कुनै काल्पनिक कथा र नाटक छैन। नेपाल बिम्बको टिम ती विपन्नहरूको बस्तीमा पुग्दा जे देख्यो, जे सुन्यो, त्यसलाई हुबहु पर्दामा उतारेका छौँ। हाम्रो यात्रा निरन्तर जारी रहनेछ', कार्यक्रमका निर्देशक सुदीप खनाल भन्छन्।
‘परिस्थिति : कथा बाध्यताको’ परिकल्पनाकार चेतन पाण्डे आफैँ प्रस्तोता पनि हुन्।
'मैले यो कार्यक्रमको परिकल्पना गर्दा वैदेशिक रोजगारीको कालो पाटो यतिविघ्न पीडादायक छ भन्ने कल्पनासमेत गरेको थिइनँ। हामी कतिपय बस्तीमा सुखको कथा सुन्न छिर्थ्यौँ, तर त्यहाँ पनि मुस्कानको तुलनामा आँसुको वजन बढी भेटियो', पाण्डेले सुनाए।
'यो देशका भुइँमान्छे बस्ने घरसम्म सिंहदरबार त परको कुरा, त्यही गाउँको वडा कार्यालयसमेत पुग्न सकेको रहेनछ। बाकसमा बन्द भएर कलिला युवाहरूको लास घरसम्म ल्याइदिनु नै आफ्नो दायित्व हो भन्ने राज्यको बुझाइ रहेछ। पति, पिता, सन्तानको विरहमा झरिरहेको आँसु देख्दा हामीले त्यही महसुस गर्यौँ,' पाण्डे भन्छन्।
उनी अगाडि सुनाउँछन्, 'मैले यो कार्यक्रम बनाउने क्रममा एउटा नयाँ कुरा थाहा पाएँ। नेपालमा यस्ता पनि परिवार रहेछन्, जहाँ एउटा मृत्युसँगै सारा परिवार सखाप हुँदो रहेछ। अझ मधेसका बस्तीमा यो समस्या ठुलो छ। विदेशमा ज्यान गुमाएका अधिकांश युवाहरूको पत्नी अशिक्षित छन्। उमेर धेरै भएको छैन। २-३ जना सन्तान हुर्काउनु छ। छोरीको बिहे गर्नुछ। १५-२० लाख ऋण पनि छ। खेती गर्न जमिन छैन। काम गर्न कुनै सिप छैन। अब के गर्ने उसलाई केही थाहा छैन।'
'कोही क्यान्सरजस्तो रोगको सिकार भएका छन्। विदेश जाने ऋण लिँदा साहुको नाममा गरिदिएको जमिन निखन्न पाएको छैन। अब ऊसँग उपचार गराउन थप ऋण माग्न कुनै सम्पत्ति छैन। त्यसैले बाँकी जीवन जे होला, देखाजाएगा भनेर बसेका छन्। कसैले बिमाबाट आएको रकमले क्यान्सरको शल्यक्रिया गराएका छन्। तर अब त्यही क्यान्सरलाई पूर्ण रूपमा निको पार्न दिनुपर्ने किमो किन्ने पैसा छैन। त्यस्ता व्यक्तिहरुसँग भेट्दा लाग्यो- हाम्रो राज्य गुमराहमा छ। पोस्नुपर्ने जसलाई थियो, उनीहरू अहिले पनि शोषित छन्। राज्यको ढुकुटीबाट जसलाई टाढा राख्नुपर्ने थियो, उनीहरू नै धन कुबेर बनेर रजाइँ गरिरहेका छन्,' पाण्डेले भने।
‘परिस्थिति: कथा बाध्यताको’ निर्माता प्रविन श्रेष्ठ भविष्यमा नेपाल बिम्बको पहलमा यस्तै हेपिएर र दबिएर रहेका नेपालीलाई सहयोग गर्न तथा वैदेशिक रोजगारी बारे सचेतना फैलाउन अक्षयकोष स्थापना गर्ने योजना रहेको बताउँछन्। साथै उनले भविष्यमा विदेशबाट दु:ख पाएर घर फर्किएका वा मृत्युवरण गरेकाहरूको मात्र नभएर विदेशमै आँसु बगाइरहेकाहरूको कथासमेत दर्शकसामु ल्याउने तयारी भइरहेको जानकारी दिए।
‘पत्रकारितालाई पारदर्शी रूपमा समाजसेवासँग जोड्नु नै हाम्रो लक्ष्य हो, सफल हुन्छौँ भन्ने विश्वास छ,' श्रेष्ठ भन्छन्।
Shares

प्रतिक्रिया