समाज


ठेकेदार भेटवाललाई सधैँ सुविधा, हिरासतमा राख्न म्याद लिएर लगियो अस्पताल

सरकारलाई त हेपे नै, अदालतलाई पनि अटेर गर्दै भेटवाल
ठेकेदार भेटवाललाई सधैँ सुविधा, हिरासतमा राख्न म्याद लिएर लगियो अस्पताल

उजिर कार्की
असार १५, २०८२ आइतबार २२:११, काठमाडौँ

काठमाडौँ भ्यु टावरका ठेकेदार मनोज भेटवाललाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ। गत शुक्रबार पक्राउ परेका भेटवाललाई आइतबार अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो। 

अदालतले शुक्रबारबाटै गणना हुने गरी पहिलो पटक ६ दिनको अनुमति दिएको काठमाडौँ प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले बताए। तर, अदालतले हिरासतमा राख्न अनुमति दिए पनि प्रहरीले भने भेटवाललाई अस्पतालमा लगेर राखेको छ। 

जलेश्वर बिकोई बिल्डर्स प्रालिका अध्यक्ष शुक्रबार नै पक्राउ परे पनि हिरासतमा भने एकछिन पनि बसेका छैनन्। सुरुमा वीर अस्पताल लगिएको थियो। त्यहाँबाट धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुर्‍याइएको छ। अहिले पनि उनी अस्पतालको ‘क्याबिन’मा छन्।  

उनी दमको बिरामी भएकाले अस्पतालमा राखिएको प्रहरीको दाबी छ। तर पीडितले भने प्रहरीले सुरुमा पनि उनलाई कारबाही गर्न नचाहेको र मिलेमतोमा भेटवाललाई अस्पताल बस्ने सुविधा दिएको गुनासो गरेका छन्। 

यसपटक उनी ९ करोड ८८ लाख रूपैयाँ चेक बाउन्सको कसुरमा पक्राउ परेका हुन्।

पीडितले सुरुमा प्रहरीमा जाहेरी दिए पनि पक्राउ गरेर अनुसन्धान गरेको थिएन। भेटवालविरुद्ध जिल्ला अदालतबाट २०८२ असार ६ गते पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि पीडित आफैँले उनलाई सिंहदरबार प्रहरी वृत्तमा उपस्थित गराएका थिए। 

आफैँले जिम्मा लगाउँदा पनि हिरासतमा राखेर अनुसन्धान नगरेको भन्दै पीडितले उच्च तहमा गुनासो गरेका थिए। त्यसपछि उच्च तहकै निर्देशनमा भेटवाललाई प्रहरीले पक्राउ गरेको थियो। 

भेटवाल यसअघि पनि पटकपटक पक्राउ परेका थिए। क श्रेणीका ठेकेदार भेटवालले काठमाडौँ भ्यु टावर पनि अलपत्र पारेका छन्। राज्यलाई नै नटेरेका भेटवाल यसपटक पीडितकै जोडबलमा पक्राउ परेका हुन्।

उनले ठेक्कापट्टाकै क्रममा सिन्धुलीका राजकुमार बरालसँग ९ करोड ८८ लाख रूपैयाँ लगेको र त्यो रकम फिर्ताका लागि चेक दिए पनि रकम नसाटिएको आरोप छ। गत वर्ष साउन ३० गते काटेको ५ करोड ९४ लाख र २०८० माघ २९ गते नै काटिएको ३ करोड ९४ लाख रूपैयाँको चेक नसाटिएको पीडितको गुनासो छ। ती दुवै चेक नसाटिएपछि पटकपटक ताकेता गर्दा पनि अटेर गरेका भेटवाललाई कानुनी दायरामा ल्याउन पीडितले प्रहरी गुहारेका हुन्।

उक्त कारोबारको वडा कार्यालयबाट पनि प्रमाणित गराएको खुलेको छ। पीडितले यी प्रमाणसहित काठमाडौँ परिसरका जाहेरी दिएका छन्।

राज्यलाई नै अटेर गर्दै समयमै ठेक्काको काम नसकेका भेटवाल अदालतलाई समेत चुनौती दिँदै आएका छन्। उनीसामु राज्यको कानुन र प्रहरी प्रशासन नै निरीह देखिएको छ। 

यसअघि उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि पक्राउ गरेको थियो। २०७५ वैशाख ३ गते पक्राउ परेका उनी मात्रै ५ लाख धरौटी बुझाएर रिहा भएका थिए। 

त्यतिबेला सीआईबीले एपेक्स बैंक घोटलामा प्रतिवादी बनाउँदै एक अर्ब २३ करोड बिगो माग दाबी गरेको थियो। यो मुद्दा अदालतमा विचाराधीन हुँदै उनी अर्को बैंकिङ कसुरमा २०७९ फागुन ११ गते काठमाडौँ प्रहरीले पक्राउ गरेको थियो। 

अदालतबाट पनि उनले यो मुद्दामा सफाइ पाए। उच्च अदालत पाटनले २०८१ जेठ २ गते यो मुद्दामा फैसला गर्दै उनलाई सफाइ दिएको थियो। 

यसबाहेक पनि उनीविरुद्ध सापटी लिएर चेक दिएको र चेक नसाटिएको भन्दै अन्य पीडित  प्रहरी पुगेका छन्। कतिपय मुद्दा अदालत पुगेर भेटवाल दोषी ठहर हुँदा पनि पीडितले भने रकम फिर्ता पाउन सकेका छैनन्। २०८१ वैशाख २ गते जिल्ला अदालत काठमाडौँले उनलाई चेक बाउन्सकै मुद्दामा दोषी ठहर गर्दै ४ करोड ९९ लाख बिगो भराउन फैसला गरेको थियो। तर उनले उक्त फैसला अनुसार पीडितलाई तिरेका छैनन्। 

यो मुद्दामा उनलाई काठमाडौँ प्रहरीले २०७९ कात्तिकमा पक्राउ गरेको थियो। पुर्पक्षका लागि ३५ लाख धरौटीमा रिहा भएका उनी अदालतबाट दोषी ठहर हुँदा पनि पीडितलाई रकम फिर्ता गर्न तयार छैनन्। 

अदालत र प्रहरीलाई चुनौती दिइरहेका उनले काठमाडौँ भ्यु टावर पनि बनाएका छैनन्। ५ वर्षमा सक्ने गरी २०७१ सालमै काठमाडौँ भ्यु टावर बनाउने ठेक्का पाएका उनले १० वर्षमा पनि बनाएका छैनन्। २०७५ सालमै सक्नु पर्ने योजना अझै अलपत्र छ। तर यिनै ठेकेदार अरुसँग पैसा सापटी लिँदै नतिरेर मुद्दाका चाङ थप्दैछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad