नेपाल धितोपत्र बोर्डले अध्यक्ष सन्तोषनारायण श्रेष्ठको लगानी रहेको बुंगल हाइड्रो लिमिटेडलाई प्राथमिक सेयर निष्काशन (आईपीओ)को लागि स्वीकृति दिएको छ।
दर्जनौँ जलविद्युत् आयोजनाहरुको आईपीओ निष्काशन स्वीकृतिका लागि दर नै तोकेर बिचौलियामार्फत कमिसन मागेको आरोप लागेका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको सेयर लगानी रहेको कम्पनीलाई बोर्डले आइतबार निष्काशनका लागि स्वीकृति दिएको हो।
बझाङ जिल्लाको बुंगल नगरपालिकामा बुंगल हाइड्रो लिमिटेडले १०.७० मेगावाट क्षमताको आयोजना निर्माण गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार सो आयोजनामा जलाञ्जली इन्भेस्टमेन्ट प्रालिको २८ प्रतिशत, वरुण इन्भेस्टमेन्ट प्रालिको १४ प्रतिशत, जयगणेश इन्भेस्टमेन्ट प्रालिको १३ प्रतिशत, शिवशंकर इन्भेस्टमेन्ट प्रालिको १२ प्रतिशत, बुंगल हाइड्रो इन्भेस्टमेन्ट लिमिटेडको १२ प्रतिशत र बाँकी २१ प्रतिशत सेयर अन्य लगानीकर्ताको छ।
यीमध्ये बुंगल हाइड्रो इन्भेस्टमेन्ट लिमिटेडमा सन्तोषनारायण श्रेष्ठको ३३ लाख रुपैयाँबराबरको सेयर लगानी रहेको पाइएको हो। आयोजनामा उनका अन्य पारिवारिक सदस्यहरुको समेत लगानी रहेको पाइएको छ।
यहीबीचमा कमिसन विवादमा तानिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएका आफ्नै अध्यक्ष श्रेष्ठको लगानी रहेको कम्पनीलाई बोर्डले आईपीओ स्वीकृति दिएको हो। तर ३४ वटा अन्य जलविद्युत् आयोजनाहरुले भने अझै आईपीओ निष्काशनको स्वीकृति पाएका छैनन्। यी कम्पनीको १६ अर्ब बढीको आईपीओ स्वीकृतिलाई बोर्डले पाइपलाइनमै राखिरहेको छ।
बुंगलले स्थानीय र सर्वसाधारणका लागि २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता सेयर निष्काशनको अनुमति पाएको हो।
Shares

प्रतिक्रिया