समाज


त्रिविमा उपप्राध्यापकको लिखित परीक्षा : मागभन्दा कम उत्तीर्ण, कैयौँ विषयमा सबै फेल

त्रिविमा उपप्राध्यापकको लिखित परीक्षा : मागभन्दा कम उत्तीर्ण, कैयौँ विषयमा सबै फेल

प्रज्ञा तिम्सिना
असार १०, २०८२ मंगलबार २१:२६, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदको लिखित परीक्षाको नतिजामा माग गरेभन्दा कम संख्यामा उम्मेदवार उत्तीर्ण भएका छन्।

त्रिविले गत वर्ष २०८१ कार्तिक/मंसिरमा मानविकी तथा सामाजिक शास्त्र सङ्काय, शिक्षा शास्त्र सङ्काय र कानुन सङ्कायमा २७५ जना उपप्राध्यापकको दरबन्दी खुलाएको थियो। तर, लिखित परीक्षामा ५.८ प्रतिशत उम्मेदवार मात्र उत्तीर्ण भएका छन्।

उपप्राध्यापक पदका लागि १ हजार ७१० जनाले लिखित परीक्षा दिएका थिए। तीमध्ये १०० जना मात्र उत्तीर्ण भएका छन्। 

थुप्रै विषयमा परीक्षा दिएका सबै उम्मेदवार अनुत्तीर्ण भएका छन्। 

जनसंख्या शिक्षा, कानुन, इतिहास, हिन्दी, अर्थशास्त्र शिक्षा, परामर्श मनोविज्ञान, खेल विज्ञान, कम्प्युटर एप्लिकेसन, शिक्षाको आधार विषयमा परीक्षा दिएका सबै अनुत्तीर्ण भए। 

कुन विषयमा कति उत्तीर्ण?
त्रिविले व्यवस्थापन विषयमा ७५ जना उपप्रध्यापक मागेको थियो। ३ सय ६८ जनाले परीक्षा दिएका थिए। ५ जनाले मात्र लिखित परीक्षा उत्तीर्ण गरेका छन्। सेवा आयोगले ४१ जना खुला सहित ११ जना महिला मागेको थियो। ५ जनाले खुलातर्फ लिखित परीक्षामा नाम निकालेका छन्। 

कानुन विषयमा २२ जना मागेकोमा १ जना पनि उत्तीर्ण भएनन्। ३० जना परीक्षामा सामेल भएका थिए।

शिक्षाको आधार विषयमा ८३ जनाले परीक्षा दिए। परीक्षामा सामेल भएका सबै अनुत्तीर्ण भए। यस विषयमा त्रिविले ७ जना उपप्राध्यापक मागेको थियो। 

अंग्रेजी विषयमा २५ जना मागेकोमा ७ जनाले मात्र लिखित परीक्षा उत्तीर्ण गरेका छन्। २४८ जनाले परीक्षा दिएका थिए। 

मैथिली विषयमा पनि कुनै उम्मेदवार उत्तीर्ण भएनन्। स्वास्थ्य शिक्षा विषयमा ३ जना मागेकोमा १ जना मात्र उत्तीर्ण भएका छन्। परीक्षामा ५४ जना सम्मिलित थिए। 

सूचना प्रविधि विषयमा पनि परीक्षा दिएका १६ जना नै अनुत्तीर्ण भए। त्रिविले सूचना प्रविधिमा ५ जना उपप्राध्यापक मागेको थियो। 

शैक्षिक योजना तथा व्यवस्थापनमा पनि ४ जना मागेकोमा १ जना उत्तीर्ण भएका छन्। परीक्षामा २२ जना सम्मिलित भएका थिए। जनप्रशासन विषयमा ८ जनामा १ जना मात्र छनोट भएका छन्। २१ जनाले परीक्षा दिएका थिए। स्वास्थ्य शिक्षा विषयमा ५ जना दरबन्दीमा १ जनाले लिखितमा नाम निकालेका छन्। 

विज्ञान विषयमा पनि परीक्षा दिएका सबै अनुत्तीर्ण भएका छन्। त्रिविले बिज्ञानमा विषयलाई ४ जना उपप्राध्यापक मागेको थियो। जसमा १६ जनाले परीक्षा दिएका थिए। 

राजनीतिशास्त्र शिक्षा विषयमा १ जनाको पदमा १ जना नै उत्तीर्ण भएका छन्। राजनीतिशास्त्र विषयमा परीक्षा दिने समेत कम छन्। १ जना मागेको पदमा जम्मा २ जनाले मात्र परीक्षा दिएका थिए। भूगोल शिक्षा विषयमा पनि १ जनाले मात्र परीक्षा दिएका थिए। यस विषयमा १ जना नै मागिएको थियो। परीक्षामा सामेल भएका उत्तीर्ण पनि भएका छन्। 

पाठ्यक्रम तथा मूल्याङ्कन विषयमा सामेल भएका पनि सबै अनुत्तीर्ण भए। यस विषयमा त्रिविले २ जना उपप्राध्यापक मागेको थियो। १९ जनाले परीक्षा दिएका थिए। 

अर्थशास्त्र शिक्षामा ४ जना उपप्राध्यापकको विज्ञापन थियो। ११ जनाले परीक्षा दिए। तर, परीक्षामा सामेल भएका कोही पनि उत्तीर्ण भएनन्। 

गणित शिक्षामा ८ जनामा २ जनाले मात्र लिखित परीक्षा उत्तीर्ण गरेका छन्। ३८ जनाले परीक्षा दिएका थिए। नेपाली शिक्षा विषयमा ८ जनाको दरबन्दीमा ७३ जनाले परीक्षा दिए। तीमध्ये ४ जनाले लिखित परीक्षा उत्तीर्ण गरेका छन्। 

अंग्रेजी शिक्षा विषयमा १४ जना उपप्राध्यापक मागिएकोमा १२ जनाले मात्र परीक्षा उत्तीर्ण गरेका छन्। परीक्षामा ११२ जना सामेल भएका थिए।

समाजशास्त्र विषयमा १२ जनाको दरबन्दीमा ११ जनाले लिखित पास गरेका छन्। परीक्षामा ९३ जना सम्मिलित थिए।

अर्थशास्त्र विषयमा १५ जना उपप्राध्यापक पदमा १२ जनाले लिखितमा नाम निकालेका छन्। परीक्षामा १०५ जना सामेल भएका थिए। 

जनसंख्या अध्ययन विषयमा ५ जना मागेको थियो। जसमा ६ जना उत्तीर्ण भएका छन्। परीक्षामा ४७ जना सामेल भएका थिए। 

दर्शनशास्त्र विषयमा खुलामा १ जना मात्र माग गरिएको थियो। परीक्षामा सहभागी १ जना उत्तीर्ण पनि भएका छन्। नृत्य विषयमा १ जना मागेकोमा ३ जनाले परीक्षा दिएका थिए। १ जना उत्तीर्ण भएका छन्। नेपाल भाषा विषयमा १ जना मागेकोमा ३ जना छनोट भएका छन्। 

नेपाली विषयमा ८ जना उपप्राध्यापक मागिएकोमा ८ जना नै उत्तीर्ण भएका छन्। ९४ जनाले परीक्षा दिएका थिए। पत्रकारिता विषयमा पनि ३ जनाको दरबन्दीमा २ जनाले परीक्षा उत्तीर्ण गरे। ११ जनाले दिएको परीक्षामा महिला कोटामा उत्तीर्ण हुन सकेनन्। भूगोल विषयमा २ जना मागिएकोमा १ जना उत्तीर्ण भएका छन्। 

संस्कृति, संगीत, मानवशास्त्र, मनोविज्ञान, नेपाली, नेपाल भाषा, जनसंख्या अध्ययन, चित्रकला, विषयमा मागेको भन्दा केही धेरैले परीक्षा उत्तीर्ण गरेका छन्। यी विषयमा पनि धेरैले उत्तीर्ण गरेका भने होइनन्। मानवशास्त्रमा १ जनाको पदमा २ जनाले लिखित उत्तीर्ण गरेका छन्। 

त्रिविबाट अवकाश पाएका प्राध्यापक विनय कुसियैत विश्वविद्यालयले दिने शिक्षा र विद्यार्थीको सिकाइ दरमा कमीको नतिजा उपप्राध्यापको परीक्षामा देखिएको बताउँछन्।

‘१० वर्षदेखि नै उपप्राध्यापकमा न्यून उत्तीर्ण हुँदै आएका छन्। विद्यालय तहदेखि नै सिकाइ स्तर खस्किँदो छ, विश्वविद्यालय तहसम्म पुग्दा सुधार हुन सक्दैन,’ उनी भन्छन्, ‘स्नातकोत्तर तह उत्तीर्ण गरेकाको सिकाइ स्तर यो नतिजाले देखायो।’

‘शिक्षक सेवा आयोगले लिने परीक्षामा नै धेरै उत्तीर्ण हुँदैनन्। त्यो भनेको विद्यालय तहदेखि नै हाम्रो पढाउने, सिकाउने तरिका मिलेको छैन, हामीले विद्यार्थीलाई पढाउन जानेनौँ। स्वीकार गर्नुपर्छ, थप केही वर्ष यस्तै नजिता आउने हो भने शिक्षाको स्तर झन् खस्किने छ,’ उनले थपे।

१२ दिनदेखि ठप्प त्रिवि 
त्रिविले अनुसन्धानात्मक विशिष्टताको आधारबाट उपप्रध्यापक र सहप्रध्यापक छनोट गर्ने विज्ञापन खुलाएको विरोधमा आंशिक प्राध्यापक संघले तालाबन्दी जेठ ३० गते ताला लगाएका छन्। उनीहरूले उपकुलपति, रेक्टर, रजिस्ट्रार र सेवा आयोगको कार्यालयमा ताला लगाएका छन्। 

कार्यालय भवनमा नै ताला लाग्दा उपकुलपति, रेक्टर, रजिस्ट्रार र सेवा आयोगका पदाधिकारीसँगै अन्य कर्मचारी पनि कार्यकक्षमा पस्न पाएका छैनन्। त्रिविको दैनिक प्रशासनिक काम रोकिएको छ। कर्मचारी बाहिर बसेर काम गरिरहेका छन्। यही बेलामा नतिजा प्रकाशन भएको हो।

त्रिभुवन विश्वविद्यालयले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न आगामी असार २२ गते सभा बोलाएको छ। तर, तालाबन्दीका कारण त्रिविले सभाको तयारी गर्न पाएको छैन। त्रिविको असार २० गते वार्षिक उत्सव छ। 

लोक सेवा आयोगले फास्ट ट्रयाकमार्फत प्रोफेसर नियुक्त गर्न लागिएको विषयमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) सँग जवाफ माग गरेको छ। 

आयोगले त्रिवि सेवा आयोगमार्फत उक्त पदमा गर्न लागिएको नियुक्तको आधार तथा नीतिगत व्यवस्थाबारे जवाफ माग गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad