६१ किलो सुन प्रकरणकी प्रतिवादी अमला रोका सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि रिहा भएकी छन्। सम्पत्ति शुद्धीकरण विभागले उनलाई खोजेको बखत उपस्थित हुने सर्तमा रिहा गरेको हो।
सोमबार उनलाई ६१ किलो सुन तस्करीको मुद्दामा जिल्ला अदालत काठमाडौँमा न्यायाधीश बलराम लम्सालको इजलासले २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अदालतमा धरौटी बुझाएलगत्तै उनलाई सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएको थियो।
विभागले उनीसँग बयान लिएर रिहा गरिदिएको हो। ६१ किलो सुन तस्करीको मुद्दा सीआईबीले र सोही मुद्दाका प्रतिवादीहरुलाई सम्पत्ति शुद्धीकरणको मुद्दा भने विभागले नै अनुसन्धान गरिरहेको छ। मुद्दा अदालतमा पेश गरिसकेको छैन। अब चाँडै अदालत मुद्दा लैजाने तयारी भएको पनि विभागका एक अधिकारीले बताए।
रोकालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टोखाबाट गत शुक्रबार पक्राउ गरेको थियो। काठमाडौँ जिल्ला अदालतमा आइतबार उपस्थित गराएर बकपत्र गराइएको थियो। सोमबार बहसपछि थुनछेक आदेश आएको हो।
२०८० भदौमा पहिलो चरणमा अमलासहित २९ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। २६ जना पक्राउ परेका थिए। तीन जना फरार थिए। अमलासँगै भोला साह र जीवन चलाउने फरार थिए।
त्यतिबेला अदालतमा पेस गरिएका मध्ये एक जनाबाहेक सबैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। दोस्रो चरणमा यही मुद्दामा २०८१ असारमा सीआईबीले मुद्दा पेस गरेको थियो। त्यतिबेला १९ जना प्रतिवादी बनाइएकोमा १६ जना पुर्पक्षका लागि थुनामा र ३ जनासँग धरौटी माग गरिएको थियो।
सुन प्रकरणको दोस्रो चरणमा ६० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो। उनीहरूविरुद्ध २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार ३०८ रुपैयाँ बिगो दाबी गरिएको छ। भन्सार ऐन, क्रिप्टो करेन्सी र नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुरमा मुद्दा दायर गरिएको हो।
२०८० साउन २ गते अवैध सुन ६० किलो ७१६ ग्राम राजस्व अनुसन्धान विभागले बरामद गरेपछि नेपालमा सबैभन्दा धेरै मात्रामा बरामद भएको सुन तस्करीको अनुसन्धान सुरु भएको थियो।
Shares

प्रतिक्रिया